पोखरा – जिल्ला प्रहरी कार्यालय कास्कीले विशेष चेकिङ (स्विप अपरेशन) मार्फत पोखराका विभिन्न ठाउँमा जाँचको क्रममा शनिबार राति चोरी निकासी गर्न लागेका ९ गोलीया काठ, ५ थान मोटर साइकलसहित ४६ जनालाई पक्राउ गरेको छ ।
कास्की प्रहरीले जिल्लाको सुरक्षा स्थितीलाई आँकलन गरी तयार पारिएको १५ बुँदे कार्ययोजना अन्तर्गत नियमित रुपमा १ दिने विशेष चेकिङ (स्विप अपरेशन) मार्फत उनीहरु पक्राउ परेका हुन् ।
स्विप अपरेशन अन्तर्गत कास्की प्रहरीले अपराध नियन्त्रण तथा रोकथाम प्रमुख प्राथमिका, अबैध लागुऔषध कारोबार रोकथाम नियन्त्रण एवं आक्रमक कारवाही तथा गुण्डागर्दी नियन्त्रणमा शून्य सहनशिलता र चोरी, तस्करी, कालो बजारी तथा अवैध मदिरा नियन्त्रणमा जोड दिँदै आएको जनाएको छ ।
अप्रेशनको क्रममा खटिएको प्रहरी टोलीले पोखरा १७ ड्यामसाइडमा भोजेन्द्र तामाङले संचालन गरेको फ्लोरिडा गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा ४ बुक तास र नगदसहित ८ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ५२ हजारसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका १७ डयामसाइड भोगेन्द्र तामाङ, वर्ष ४०, नरेश गुरुङ, वर्ष ४३, राज कुमार गुरुङ, वर्ष ४३, अजय गौचन, वर्ष ३९, घारीपाटन बस्ने राज कुमार श्रेष्ठ, वर्ष २९, सुन्दर गुरुङ, वर्ष ३१, हिमालीटोल दिपक गुरुङ, वर्ष ३८, वैदाम दिपक भट्टचन, वर्ष ४० रहेका छन् ।