
काठमाडौं- सर्बेन्द्र खनाल नेपाल प्रहरीको नयाँ महानिरीक्षक-आइजी नियुक्त भएका छन्। मंगलबार साँझ बसेको मन्त्रि परिषद् बैठकले डीअाईजी खनाललाई अाइजीमा बढुवा गरेको हो। यसैगरी शसस्त्र प्रहरीको महानिरिक्षकमा शैलेन्द्र खनाल नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’बीच भएको छलफलमा खनाललाई आइजी बनाउने सहमति जुटेको थियो।
खनाल नौ महिनाअघि डीआइजीमा बढुवा हुँदा पहिलो नम्बरमा थिए। वर्तमान आइजी प्रकाश अर्यालले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउनुभन्दा अघिल्लो दिन सरकारले नयाँ आइजीबारे निर्णय गरेको हो।
महानगरीय प्रहरी अपराध महाशाखा, काठमाडौं प्रहरी परिसर लगायतको प्रमुख भएर काम गरिसकेका खनाल पछिल्लो समय महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख थिए। २०४६ साल माघ २९ गते प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा सुरु गरेका तनहुँका खनाल ३० वर्षे सेवा अवधि कायम रहे २०७६ साल माघ २९ गते सेवाबाट अवकाश पाउनेछन्।
सेवा अवधिको प्रावधान हटे उनले पदावधि वा उमेर हदका कारण अवकाश पाउने छन् ।
३० वर्षे सेवा अवधिका कारण आइजी अर्यालसहित सबै एआईजी र नौ डीआईजीसहित २६ जनाले बिहीबारदेखि एकसाथ अवकाश पाउँदैछन्।