आँखा रसाउने गरी माछापुच्छ्रेको सम्झना

आँखा रसाउने गरी माछापुच्छ्रेको सम्झना
+
-

पोखरा – ‘यो संसारमा म किन आए आजसम्म उत्तर पाएको छैन । जिन्दगी चलिरहेको छ । असन्तुष्टि केही छैन । हेरेको छु, बुझेको छु , सुनेको छु यसरी नै बाँचेको छु । सुन्दर मन छ, सुन्दर दृष्टि छ, त्यसैले होला सबै सुन्दरनै सुन्दर पो देख्छु म ।’

शनिबारको एक बिहान पुरानै लबजमा गफिए पर्यटनविद झलक थापा । झण्डै डेढ वर्ष स्ट्रोकले बिमारमा परे । अहिले नियमित व्यायामले पुनः तन्दुरुस्त छन् । अनुहारमा उही प्रसन्नता र सुन्दरताको समिश्रणबाट सुन्दर मन र आँखाका कुरा बडो गजबले सुनाउँछन् ।

पोखराको सुन्दरताको वर्णन गरेर नथाक्ने पर्यटनविद् पोखरा अर्वणीत शहर भएको दोहोर्याउन भुलेनन् । २०२७ सालमा पोखराको पर्यटनको सम्भाव्यता अध्ययन अवलोकनका लागि उनी पोखरा आए । त्यसपछि काठमाडौँ फर्किए । तर पोखराको सुन्दरताले रातभर निदाउन दिएन उनलाई । अनि फेरि फर्किए पोखरा । त्यसपछि जहाँ पुगे पनि आँखामा र हृदयमा सुन्दर पोखरा बोकेर हिँडेका छन् ।

तत्कालीन समयमा ब्रिटिस आर्मीको जागिर छोडेर मनलाई चंगा झै बनाइरहेका बेला ब्रिटिस कर्णेल रोर्वटर्सले पोखरामा पर्यटनको संभाव्यता अध्ययन गर्ने भनेर सुझाए पछि उनी पोखरा उत्रेका हुन्, आरएनएसीको जहाजबाट ।

पोखरा भन्दा बित्तिकै आउने अर्को नाम हो फेवाताल । उनले पनि पोखरा एयरपोर्ट उत्रेलगत्तै फेवाताल हेर्न हानिए । पुगे ड्याम साइड र निँयाले फेवाताललाई । तालमा देखको हिमश्रृखंलाका दृश्यले उनलाई लोभ्यायो । प्रकृतिप्रेमी थापालाई ति दृश्यले गजबकै आनन्द दिएको बताउँछन् । उनि सम्झन्छन् ‘फेवातालको कन्चन पानीमा स्थानीयहरु गाग्रो डुबाउँदै कोही कम्मरमा त कोही डोकोमा बोकेर हिँडेको दृश्यले फेवातालको स्वच्छ पानिलाई प्रष्टाउँथ्यो ।’

चारैतिर हेर्दै थिए तालबाट देखिएको एक्लो हिमालमा उनको नजर ठोकियो । उनलाई नाम थाहा भएन । पछि थाहा पाए माछापुच्छ्रे रहेछ । एक्लै मुस्कुराइरहेको । निकै स्वच्छ लाग्यो उनलाई माछापुच्छ्रे हिमाल । माछापुच्छ्रे हिमाल अहिले सम्म कसैले आरोहरण नगरेको बुझ्दै जाँदा थाहा पाए । उनी खुशीले गद्गद् भए । खै किन हो, उनको मनमा माछापुच्छ्रे प्रति अगाध माया उर्लेर आयो । निर्जीव सजीवसँग जोडिन चाहेनन् । सोचे उनले माछापुच्छ्रेको कुमारीत्व जोगाउनु पर्छ ।

विविध तर्क राखेर लेखहरु लेखे । उनका लेख विरुद्ध हर्क गुरुङ्गका लेखहरु धारा प्रवाह आउन थाले । प्रत्युत्तरमा उनका विचार बगिरहे । एउटा हिमाललाई कुमारी भन्दै जोगाउनु पर्ने कारण छैन भन्ने खालका तर्क उनले सामना गरीरहे । तर माछापुच्छ्रे हिमालबारे आफ्नो तार्किक विचारमा उनि विचलित भएनन् ।

राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाले उनका विचारलाई स्थान दिए । त्यो भन्दा बढी पोखरेलीले उनको विचार रुचाए । उनी सफल भए । फेवातालमा आफ्नो अनुहारलाई देखाउने माछापुच्छ्रे हिमाल आज कुमारी हिमालको नामले परिचित छ । झण्डै ७ हजार मिटरको उचाइबाट पोखरामा आउनेहरुलाई निश्चल रुपमा मुस्कुराउँदै स्वागत गरिरहेकी छे । कुमारी शब्द जोडेर माछापुच्छ्रेलाई स्त्रिलिङ्ग बनाइदिए थापाले ।

माछापुच्छ्रे सम्झँदा अनायासै उनका आँखा रसाउँछन् आज पनि । माछापुच्छ्रेलाई यशोधरा सम्झे । एक्लो यशोधरा । सम्हालिदै फेरि भने, ‘म त बडो गजबको मान्छे छु । मलाई साह्रै माया लाग्छ माछापुच्छ्रेको ।’

पोखराले लगाएको मोहनीे अझ सम्म फुकेको छैन । धेरैले पोखरा अब पोखरा रहेन भनेर भन्ने गर्छन् । खै किन उनको मनले त्यस्तो स्वीर्कादैन । ५० वर्ष अघिको पोखरा र अहिलेको पोखरामा खासै भिन्नता देख्दैनन् उनी । समय बदलियो परिवेश बदलियो । एउटै रुप खोजेर हुँदैन । उनि भन्छन् ‘पोखरालाई मुखले होइन हृदयमा आत्मियता बोकेर सुन्दर आँखाले हेर्नुस् बल्ल पोखराको माया चुलिएर आउँछ । हार्दिकता र आत्मियता बिनाको नजरले पोखरा सुन्दर देखिन सक्दैन ।’

फेवाताल अतिक्रमण गर्ने र तालमा फोहोर मिसाएर कुरुप बनाउनेहरुलाई फेवातालको सुन्दरताको वर्णन गर्ने अधिकार कति सुरक्षित हुन्छ ? उनी प्रश्न गर्छन् ।

संभावना धेरै देख्छन् । निराशा हुन नहुने तर्क राख्छन् । पोखरालाई सबैले चिनुन भन्छन् । संसारमा पोखरा जत्तिको शहरनै छैन भन्छन् । ‘पोखरा अवर्णित शहर हो’ पटक पटक दोहोर्‍याइरहन्छन् ।

जीवनको एक काल खण्डमा सांसारिक जीवन प्रतिको मोह उनमा हराइसकेको थियो । मानसरोवरमा सन्यासी जीवनको रहरले उनलाई उचालिरहेको थियो । तर देखेको भन्दा लेखेको भाग्यले डोर्‍याउँछ भन्ने भनाइको नजिक उनी पुगे अन्ततः पोखराकी गंगा थापासँग उनको बिहे भयो । तत्कालिन समयमा उनको बिहे रहर थिएन न त बाध्यता नै ।

परिस्थितीसँग भाग्दा भाग्दै गंगा थापाको सहयात्री बने । बिहेका दिनको सुहागरातमा गंगालाइ १२ बजे उठाएर नुहाउन लगाएर आफ्ना जीवनका इति वृतान्त सुनाए । त्यस दिन देखि उमेरले ७५ वर्ष पुग्दासम्म गजबको मायामा परें । जीवन संगिनीसँग आजसम्म झर्केर बोल्नु पर्ने अवस्था आएन । एउटी छोरी जन्मिइन् । उनले यशोधरा नाम राखें । थप सन्तानको चाहाना भएन । त्यहि छोरी अहिले बुद्ध एयरको सिनियर कप्तान छिन् । निकै गर्व गर्छन् छोरी प्रति । उस्तै गर्व छ ज्वाईँ र नाती नातिना प्रति । आफू खुशी भएर बाँच्न संसारलाई पनि खुशी भएको देख्न सक्नु पर्ने तर्क राख्छन् ।
हिमालसँगको सामिप्यतामा असाध्यै रमाउन चाहाने उनी चराविद् पनि हुन् । प्रकृति, पर्यावरण, संस्कृति बारेमा पनि उनका खोजहरु प्रकाशित छन् । बहुआयामिक ब्यक्तित्वका धनि उनी सन् १९७२ मा इङ्गल्याण्डका विभिन्न ठाउँमा पुगेर झण्डै २ वर्ष चरा अध्ययन पुरा गरेका छन् । जीवन र जगतलाई अजिब मान्छन् । ‘जति पढेर पनि बुझ्न नसकिने, जति लेखेर पनि लेख्न नसकिने ।’

पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्राहालयका परिकल्पनाकार मध्येका एक हुन् । ‘हिमाल हेरेर मात्र हिमाल बुझिन्न । हिमाल चढ्नेहरुलाई पनि बुझ्नु पर्छ ।’ २०५६ सालम उनी संयोजक भए । अन्तर्राष्टिय पर्वतीय संग्राहलयकोे २०६० सालमा उद्घाटन गरे । त्यतिबेला उनी पर्वतीय संग्राहलको कार्यकारि निर्देशक समेत थिए । अहिले एउटा पर्यटकीय आर्कषकको रुपमा अन्तराष्ट्रिय माउन्टेन म्यूजियम रहेको छ ।

यति मात्रै होइन उनले पोखरा चिनाउने कोशेलीको खाँचो पनि उत्तिकै देखे । उनले पोखरामा डाँडाघरे वाइन उद्योग संचालन गरे । हिलहट वाइनरीको उत्पादन आँगन, मझेरी, पिँढी, आँटी पोखराको कोशेली बनेर प्रसिद्धि कमाइरहेको छ । वाइनको स्वादलाई लिएर केही महिना अघि मात्रै अमेरिकी राजदुतका प्रवक्ताले वार्षिक २० करोडको वाइन अमेरीका निर्यातको प्रस्ताव पनि लिएर आइन् । उनले डाँडाघरे वाइनलाई पोखराको कोसेलीको रुपमा मात्रै स्थापित गर्न चाहे ।

त्यसैले ब्यवसायिक हुने नजरले हेरेनन् । विनम्रतापूर्वक अस्विकार गरे । मलाई पैसाको मोहले छोएन कत्तिपनि । जीवन चलिरहेको छ । चलिरहन्छ । के का लागि लोभ लालचमा फस्नु पर्यो । सन्तुष्टिको विन्दु नजिक छु । बाँकी मोह जागेन । नाफामुखि ब्यवसायिकतको मोहबाट आफु अलग रहेको अनुभव सुनाए ।

पोखरा आउनेहरुलाई विनम्र आग्रह गर्छन पोखरा हेर्न नेपालीहरुको आँखामा आत्मियता र ब्यवहारमा हार्दिकता लिएर आउन भन्छन् । र पोखरेलीलाई पनि ब्यवसायिक पर्यटनले मात्रै पर्यटन फष्टाउँदैन भनेर सुझाव दिन्छन् । आफूले झण्डै ५० वर्ष अघि आउँदा ‘पोखरालाई सके सम्म सिंगार्छु, नसके जोगाउँछु त्यो पनि नसके म कत्ति बिगार्दिन’ भनेर आएका थिए । आफ्नो क्षेत्रबाट जे सके त्यो उनले गरीरहे ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलले उनलाई कत्ति चित्त बुझेको छैन । ‘पोखराको सुन्दरता र शान्त वातावरणलाई त असर गर्छनी ।’ ‘विकल्प खोजेको भए धेरै राम्रो हुने थियो । तर किन ध्यान दिएनन म अचम्म परें । धेरै नबोलुँ अब विमान स्थलको बारेमा ।’ उनले कुरा टुंग्याए ।

उनी जीवनबाट सन्तुष्ट छन् तर एउटा प्रश्नको उत्तर उनले अझै पाएका छैन । बेला बेला म को हुँ भन्ने कुराले उनलाई पिरोल्छ । बेग्लै स्वभावका उनी १२ वर्षको उमेरमा काठमाडौको भाटभाटेनीबाट पशुपतिको छेऊ मसानघाट तिर गएर सत्यको खोजि गर्थे ।

भगवान वा भुत प्रेतसँग जम्माभेट हुने चाहाना राख्थे । उनको स्वभावको बारेमा आमाले खुब चिन्ता गर्ने गरेको सुनाउँछन् । ‘रक्सी खाएर घर भित्रै बसोस् भन्ने चाहाना आमाको हुन्थ्यो । खुकुरी रम लगेर मेरो कोठामा राखिदिनु हुन्थ्यो ।’ छोरा जोगी हुन्छकी भन्ने चिन्ता आमा थियो ।

बुवा तेजबहादुर थापा र आमा ललिता कुमारी थापाको कोखबाट २००१ सालमा काठमाडौ जन्मिएका हुन् । पाँच सन्तान मध्ये उनी साहिला सन्तान हुन् । जीवनको उत्तरार्ध तिर पनि उनलाई एउटै प्रश्नको उत्तर चाहिएको छ ।

‘म को हुँ र यो संसारमा किन आएँ ।’ साहित्यकार सरुभक्तले त्यो मृत्यु पछिको प्रश्न अहिले नगर्नुस् भनेर भनेको स्मरण गदै उनी मजाले हाँसे ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?