
काठमाडौँ- आगामी तीन महिनाभित्र काठमाडौँ महानगरपालिकाका सार्वजनिक सात स्थानबाट नागरिकले निःशुल्क इन्टरनेटको सुविधा प्राप्त गर्नेछन् ।
कामपामा आइतबार आयोजित सम्झौता हस्ताक्षर कार्यक्रममा कामपाका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्मा र वल्डलिङ्क कम्युनिकेसन प्रालिका निर्देशक विजयकुमार जालानले सम्झौतापत्रमा हस्ताक्षर गरी नागरिकलाई उक्त सुविधा प्रदान गर्ने भएका हुन्।
राख्ने स्थानमा पशुपतिनाथ क्षेत्र, बालाजु पार्क, शंखपार्क, स्वयम्भू, बौद्ध र हनुमानढोका दरबार क्षेत्र रहेका छन्। करारपत्रमा भनिएको छ, हस्ताक्षर भएको मितिले ६० दिनभित्र उक्त सुविधा सञ्चालन भइसक्नुपर्नेछ। यसको अवधि पाँच वर्षको हुनेछ।
प्रयोगकर्ताको आवश्यकता हेरी इन्टरनेटको क्षमता वृद्धि गर्नुपर्ने पनि हस्ताक्षरपत्रमा भनिएको छ। सोही अवसरमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले पहिलो चरणमा सात स्थानमा राखे पनि अबको केही समयमा कामपाका अन्य स्थानमा पनि इन्टरनेट राख्ने तयारी रहेको जानकारी गराए।
त्यसैगरी, कामपाका प्रशासकीय अधिकृत धनिराम शर्माले करारबमोजिम तोकिएकै समयमा वल्र्डलिङ्कले काम गर्ने कामपाले विश्वास लिएको बताए।
वल्र्डलिङ्का निर्देशक विजयकुमार जालानले शर्तअनुसार तोकिएकै समयमा काम गर्ने विश्वास दिँदै गुणस्तरीय सेवा दिन आफू सधैँ प्रतिबद्ध रहेको बताए।
लामो समयदेखि राख्ने तयारी रहेपनि आन्तरिक छलफल भइरहेकाले उक्त काम हुन सकेको थिएन । यसअघि कामपाले नागरिकलाई रत्नपार्कबाट उक्त सुविधा प्रदान गरिसकेको छ।