
काँकरभिट्टा- बिबिआइएन मोटर भहिकल सम्झौता अनुरुप बैशाख १० गतेदेखि १३ गतेसम्म बंगलादेश, भारत र नेपालविच सिधा यात्रु बस आवागमनको परीक्षणका लागि बंगलादेशको राजधानी ढाकाबाट दुईवटा बस सोमबार छुटेका छन्।
उक्त परीक्षण सञ्चालनका लागि नेपालका अधिकारीहरु हिजो हवाई मार्ग हुँदै बंगलादेशको ढाका गएका थिए। सोमबार बंगलादेशको रंगपुरमा बास बस्ने कार्यक्रम रहेको टोलीमा सहभागी मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख टेकबहादुर अर्यालले जानकारी दिए।
करिब ३० जना सरकारी अधिकारीहरु लिएर ढाकाबाट हिँडेको बस मंगलबार भारतको सिलिगुडी पुग्नेछन्। बुधबार बिहान काँकरभिट्टा हुँदै नेपाल आइपुग्ने अर्यालले जानकारी दिए।
परीक्षण सञ्चालनको रुट ढाका-बंगलाबन्द, फुलबारी-पानीटेंकी, काँकरभिट्टा- काठमाडौं छ।
बंगलादेश, भुटान, भारत र नेपालबीच सीधा यात्रु बस आवागमनका लागि सन् २०१५ को जुन १५ तारिखमा सम्झौता भएको थियो। भुटानबाहेक सबै देशका सदनहरुले उक्त सम्झौता अनुमोदन गरिसकेका छन्। भुटानले भने त्यस विषयमा चासो देखाएको छैन।

यात्रामा सम्मिलित तीन देशका अधिकारीहरु।