
सुर्खेत– पछिल्लो समय वीरेन्द्रनगरमा बैंक तथा वित्तीय संस्थाहरूले शाखा स्थापना गर्ने क्रम बढेको छ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत तोकिएपछि ठूला बैकहरुले शाखा विस्तार गर्न थालेका हुन्। सोमवार नेपाल राष्ट्र बैंकको ‘क’ वर्गको इजाजत प्राप्त नविल बैंकले शाखा स्थापना गरेको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र बैंकका संचालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले संयुक्तरूपमा शाखाको उद्घाटन गरेका हुन् । सोमवार नै सुर्खेतसहित कैलालीको टिकापुर र दाङको लमहीमा पनि शाखा स्थापना गरिएको छ।
मुख्यमन्त्री शाहीले बैंकको आगमनसँगै कर्णाली प्रदेशमा वित्तीय कारोबार बढ्ने अपेक्षा व्यक्त गरे । उनले बैंकले दिने सेवासुविधाबाट प्रदेशको विकासमा महत्वपूर्ण योगदान पुग्ने भन्दै बैंकलाई साझेदार संस्थाको रूपमा पाएकोमा खुशी प्रकट गरे । बैंक संचालन समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले समाजमा छरिएर रहेका समुदायलाई बैंकिङ आवश्यकता पूरा गर्नु बैंकको उद्देश्य रहेको बताए । उनले उद्यमशीलता, रोजगारी सिर्जनामा पनि टेवा पुर्याउने उल्लेख गरे ।
बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले समाजका विभिन्न तहलाई बढीभन्दा बढी सेवा उपलव्ध गराउन मुलुकभर शाखा स्थापना गरेको बताए । उनले कर्णाली प्रदेशमा थप ५ वटा शाखा स्थापना गर्ने लक्ष्य रहेको जनाए । बैंकले हाल ६२ वटा शाखा, एक सय ९ वटा एटिएम र १५ सय बढी नबिल रेमिट एजेन्टमार्फत सेवा दिइरहेको छ ।