
विर्तामोड – पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा आउँदो वैशाख १ गतेदेखि दोस्रो चौँरी महोत्सव हुने भएको छ । गएको वर्षदेखि आयोजना गर्न थालिएको महोत्सवले यो वर्ष पनि निरन्तरता पाउने भएको हो ।
इलामबाट ताप्लेजुङसम्म जोडिएको फालोट क्षेत्र चौँरी पालनमा प्रसिद्ध छ । यहाँ ५०० भन्दा बढी चौँरी पालन गरिँदै आएको छ । दर्जनौँ परिवार चौँरी पालनमा संलग्न छन् ।
हिमालको शोभा मानिने चौँरी र हिमाली क्षेत्रमा पाइने लोपोन्मुख जडिबुटीको संरक्षण र प्रवर्द्धनका लागि चौँरी महोत्सव आयोजना गर्न थालिएको आयोजक फालेलुङ–कञ्चनजञ्घा पर्यापर्यटन प्रवर्द्धन समितिले जनाएको छ ।
जैविक विविधताको संरक्षण, चौँरी चरन क्षेत्रको दीगो व्यवस्थापन मार्फत स्थानीय रोजगारीको सिर्जना, उच्च पहाडी क्षेत्रको पर्यटन प्रवर्द्धनमा महोत्सवबाट सन्देश प्रवाह गर्ने आयोजकको लक्ष्य छ ।
पूर्वी पहाडका इलाम र ताप्लेजुङ तथा भारत र भुटानबाट समेत महोत्सवमा चौँरी ल्याइने आयोजकले जनाएको छ ।
महोत्सवमा ५०० भन्दा बढी चौँरीको प्रदर्शनी, याक राइडिङ, चौँरीजन्य उत्पादनको प्रदर्शनी तथा बिक्री स्टल राखिने आयोजक संस्थाका अध्यक्ष डिल्लीहाङ केरुङले जानकारी दिए ।
नेपाल र भारतको सीमावर्ती क्षेत्रमा रहेको उक्त स्थानमा यो वर्ष १० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको अध्यक्ष केरुङले बताए ।
२३ लाख रुपैयाँको लागतमा सम्पन्न हुने अनुमान गरिएको महोत्सवमा नेपालसहित भारत र भुटानबाट समेत पर्यटक भित्र्याउने तयारीसहित प्रचार–प्रसार थालिएको छ ।
दुई दिनसम्म चल्ने महोत्सव वैशाख १ गते उद्घाटन हुनेछ । नेपालका उच्च भू–भागमा पालिँदै आएका चौँरीका विभिन्न उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनसमेत महोत्सवले सघाउ पुर्याउने सामुदायिक वन उपभोक्ता महासंघ पाँचथरका अध्यक्ष देवीप्रसाद न्यौपानले बताए ।