
काठमाडौँ – विमानस्थलबाटै हुँदै आएको सुन तस्करीमा संलग्न मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीलाई मंगलबार बिहान काठमाडौँबाटै पक्राउ गरिएको उनको खोजीमा संलग्न टोलीले जनाएको छ ।
गृहमन्त्रालयमा भएको पत्रकार सम्मेलनमा अनुसन्धान समितिका संयोजक गृह मन्त्रालयका सहसचिव ईश्वरी पौडेलले गोरेलाई मंगलबार बिहान ५ बजेर ३४ मिनेटको समयमा काठमाडौँ ८ गौरीधारा क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिएका हुन् ।
विशेष संयन्त्र परिचालन गरी भारत तथा नेपालका विभिन्न क्षेत्रमा उनको खोजी भइरहेको र उनी काठमाडौँ आएको विशेष सूचनाको आधारमा मंगलबार बिहानै पक्राउ गरिएको पौडेलले बताए ।
उनीबाट घटनामा संलग्न भएको आरोपमा मुद्दा दर्ता भएका सबै ६५ जनाबारे थप जानकारी र प्रमाण प्राप्त भएको पौडेलले बताएका छन् ।
आफूहरु गएको तीन दिनदेखि कार्यालय भन्दा बाहिर गोप्य स्थानमा रहेर गोरेको खोजी गरिरहेको र मंगलबार बिहान पक्रन सफल भएको जानकारी पत्रकार सम्मेलनमा उनले दिएका छन् ।
गोरेलाई सम्भव भएसम्म चाँडै नै मुद्दा चलिरहेको जिल्ला मोरङ पठाइने उनले बताए ।

पक्राउ परेका सुन तस्करी गिरोहका मुख्य नाइके गोरे । तस्बिर :बर्षा शाह/देश सञ्चार
गोरेले पक्राउ परेका ३२ र फरार रहेका ३३ जनामाथि जुन आरोप छ त्यसलाई पुष्टि हुने खालको सूचना दिनुका साथै उनीसँगको प्रारम्भिक कुराकानीमा यो घटनासँग जोडिएका अहिलेसम्म बाहिर नआएका थप जानकारी दिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
गोरेलाई काठमाडौबाटै पक्राउ गरेको भनिए पनि उनलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको बुझिएको छ ।