उदयपुर- शताब्दीयौँ पुरानो काठको केबार (ढोका), केबारमा हातैले बनाएका मौलिक बुट्टाहरु, त्यसमाथि काठले कुँदिएका बुट्टेदार ‘खपरा’को घर। घरमा बाँसको चोयाले बनाइएका धान राख्ने ढोक्सो (भकारी)। कलात्मकताले भरिएका यी मौलिक सम्पत्ति यतिबेला बेवारिसे अवस्थामा छन्।

समयको माग र आधुनिकताको प्रभावले पछिल्लो समय यी कलात्मक सम्पत्तिको सदुपयोग र संरक्षणमा न त कसैले चासो दिएका छन् न त दैनिक प्रयोगमा नै आएका छन्। पूर्वका थारु बाहुल्य गाउँहरुमा पौराणिक सम्पदाहरु दिनप्रतिदिन लोप हुँदै गइरहेको चौदण्डी नगरपालिका-१० हहिया निवासी शिव शंकर चौधरी बताउँछन्।
उनी भन्छन्, ‘संस्कृति र संस्कार कुनै पनि जातिको धरोहर हो। यदि कुनै पनि जातिको संस्कार र संस्कृति मासिदियो भने बुझ्नुपर्दछ की त्यो जाति अब संकटमा पर्दैछ। पछिल्लो समय थारु जातिको कला र संस्कृति अनि उसको सम्पदा पनि लोप हुने अवस्थामा पुगेको छ।’
बाजे पुस्ताले आफ्नो कला, संस्कृति र संस्कारलाई घर व्यवहारमा उतारे पनि अहिलेको पुस्ताले यसलाई वेवास्था मात्रै होइन उसको कला र सम्पदा नै नामेट पार्न लागि परेको उनी गुनासो गर्छन्।
भन्छन्, ‘ पहिले काठैकाठ वा माटैमाटोको घरहरु हुन्थे, घरको ढोका, झ्याल पनि त्यस्तै हुन्थे। त्यतिबेला माया, सद्भाव र प्रेम अगाध थियो। तर अहिले सिमेन्टका घर बन्न थाले। यसले मानिसमा पनि सिमेन्टको झै भावना, माया र प्रेम कंक्रिट हुन थालिसक्यो। उनीहरुमा मावनीयता नै छैन।’
पहिचान बोकेको केबार (ढोका)
पहिला काठकै घर अनि काठकै केबार (ढोका) हुन्थ्यो। त्यो केबारमा अनेकन किसिमका मौलिकता र पहिचान झल्काउने हाते चित्रहरु कोरिएका हुन्थे।
कसैको विवाह हुन लागेमा यस्तै प्रकारको केबार लगाइन्थ्यो। यसका साथै उक्त केबारलाई जतनसाथ राख्ने दिपावलीमा तोरीको तेल लगाएर राखिन्थ्यो किनकी किरीले काठ नखाओस भनेर।
समयको दौरानसँगै अहिले यो केबार लोपउन्मुख भइसकेको छ भने थारु समुदायको कलाकृति पनि पहिचानविहीन अवस्थामा छन्। बुढापाकाहरुले छाडेर गएको ऐतिहासिक सम्पदाहरु जोगाउनुको साटो यसलाई बेच्ने अनि पैसा कमाउने ध्याउन्न लागेको स्थानीय सुखारी धामी चौधरी बताउँछन्।
उनी मलिन आवाजमा बोले, ‘ अब यस्तो केबार कहाँबाट पाउनु ? सब बेचिसकियो, हाम्रो कलाकृति र पहिचान सब बिकिसक्यो, अब मात्र बाँकी केही गीत र संगीत छ। त्यो पनि नयाँ पुस्तामा होइन पुरानोमा पनि। जब पुराना पुस्ता वित्छन्। गीत पनि हराएर जान्छन्।’
बेवारिसे अवस्थामा ‘शनुख’ (काठको बाकस)
पहिला पहिला थारु समुदायमा माइतीले बेहुलीलाई सामान दिन बनाइएको बासको नाम हो शनुख।यो शनुखमा बेहुलीको लत्ताकपडा-श्रृंगारका सामान हुन्थे। अहिलेको युगमा दराज दिए जस्तै पहिले यही शनुख कोसेलीको रुपमा दिने चलन थियो।
तर अहिले आएर यसको औचित्य समाप्त हुँदै गएको ७५ वर्षीया भिखनीदेवी चौधरी बताउँछिन्। उनी भन्छिन्, ‘पहिला स्टिल र आधुनिक जमानाको जस्तो सामान थिएन। यही काठबाट निर्मित शनुख दिइन्थयो, जसमा बेहुलीको सबै सामान राखिन्थ्यो। मलाई पनि माइतीले यही शनुख कोसेलीमा दिएको थियो। तर तर अहिले यो फ्याँकिएको अवस्थामा छन्।’
छोराछोरीले यसको काम छैन भन्दै स्टील, टीन र फेब्रिक्सका दराज, बाकसहरु ल्याएपछि आफूले केही बोल्न नसकेको उनी स्वीकार गर्छिन्। उनी निरास हुँदै भन्छिन्, ‘अब अहिलेको पुस्ताले जगेर्ना नगरे कस्ले गर्छ ? यस्तै हो भने अरुको संस्कृतिले ठाउँ पाउँछ र एक दिन यो एकादेशको कथा जस्तै बन्न बेर लाग्दैन।’
लोपोन्मुख शिक (सनको डोरीले बनाइएको जालो)
पहिला पहला थारु समुदायमा सनको डोरीले कलात्मक तरिकाले ‘शिक’ बनाइन्थ्यो जसमा भात, दाल र दही लगायतका खानेकुरा धुरीमा झुण्ड्याएर राखिन्थ्यो। भाडाको अभावमा उनीहरु यसो गर्ने गरेको भिखनीदेवी बताउँछिन्।
उनी भन्छिन्, ‘कुकुर विरालोले खाना जथाभावी खान नपाओस, केटाकेटीले पनि जथाभावी खान नपाओस भनेर यसरी राखिन्थ्यो।’ उनी शिकबारे आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘आमाले शिकमा दही राख्नुभएको थियो। ९० सालमा भूकम्प आउँदा शिक हल्लिएर सबै ‘कोही/कन्तरा'(माटोबाट बनाइएको एक प्रकारको भाँडो)को दही फुटेर पोखिएको थियो। यो परम्परादेखि नै सनपाटको डोरीबाट बनाइएको हुन्थ्यो। हामीले पनि यही सिक्दै आयौँ। तर अहिले बजारमा प्लास्टिकको डोरीआउन थाल्यो। यसले थारुको मौलिक र प्राकृतिक सम्पत्तिहरु लोप हुन थाल्यो।’
प्रयोगबिहीन ढोक्सो (भकारी)
थारुहरु पहिलादेखि नै खेती/किसानीमा बेतित गर्ने हुँदा धान, गहुँ, मकै अथाह फलाउँथे। किनकी उनीहरुको संयुक्त परिवार हेर्नुपर्थ्यो। यसले गर्दा धान राख्नलाई प्रत्येकको घरमा ढोक्सो( भकारी) राख्ने चलन थियो।
उक्त ढोक्सो बासको चोयाबाट बनेको हुन्थ्यो। उनीहरु खेतमा फलेको धान वर्ष दिनसम्मको जीविका चलाउन त्यही ढोक्सोमा राख्ने गर्दथे। तर अहिले यो बेवारिसे अवस्थामा छन्।
अहिलेका पुस्ताले ढोक्सोलाई परापूर्वककालको संज्ञा दिँदै खेतमा मिल्काइरहेको स्थानीय ८० वर्षीय बौकाइ चौधरी बताउँछन्।
उनी भन्छन्, ‘ यही ढोक्सोमा धान राखथ्यौ हामी जुन वर्षदिनसम्म संयुक्त परिवार पाल्न सजिलो हुन्थ्यो तर अहिले यो लावारिस अवस्थामा छ। नयाँ जुगका सन्तानलाई आधुनिकताले छोयो। उनीहरु यसलाई बेकारको चीज भन्ठान्छन्।’
उक्त ढोक्सो बारीमा गुहालीमा फ्याकिरहेको अवस्थामा भेटियो।
हराउँदै काठका कलाकृति खम्बा
घरसँगै घरलाई अड्याउने खम्बामा पनि विभिन्न मौलिकताले सुसज्जित कलाकृतिहरु भरिएका हुन्थे। त्यतिबेलाको प्रत्येकोको घरमा राखिएको खम्बामा मौलिकता र कला पोखिएको भेटिन्थ्यो। आफ्नो सीप र कलालाई थारु समुदायले भित्रैदेखि खम्बामा उतार्ने गरेको चौदण्डी नपा ५ का कारी र मनपूरा चौधरीको भनाई छ। उनीहरु भन्छन्, ‘ हाम्रो बाजेको पालादेखि नै यस्तो प्रकारको घर बनाइन्थ्यो जसको प्रत्येक खम्बामा कलाकृतिहरु राख्नु पर्थ्यो। त्यो पनि आफ्नै पहिचान र अस्तित्व जोगाइ राख्नको लागि। ‘
थारु समाजमामा एकता कायम गर्न र कलाकृतिको ज्ञान पुस्तौनीले हेर्न पाओस भनेर य्तो गरेको उनीहरुको तर्क छ।तर वर्तमान परिवेशमा यो सबै उल्टो भइरहेको उनीहरु गुनासो गर्छन्। भन्छन्,’ हाम्रो नाति पुस्तामा आइपुग्दा यो एका देशको कथा जस्तो बनिसक्यो। अब यसले पहिचान र मौलिकतालाई संकटमा ल्याइदिएको छ। यसको संरक्षण र संवर्द्धन नगरे थारु जातिको इतिहास माटोमा विलिन हुन्छ।’

भर्खरै
लोकप्रिय






































































































































































































