
काँकरभिट्टा- जति संख्यामा महिला हराएको भन्दै खोजतलासका लागि निवेदन पर्छ त्यति संख्यामा उनीहरु भेटिने गरेका छैनन्। केही भेटिए पनि निवेदन दिइएका स्थानमा भेटिएको रिपोर्ट गर्ने गरिएको छैन।
बर्षेनी हराएका महिलाहरुको संख्या बढेको बढ्यै छ। प्रहरी तथा महिलाको क्षेत्रमा काम गर्ने संस्थाहरुको तथ्यांक अनुसार त्यस्ता हराएका महिलाहरुको संख्या बर्षेनी बढ्ने क्रममा रहेको पाइएको छ।
माइती नेपालका अनुसार सन् २०१७ मा पूर्वबाट हराउने महिलाको संख्या २ सय २३ रहेको छ। गत साल उक्त संख्या १ सय ५४ रहेको थियो। तर उक्त संख्यामा हराएका महिलाहरुले खोजी गरिदिन भनेर माइती नेपाललाई आग्रह गरेको संख्या मात्र हो।
हराएका तर उजुरी नगरेको संख्या पनि उल्लेख्य रहन सक्ने माइती नेपालका क्षेत्रीय कार्यक्रम अधिकृत गोविन्द घिमिरेले बताए।पहिला नेपालका महिलाहरुलाई भारत लगेर विभिन्न ठाउँमा लगेर बेच्ने परिपाटी रहँदै आएकोमा अहिले काँकरभिट्टा नाका हुँदै भारत लगेर खाडी तथा अन्य मुलुकहरुमा बेच्ने परिपाटी बढेका कारण नेपाली महिला हराउने क्रम बढेको घिमिरेले बताए।
उनले भने, ‘हामीले सोधपुछ गर्दा नामै नसुनिएका मुलुकहरुमा जान लागेको भन्ने कुरा सुनाउँछन्।’ उनले सीमामा पक्राउ परेका महिलासंग सोधपुछ गर्दा धेरैले सोही किसिमको जवाफ दिने गरेको बताए।
सन् २०११ मा ८८ जना हराएका महिला खोजी गरिदिन माइती नेपालमा निवेदन परेको थियो। सोही बर्ष १७ जना त्यस्ता हराएका महिला फेला परेका थिए। अर्को बर्ष पनि सोही संख्यामा निवेदन परेको थियो। उक्त बर्षमा भने ३० जना हराएका फेला परेका थिए।
सन् २०१३ मा उक्त संख्या ह्वात्तै बढेर १ सय २१ पुगेको घिमिरेले बताए। उक्त बर्षमा २२ जना मात्र हराएका महिला फेला परेका थिए। त्यसपछिका बर्षहरु सन् २०१४ र २०१५ मा क्रमशः १ सय ६७ र १ सय ४८ जना हराएका महिलाका परिवार तथा आफन्तबाट खोजी गरिदिनका लागि निवेदन माइती नेपाल काँकरभिट्टामा परेको थियो।
उक्त दुई बर्षमा हराएका ६४ जना महिला फेला परेका थिए। सन् २०१६ मा ३९ जना हराएका महिला मात्र फेला परेको माइती नेपाल काँकरभिट्टाले जनाएको छ।
त्यस्ता हराउने महिलाहरुमा ३५ बर्षभन्दा मुनीका हुने गरेका छन्। हराएका महिला खोजी गरिदिन परेका निवेदनहरु अधिकांश पूर्वी तराई र पहाडि जिल्लाहरुबाट आउने गरेका छन्।
चेलीबेटी बेचविखन नियन्त्रण गर्नका लागि काँकरभिट्टामा हाल ३ वटा संस्थाहरुले काम गरिरहेका छन्। तिनैवटा संस्थाहरुले प्रत्येक दिन जसो बेचिन लागेका वा प्रलोभनमा परि भारतीय नाका छिर्ने क्रममा उद्धार गर्ने र परामर्श दिने गर्दछन्।
नाकाबाट चेलीहरु भारतमा नछिरुन भनेर तिनैवटा संस्थाहरु माईती नेपाल, साना हातहरु नेपाल र विश्व सेवा विस्तार संस्थाले फरक फरक स्थानमा कडा निगरानी गर्दछन्। तर हराउने महिलाहरुको संख्या घट्नुका सट्टा बढदो क्रममा छ।