
काठमाडौँ- ‘२३ औं वार्षिक हिराल्डोज काई सोबुकान इन्टरनेशनल कपमा नेपालको प्रतिनिधित्व गर्न पाएकोमा गर्व छ। कातातर्फ पहिलो स्थात हात पारेँ। सहयोगका लागि तपाईहरु सबैलाई धन्यवाद’, दक्षिण कोरियाको इन्चोनमा चार वर्षअघि आयोजित १७ औं एसियाली खेलकुद – एसियाडमा नेपालका लागि एकमात्र पदक जितेकी कराँते खेलाडी विमला तामाङले सोमबार बिहान केही तस्विरहरु अपलोड गरी यस्तो स्टाटस राखिन्।
२३ वर्षीय यी काता खेलाडीले अमेरिकामा भएको प्रतियोगितामा यो सफलता हात पारेकी हुन्। तर उनी यही प्रतियोगिता खेल्न अमेरिका गएकी भने होइनन्। दुई वर्षअघि एक प्रतियोगितामा सहभागी हुन अमेरिकातर्फ लागेकी विमला एक पटक नेपाल फर्किएकी थिइन्। उनी फेरि अमेरिका नै फर्किन्। राष्ट्रिय प्रतियोगिता र राष्ट्रिय छनोटमा उनको उपस्थिति छैन।
नेपालले फेरि एसियाडको तयारी गरिरहँदा पदकको सम्भावना वोकेकी विमला भने सानै उमेरमा नेपालका लागि खेल्न छाडेर अमेरिका भासिएको केही वर्ष भईसकेको छ। इन्चोनमा भएको एसियाडमा विमला सेमिफाइनलमा भियतनामकी खेलाडीसँग पराजित भएकी थिइन्। उनी बालाजु डोजोकी उत्पादन हुन्। प्रशिक्षक ध्रुवविक्रम मल्लको यो डोजोले करातेमा धेरै राम्रा खेलाडी उत्पादन गरिरहेको छ।
तर कराँते महासंघको विवादका कारण एसियाडमा विमलाको सहभागिता विवादास्पद बनेको थियो। राष्ट्रिय छनोट नखेलेकी उनलाई नेपाल ओलम्पिक कमिटीले सोझै इन्चोन लगेको थियो। कराँते महासंघमा राष्ट्रिय मान्यताप्राप्त र अन्तर्राष्ट्रिय मान्यताप्राप्त कमिटी रहेका कारण राष्ट्रिय टोलीमा रहेर इन्चोन पुगेपनि चन्चला दनुवार र गंगादेवी अधिकारीले खेल्न पाएका थिएनन्।
अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल कराँते महासंघका अध्यक्ष पुरेन्द्रविक्रम लाखे निकट मानिन्छ बालाजु कराँते डोजो। विमलालाई एसियाडमा सहभागी गराइएपछि महिला कातामा चन्चलाले प्रतिस्पर्धा गर्न पाएकी थिइनन्। कराँते महासंघको विवादकैबीच विमलाको एसियाड सफलतालाई राष्ट्रिय मान्यताप्राप्त महासंघले अस्विकारजस्तै गरेको थियो।
कराते महासंघबीच अझै विवाद रहेपनि केही दिन अघि एसियाडका लागि कराँतेको राष्ट्रिय छनोट सम्पन्न भयो। यसमा कराँते डोजो पनि सहभागी भयो। लामाे समयदेखी राष्ट्रिय टोलीमा रहेका खेलाडीलाई बालाजुले चुनौती दियो तर उसका एक जनामात्र खेलाडीले एसियाडका लागि स्थान बनाए। यतिबेला खेलाडी छनोटमा विवाद नरहेकोजस्तै देखिएको छ।
तर लामो समय राष्ट्रिय टोलीमा रहेकी मल्लिका थापा केही साता अघि अस्ट्रेलियामा भएको एक प्रतियोगितामा सहभागी हुन जानेक्रममा उतै रोकिएको जनाएको छ। उनी पनि राष्ट्रिय छनोटमा सहभागी भइनन्। उनीसँगैं अस्ट्रेलिया गएका अनुअधिकारी, दिवश श्रेष्ठ लगायत खेलाडीहरु पनि फर्किएर राष्टिय छनोटमा समेत सहभागी भए। ‘लामो समय राष्ट्रिय टोलीमा रहेको खेलाडी उतै बस्नु दुर्भाग्यपुर्ण हो’ , एक प्रशिक्षकले भने।
अागामी एसियाडमा नेपालबाट करातेमा पुरुषतर्फ चार र महिलातर्फ चार गरी आठ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।