
पोखरा- विश्वविद्यालयको स्थापनाको २१ वर्षपछि पोखरा विश्वविद्यालयको स्ववियु चुनाव बुधबार शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। तीन राजनीतिक संगठन र दुई स्वतन्त्र गरी जम्मा पाँच जना सभापति चुनावी मैदानमा उत्रिएका थिए।
स्ववियु सभापतिको उम्मेदवारका रुपमा कांग्रेस निकट ने.वि. संघले डिफान भुजेल, अनेरास्ववियु एमाले निकटले सुनिल तिमल्सिना र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी सुधन पन्तलाई चुनावी मैदानमा उतारेका थिए।
११ जना प्रत्यक्ष निर्वाचित हुने व्यवस्था अन्तर्गत ५ विद्यार्थी संगठन सँगै केही स्वतन्त्र गरी ३५ जना चुनावी मैदानमा उत्रिएका थिए जसमा ८ जना समानुपातिक गरी १९ सदस्यीय समिति चयन हुने छन्।
बिहान ७ बजे देखि अपरान्ह ४ बजे सम्म सञ्चालित मतदान प्रक्रियामा विभिन्न संगठनका झण्डै २१ सय मतदाता थिए भने १ हजार ७ सय ६९ जना विद्यार्थीले मतदानमा भाग लिएको निर्वाचन कमिटी संयोजक राजेश कुमार ठकुराठीले जानकारी दिए। सर्वदलीय बैठकबाट सहमति जुटे बुधबार नै मतगणना गर्न सकिने ठकुराठीले बताए।
सन् १९९७ मा स्थापित पोखरा विश्वविद्यालयमा मतगणना पछि पहिलो पल्ट संस्थापक सभापति सहित स्ववियु गठन हुँदैछ।