
पोखरा – गएको पुसको अन्तिम साता पोखराको अमरसिंह चौरमा सञ्चालित आठौँ पोखरा महोत्सवबाट बचत भएको १० लाख रुपैयाँ चिडियानाखाना निर्माणका लागि प्रदान गरिएको छ ।
युनाइटेड क्लबद्धारा आयोजना गरिएको आठौँ पोखरा महोत्सवमा ३८ लाख ६९ हजार ७ सय ४९ रुपैयाँ बचत गर्न सफल भएको क्लबले जानकारी दिएको छ ।
क्लबको आठौँ वार्षिकोत्सव समारोहमा कोषाध्यक्ष गणेश तिमिल्सिनाले आठौँ संस्करणको पोखरा महोत्सवमा कुल आम्दानी नगद १ करोड २४ लाख ८ हजार ७ सय ५० र खर्च ९५ लाख ३९ हजारबाट बचत ३८ लाख ६९ हजार ७ सय ४९ रुपैया भएको बताएका हुन् ।
सोही अवसरमा क्लबले पोखराको लेखनाथ स्थित पचभैयामा निर्माणधिन चिडियाखानाका लागि १० लाख रुपैयाँ प्रदान गरेको हो । शनिबार पोखरामा सम्पन्न आठौँ वर्षिकोत्सव समारोहमा प्रदेश नम्बर ४ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालको रोहबरमा क्लवका अध्यक्ष सुकबहादुर गुरुङ र कोषाध्यक्ष गणेश तिमिल्सिनाले पोखरा चिडियाखाना निर्माण समितिका अध्यक्ष हिमालय बख्रेललाई १० लाखको चेक हस्तान्तरण गरे ।
मन्त्री लम्सालले पोखरा लेखनाथको पचभैया क्षेत्रमा निर्माण हुने अन्तर्राष्ट्रिय स्तरको चिडियाखानाका लागि प्रदेश सरकारले चालु आर्थिक वर्ष भित्रमा १ करोड रकम बिनियोजन गर्ने बताए ।
पोखरामा अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बिन्दु भएकाले चिडियाखानाले प्रदेश नम्बर ४ को आर्थिक समृद्धिमा भूमिका खेल्ने बताए । उनले पर्यटकीय लक्षित गतिविधि र विकास निर्माणमा आफूले विशेष पहल गर्ने भन्दै चालु आर्थिक वर्षको असार मसान्त सम्ममा १ करोड रुपैयाँ बिनियोजन गर्ने बताएका हुन् ।
उनले यो वर्ष भित्र पचभैया क्षेत्रमा रहेको वन्यजन्तु उद्यान क्षेत्रमा वन्यजन्तुहरुलाई खुल्ला रुपमा छोड्ने वातावरणका लागि काम सुरु गर्ने बताए ।
युनाइटेड क्लबका संस्थापक अध्यक्ष तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय चिडियाखाना निर्माण समितिका अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबको योजनालाई सरकारले प्राथमिकता दिँदै गएकोमा खुशी व्यक्त गरे ।
जिल्ला वन कार्यालय कास्कीका सहायक अधिकृत नविन विश्वकर्माले निर्माणधिन अवस्थामा रहेको चिडियाखानाका लागि कार्यालयको तर्फबाट सहयोग जारी रहको बताए ।