
भद्रपुर – झापाको भद्रपुरमा रहेको संस्कृत विद्यालय कृष्ण दै्रपायन गुरुकुल वेद विधाश्रमले दलित विद्यार्थीलाई भर्ना नगरेपछि तालाबन्दी गरिएको छ ।
इलाम नगरपालिका–५ बरबोटेका विकास कार्कीडोलीलाई गुरुकुलले भर्ना गर्न नमानेपछि नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनले बिहिबार गुरुकुलमा तालाबन्दी गरेको संगठनका केन्द्रीय अध्यक्ष टिकाराम मंग्रातीले जानकारी दिए । डोलीले विद्यालयको प्रशासनलाई भर्ना लिन आग्रह गर्दा अस्वीकार गरेका थिए ।
घटना सार्वजनिक भएपछि झापा जिल्लामा रहेका दलित अधिकारकर्मीले बालबालिकाको मौलिक हकलाई हनन् नगर्न आग्रह गर्दा पनि गुरुकुलले विद्यार्थी भर्ना गर्न नमानेको अध्यक्ष मंग्रातीले बताए । गुरुकुलले दलित विद्यार्थीलाई संस्कृत विद्यालयमा भर्ना लिन नमानेपछि जातीय विभेद गरेको निष्कर्ष निकाल्दै विभिन्न संघ संगठनले दुवै पक्षबीच छलफल गरेर समाधान निकाल्ने प्रयास गरेको थियो ।
बिहीबार विद्यार्थी संगठन, दलित अधिकारकर्मी, युवा संघ नेपाल, अनेरास्ववियू र गुरुकुल सञ्चालक समितिबीच समाधानको लागि छलफल गरिएको थियो ।
गुरुकूल सञ्चालक समिति अध्यक्ष राजेन्द्र चापागाईले अहिलेसम्म दलित विद्यार्थी भर्ना गर्नका लागि कोही नआएकाले यस्तो अभ्यास नगरेको प्रतिक्रिया दिएका छन् । उनले विधानमा व्यवस्था भए अनुसार गुरुकुल सञ्चालन गर्नुपर्ने भएकाले भर्ना लिन समस्या भएको बताए ।
समाधान निकाल्न छलफल गरिएपनि अध्यक्ष चापागाईले विभिन्न तर्क गर्दै भर्ना लिन नसकिने संकेत गरे । उनले दलित विद्यार्थीलाई यहाँ पठन पाठनका लागि वातावरण बनाइएपनि सामाजिक रुपमा स्वीकार्य नहुने बताए । ‘हाम्रा बटुकहरु हरेक दिन धार्मिक कार्यक्रममा सहभागी हुनुपर्ने भएकोले दलित विद्यार्थीको संलग्नता व्यवहारिक रुपमा समाजले स्वीकार्दैन’,चापागाईले भने ।