
काठमाडौं- २५६२औ बुद्धजयन्तीको अवसरमा शान्तिनगरस्थित विश्व शान्ति विहारमा बुद्धको ध्यान पाठ गरि मनाइएको छ।
भोजपुर टक्सार शाक्य समाज, चैनपुर शाक्य समाज र कल्याणपुर पुव: टक्सार सेवा समाजले संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा बुद्धको मन्त्र पाठ गरिएको हो।
कार्यक्रममा विश्व शान्ति विहारका उपप्रमुख एवं परियति शिक्षाका प्रमुख भिक्षु बोधज्ञानीले उपस्थित सबै उपाशक लाई ‘बुद्धम् शरणम गच्छामी, धम्मम शरणम गच्छामी’ लगायतका मन्त्र पाठ गराएका हुन्।
भोजपुर टक्सार समाजको कार्यबाहक अध्यक्ष कृष्णबहादुर शाक्यले बुद्धले दिएको शील, समाधि र प्रज्ञाले नै मानव जीवनलाई मुक्त गर्न सकिने बताए।उनले भने, ‘मानिसहरुको सबैभन्दा धेरै दुख दिने कुरा तृष्णा हो। यसलाई हटाउन सके मानव जीवन उज्वल हुन्छ। मानव मात्रै तृष्णामा अभिष्ट भएकाले सन्तुष्ट हुन नसकेको हो।’
कार्यक्रममा बुद्धको जीवनमा आधारित रहेर एभेरेष्ट स्कुलका विद्यार्थीहरुले चर्या नृत्य देखाएका छन्।