
बिर्तामोड- माओवादी सशस्त्र संघर्षका क्रममा घाइते भएकी एक महिला लडाकुको झापा बिर्तामोडको बिएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले निःशुल्क उपचार गरिदिने भएको छ।
२०५९ साल बैशाख २४ गते भोजपुरको चैनपुर आक्रमणका क्रममा सेनाको बंङ्करमा परी हिलिहाङ गाउँपालिका –७ पाँचथरकी अनुपा राई घाइते भएकी थिइन्। सशस्त्र संघर्षका क्रममा राईलाई गोली लागेको थियो।
लडाईंका क्रममा राई २१ दिनसम्म पार्टीको सम्पर्क विहीन बनेको समेत उनले बताइन्। ‘आफ्नै खर्चले दुई पटक अप्रेशन गरें,’ घाइते राईले भनिन्, ‘ पार्टीमा कुरा गर्दा नेताहरुले तपाईंको उपचारमा चिन्तित छौं भन्ने गरेका छन्।’
३१ बर्षीया राई कक्षा –९ मा पढ्दादेखि पार्टीमा हिडेको बताउँछिन्। ‘जाडोमा गोली रहेको ठाउँमा कट् कट् गरेर दुख्छ’, घाइते राई भन्छिन्, ‘ पोल्ने, खुट्टा निदाउने र काम गर्दा असहज हुन्छ।’ अहिलेसम्म कसैबाट पनि केही राहत नपाएको उनको गुनासो छ।
उनले आफ्नो विवाह पार्टीकै मनकुमार राईसँग भएको बताइन्। उनका श्रीमान रोजगारीको सिलसिलामा बिदेशमा रहेको उनले बताइन्। घाइते राईको १२ बर्षको छोरा रहेका छन्। ‘श्रीमानले बिदेशबाट पठाएको रकमबाट घरखर्च चलाउने गरेको छु,’ घाइते राईले भनिन्।
हस्पिटलले सोमवार पत्रकार सम्मेलनको आयोजना गरी राई जस्तै उपचार नपाउनेलाई निःशुल्क उपचार गरिदिने जनाएको छ। घाइते राईको उपचारमा संलग्न हस्पिटलका वरिष्ठ सर्जन डा. पंकज नेपालका अनुसार टाउको र घाँटीमा रहेको गोली निकालिनेछ।‘यो एकदमै जटिल अप्रेसन हो,’ डा. नेपालले भने, ‘यो अप्रेशन गर्न १० घण्टा लाग्छ।’