वीरेन्द्रनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रीमण्डलमा कर्णाली क्षेत्रबाट माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत मन्त्री बनेका छन्।
शुक्रबार प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद् विस्तार गरेपछि जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बस्नेतले वनमन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्। २०४७ सालदेखि राजनीतिमा प्रवेश गरेका बस्नेत यसअघि ओली नेतृत्वको सरकारमा गृहमन्त्री भएका थिए। यस्तै, झलनाथ खनाल नेतृत्वको सरकारमा पनि उनी स्वास्थ्यमन्त्री बनिसकेका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वास पात्रका रूपमा चिनिने बस्नेत कर्णाली प्रदेशबाट जनार्दन शर्मालाई पछि पार्दै मन्त्री बनेका हुन्। २०५५ सालमा नेकपा माओवादीको केन्द्रीय सदस्य भएका थिए। उनी माओवादी जनयुद्धमा माओवादी लडाकुको डिभिजन कमिसारसमेत भए। गृहमन्त्री हुँदा उनी विदेश भ्रमणमा आफन्त लगेको भन्दै विवादित बनेका थिए। बस्नेत नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता हुन्।

भर्खरै
लोकप्रिय






































































































































































































