
सृष्टि अन्धकारको शून्यताबाट प्रकाशको अनन्त यात्रामा अनवरत छ। त्यही अनन्त यात्रामा अन्धकारका यात्रीहरुलाई प्रकाशले छाडेर धेरै अगाडि बढिसकेको छ। उनीहरु दुवै एउटै यात्राका साझेदार भए पनि उनीहरु सहयात्री भने रहेनन्।
अन्धकारमय चेतना विकारसहित असत्यमा स्थापित भयो भने प्रकाशमय चेतना विकाररहित सत्यमा स्थापित भयो। अन्धकार दानव भयो। अन्धकार दैत्य भयो। प्रकाश देवता भए। प्रकाश ईश्वर भए।
सत्य युगमा विष्णुले वराहको रुप धारण गरी हिरण्याक्क्षको संहार गरे। त्रेता युगमा रामले रावणको। द्वारप युगमा कृष्णले कंसको। के हाम्रो शास्त्र र पुराणले सुनाएका यी कथा फगत दन्ते कथा मात्र हुन् त?
सृष्टि सृजना भएदेखि नै अन्धकार र प्रकाश एकअर्कासँग द्वन्दरत छन्। सत्य र असत्य बीच लडाईं जारी छ। देवता र दानव युद्धमा छन्। त्यही अन्धकार र प्रकाश, सत्य र असत्य, अनि देवता र दानवको संग्राममा कतै यो मानव सभ्यता पनि कहीं अल्झिरहेको त छैन?
आर्चड्यूक फर्डिन्यान्ड अफ अस्ट्रियाको हत्याकाण्डले सल्किएको पहिलो विश्व युद्धमा एक करोड मान्छेले आफनो ज्यानको आहुति दिए। हिट्लरको राजनैतिक महत्वाकांक्षाले दन्काएको दोस्रो विश्व युद्धमा सात करोडको बली चढ्यो। अफसोस इतिहास जित्नेको घोडा भयो। राष्ट्रसंघको स्थापना त भयो। तर शान्ति सिद्धान्तमा सिमित रह्यो। अमेरिकाको पक्षमा असामान्य रुपले शक्ति ध्रूवीकरण भयो।
अटोमन साम्राज्य विश्व युद्धको अचैनामा पश्चिमी षड्यन्त्रको प्रहारले टुक्राटुक्रा भयो। नतिजा वर्तमान। येमनमा हुथी। लेबनानमा हजबुल्ला। प्यालेस्टाइनमा हमास। अफगानिस्तानमा तालिबान। इराकमा आइ एस। मध्य पूर्वमा शान्ति छैन।
जब जब संसारमा आतंक हावी हुन्छ, तब अवसान सत्ताको हुन्छ। सत्ताको बागडोर अहिले पोटसको हातमा छ। अमेरिकाको साम्राज्यवादमा पोटसको हात पेट्रोलियमको कालो तेल र इस्लामको रातो रगतले पोतिएको छ। तर पनि राष्ट्रसंघ मौन छ। किनकि उ अमेरिकाको कमारो। नामर्द छ।
सिरियामा गृह युद्ध सुरु भएको सात वर्ष भयो। अमेरिका र रसिया बीचको शीत युद्ध यहाँ आएर बाफिएको छ। कोरिया अमेरिकाको ठूलो परमाणुसंग डराएर हो कि किन हो सैद्धान्तिक तवरले सेलाएको छ। तर इरान र अमेरिका त्यही विषयमा नयां तनावको स्थिितिमा उत्रिएका छन्।
इजरायल र प्यालेस्टाइनमा मुसलमान र यहुदी मारामार गर्छन्। जेरुसलम अशान्त र अस्थिर छ। अमेरिकाले जेरुसलेमलाई इजरायलकोराजधानी मानेर त्यहां दुतावास सार्ने जुन आपराधिक निर्णय गरेको छ, त्यो प्यालेस्टििनियनमाथि सरासर पक्षपात हो। नाइके अमेरिकाको पोटस। जसको बन्दुकको गोली र डलरको बोलीमा राष्ट्रसंघ पनि नतमस्तक हुन्छ। यो अपराधको विरोधमा प्यालेस्टिनियनको रगत बग्दा पनि यो संसार मौन छ। ईश्वरको नाममा बगेको यो रगत देख्दा यो धर्तीले धर्मयुद्धको नाममा तेस्रो विश्व युद्ध मागेको प्रतीत हुन्छ।
यदाकदा धर्म स्थापनाको मार्ग पनि सामरिक हुन्छ। अन्धकार र प्रकाश, सत्य र असत्य, अनि देवता र दानवको संग्राममा अल्झिएको यो मानव सभ्यताको इतिहासमा आज दशावतारको अन्तिम पाना पल्टिएको छ।
के यो कलियुगको चरम् उत्कर्ष होइन त? पोटसको हातमा ध्रुवीकरण भएको यो शक्तिलाई सन्तुलनमा ल्याउन हामीले दिव्य मध्यस्थताको अपेक्षा गर्ने कि नगर्ने ? के यो हिन्द भूमिमा कल्की जन्मिए भने मध्य पूर्वमा दिनदहाडा भएको यो अधर्म उनको अध्यात्मिक आंखाबाट पाप करार होला कि नहोला ? कल्की रक्तरन्जित सामरिक भविष्य सहित पोटसलाई परास्त गरी धर्म स्थापना हेतु यस धर्तीमा अवतरण गर्लान् कि नगर्लान्?
यदि हिटलरको राजनैतिक महत्वाकांक्षाले दोस्रो विश्व युद्ध निम्त्याउन सक्छ भने पोटसको साम्राज्यवादी महत्वाकांक्षाले तेस्रोे विश्व युद्ध ननिम्त्याउता?
तेस्रोे विश्व युद्ध। धर्मयुद्ध। अवश्यम्भावी।
भविष्य सामरिक छ। निष्कर्ष शान्तिक होस्। कामना।