
पोखरा- प्रदेश सरकारले चालू आर्थिक वर्षको तीन महिनाको बजेट बुधबार सार्वजनिक गर्दैछ।
बुधबार हुने प्रदेश सभाको बैठकमा आर्थिक मामिला मन्त्री किरण गुरुङले बजेट प्रस्तुत गर्नेछन्।
नेपाल सरकारले चालु आर्थिक वर्षको प्रशासनिक खर्च र पुर्वाधार खर्च अन्तर्गत छुट्टाएको एक सय दुई करोड पाँच लाख रकमको वाँडफाँड गरेर बजेट प्रस्तुत गरिने भएको हो।
सो रकमबाट एकाउन्न प्रतिशत बचत गरी केहि विकासको पूर्व तयारी, योजनाको पहिचान र कार्यविधि निर्माण लगायतका विषयलाई समेटिने छन्। आगामि आर्थिक वर्षको बजेट विनियोजनका निम्ति पहिलो चोटि यो अभ्यास हुन लागेको हो।
बजेटले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयनलाई केन्द्रविन्दुमा राखिने र प्रदेश ४ को पहिलो प्राथमिकता पर्यटन रहने बताइएको छ। त्यस्तै ऊर्जा, कृषि, उद्योग, भौतिक, पूर्वाधार र प्रशासनिक क्षेत्रहरुलाई उक्त बजेटले समेट्न जनाइएको छ।