
सुर्खेत– आम्दानी हुने कुनै माध्यम छैन् । घरपरिवारका आवश्यकता दिनदिनै बढ्दै छन् । भारतको कमाइले पनि अभाव टरेन । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका देवेन्द्रकुमार गोदारको विकल्प बन्यो, विदेश ।
भारत भन्दा अन्य खाडी मुलुकमा आम्दानी धेरै हुने भएपछि उनी विदेश पसे । गाउँमा दौतरीसँग भोतारिदै दिन बिताउने उनले सोचेअनुसार आम्दानी नभएपनि १४ वर्ष विभिन्न खाडी मुलुकमा बिताए ।
रोजगारीका लागि विदेशीएका देवेन्द्रले विभिन्न मुलुकहरुमा पसिना बगाए । तर, उनका आवश्यकता कहिल्यै टरेनन् । कमाई चित्त बुझ्दो नभएपछि नेपाल फर्केका उनले तरकारी खेती गर्ने निधो गरे ।
१४ वर्ष विदेश बसेका उनले ऋण र कमाई गरेर २५ लाख लगानीमा तरकारी खेती थाले । २१ रोपनीमा तरकारी खेती गरेका देवेन्द्रले वार्षिक २५ लाख आम्दानी गर्न थालेका छन् ।
‘विदेशमा चलाउने पाखुरा स्वदेशमै चलाएँ । आजकाल आम्दानी खोज्न कहीँ कतै जानुपर्दैन्’ उनले भने, ‘विदेशको पैसा देखाउने मात्रै हो, लगानी लगाउन निकै चुनौती छ, घरपरिवारको खर्चमै सकिन्छ ।’
रोजगारीको शिलशिलामा विदेश हानिएका उनले तरकारी खेती गरेर दैलेखको डुङ्गेश्वरमा ४३ जना युवाहरुलाई रोजगारी दिएका छन् ।
हालसम्म ३२ लाख भन्दा बढी लगानी गरिसकेका छन् । ‘केही गर्न सक्ने इच्छाशक्ति भए खाडी नै जानुपर्छ भन्ने छैन्’ उनी भन्छन्, ‘नेपाल जस्तो सम्भावना र अवसर भएको मुलुक कमै रहेछन् । हामीले काम गरेर प्रतिफल खोज्ने बानीको विकास गरौं ।’
२०७२ सालदेखि व्यवसायिक तरकारी खेती गर्दै आएका देवेन्द्र सम्भावनाको खोजी गर्नुपर्ने बताउँछन् । ‘नेपालमा मान छ सम्मान छ’ उनले भने,‘देशले युवाका पसिना मागेको छ, स्वदेशमै पसिना पोखौं अनि मात्रै विकास हुन्छ ।’
खाडीमूलुक १४ वर्ष बसेर नेपाल फर्केपछि व्यवसायिक कृषि पेशा अंलागेको उनलाई शुक्रबार एक कार्यक्रमका बीच सम्मान एवम पुस्कृत गरियो । साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रका १५ जिल्लामध्ये उत्कृष्ट कृषक बने देवेन्द्र।
व्यवसायिक कृषि पेशालाई सम्मानीत पेश बनाउन र कृषकको मनोभावना उच्च राख्न सहयोग पुगेको भन्दै देबेन्द्रसहित पाँच जना कृषकले क्षेत्रीयस्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्राप्त गरे ।
साविक मध्यपश्चिम विकास क्षेत्रमा उत्कृष्ट कृषि खेती गर्दै आएका डोल्पाका रणजीत बोहरा, बाँकेका लालबहादुर सुनार, दैलेखका देवेन्द्रकुमार, सुर्खेतका प्रेमकुमार आचार्य र सल्यानका सुरेशकुमार गाहा मगरलाई राष्ट्रपति कृषक पुरस्कार प्रदान गरिएको हो ।

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार पाएका कृषकहरु।
यो विकास क्षेत्रका १५ जिल्लाबाट परेको आवेदनका आधारमा उत्कृष्ट कृषक चयन गरिएको हो । कृषि पेशालाई व्यवसाय र आम्दानीको प्रमुख स्रोत बनाएका कृषकलाई हरेक वर्ष राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिन्छ । सम्मानपछि देशसञ्चारसँग कुरा गर्दै उनीहरुले स्वदेशमा केही गर्नुपर्छ भन्ने इच्छाशक्ति भए विदेशसिनु नपर्ने बताए ।
राहादानी च्यातेका लालबहादुरलाई सम्मान
मनग्य आम्दानी होला, समाजमा सुहाउँदो र देखाउन लायकको घर ठड्याउला, परिवारलाई ऐसआलसमा बसाल्ने सोचले, विदेश हानिए बाँकेको खजुरा गाउँपालिका–१ का लालबहादुर सुनार ।
दैनिक १८ घण्टे डिउटी गर्ने लालबहादुरले १६ वर्ष विदेशमा तागत चलाए । रातादिन भनेन्, भोक लाग्यो भन्नसमेत पाएनन् । डटेर रातादिन काम गर्दा पैसा कमाउने बाहेक अरु सोचेका पनि थिएनन् । उनी भन्छन्, ‘पैशा कमाउन गाह्रो छैन भनेर विदेश गइयो । तर, विदेशीले हेर्ने दृष्टिकोण र गर्ने व्यबहारले फेरी जान मन लागेन् ।’
विदेशमा लामो समय खर्चिएपनि देश बन्ला भन्ने सोच पलाएपछि फर्किएका थिए उनी । ‘पैसाका लागि पसिना बगाउने होइन सम्मानका लागि आफ्नै देशमा केही गर्छु भनेर विदेश नजाने निदो गरेर नेपाल आएको हुँ’, उनले भने, ‘स्वाभिमान नेपालले स्वदेशमै पसिना बगाउने, देशकै विकास गर्ने हो ।’
मजदुरी गर्दा विदेशमा पाएको दुःखसहित मनभरी पीडा बोकेर अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लेका लालबहादुरले राहदानी च्यातिदिए । ‘विदेशको कमाइले घर खर्चबाहेक केही पुगेन’ उनी भन्छन्,‘ विदेशबाट फर्कियो आफन्तलाई नासो दिनसमेत हम्मे पर्न थाल्यो । केही गर्दा नपुगेपछि राहदानी च्यातेर निर्धक्क बसियो ।’
आम्दानी गर्ने ठाउँ भनेकै विदेश हो भन्ने लालबहादुर राहादानी च्यातेपछि भने गाउँमै आय–आर्जनको खोजी गर्न थाले । सबैको सल्लाह र विदेशबाट ल्याएको १६ हजार रुपैयाँबाट उनले गाउँमै च्याँउ खेती गरे ।
२०६९ सालदेखि सुरु गरेको च्याउ खेतीमा उनले हालसम्म एक करोड लगानी गरिसकेका छन् । लालबहादुरले बार्षिक रुपमा २५ टन च्या उत्पादन गर्छन् । उनले भने, ‘अहिले आम्दानी राम्रो छ । बार्षिक ३३ लाख बराबरको कारोबार हुन्छ । केही साथिहरुलाई रोजगारी समेत दिएको छु ।’
व्यवसायिक रुपमा च्याउ खेती गर्दै आएका उनी शुक्रवार क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतबाट राष्ट्रपति उत्कृष्ट कृषि पुरस्कार पाउन सफल भए । व्यवसायिक रुपमा कृषि खेती गरेका उनले मनग्य आम्दानीसँग रोजगारीसमेत दिएकाले विदेशीने युवाका लागि प्रेरणा भएकाले नगद २५ हजारसहित राष्ट्रपति उत्कृष्ट पु्स्कार पाए ।
‘राहदानी हुँदा विदेश बाहेक अरु विकल्प थिएन्’ सम्मान पछि खुशीहुँदै उनले भने,‘विदेशमा काम गर्दा अपमान दृष्टिकोणले हेरिन्थ्यो तर, स्वदेशमै कृषि गर्दा सम्मान मिल्यो ।’
पुरस्कार पाउने महिला ‘शून्य’
क्षेत्रीयस्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारका लागि साविक मध्यपश्चिमका विभिन्न जिल्लाबाट आवेदन आह्वान गरियो । नमूना कृषि खेती गरिरहेका कृषकहरु नछुट्ने गरी वडा तहसम्म कृषि र पशु सेवा केन्द्रमार्फत निवेदन मागिएको थियो । क्षेत्रीय पुरस्कारका लागि छनौट गर्न जिल्लाबाट मागिएका निवेदनमा महिला कृषक उद्यमीका निवेदन शून्य देखिए । कृषि खेतीलाई व्यवसायमूखि बनाउन सरकारले प्रदान गर्दै आएको उक्त पुरस्कारका लागि आवेदन नपरेपछि महिला उद्यमीले नपाएका हुन् ।
यस वर्ष पाँच जनालाई दिइने पुरस्कारबाट मध्यपश्चिमका महिलाहरु बञ्चित भए । ‘हामीले आवेदन वडा तहसम्म पुगेर मागेका हौं’ क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतका निर्देशक शीवनारायण चौधरीले भने, ‘महिला कृषकहरुबाट आवेदन परेन । अनि, यसवर्ष सम्मानीत हुने पुरुष हरुमात्रै हुनुहुन्छ ।’
उनकाअनुसार २०७३ सालमा एक जना महिला कृषकले राष्ट्रपति कृषक पुरस्कार थापेकी थिइन् । कृषि खेतीसँग प्रत्येक्ष जोडिने महिलाहरु उद्यमीका रुपमा विकास हुन नसक्नु साविकको मध्यपश्चिम (हाल कर्णाली प्रदेश) प्रमुख चुनौती बनेको छ ।
महिलाका नाममा उद्योग दर्ता गर्दा छुट पाइने भएकाले अन्य औद्योगिक ग्राम तथा उद्योगहरु महिलाका नाममा दर्ता भएपनि कृषिमा भने महिलाहरु व्यवसायिक बन्न सकेका छैनन् ।
५२ प्रतिशत गरिबी र भोकमारीको चपेटामा परेको कर्णाली प्रदेशमा कृषिका थुप्रै सम्भावना भएपनि कृषि खेती व्यवसयिक बनाउन नसकिएको निर्देशक चौधरीले बताए ।
क्षेत्रीय कृषि निर्देशनालयका कृषि प्रसार अधिकृत बखतबहादुर खड्काकाअनुसार क्षेत्रीय छनौट प्रतियोगिताका लागि प्रत्येक जिल्लाबाट तीन जना चयन गर्ने प्रावधान थियो । तर, आठ जिल्लाबाट मात्रै कृषकहरुको निवेदन परेको थियो ।
‘तीन जना कृषकका दरले १५ जिल्लाबाट ४५ जना कृषकले क्षेत्रीय पुरस्कारका लागि आवेदन दिनुपर्ने थियो’ उनले भने, ‘आवेदन नपर्दा आठ जिल्लाबाट जम्मा २१ जनालाई मात्रै प्रतिष्पर्धामा लिनुपर्यो । जसमा महिला कृषक समेटिएनन्, अनि पुरस्कार पाएनन् ।’