
विर्तामोड– पूर्वमा पहिचानको आन्दोलन गर्दै आएका चार राजनीतिक दलले एकता गर्ने घोषणा गरेका छन् । सञ्जुहाङ पालुङवा नेतृत्वको संघीय लिम्बुवान राज्य परिषद, राष्ट्रिय जनमुक्ति पार्टी, लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टी र कोचिला एकता मोर्चाले एक हुने घोषणा गरेका हुन्।
शनिबार विर्तामोडमा पत्रकार सम्मेलन गर्दै ती पार्टीका नेताहरुले पहिचान पक्षधरहरुको आन्दोलनलाई सशक्त बनाउन एक ठाउँमा उभिएको बताए।
संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष सञ्जुहाङ पालुङवाले अहिलेको संविधानले पहिचानवादीहरुको मागलाई सम्बोधन नगरेकाले संविधान पुनर्लेखनका लागि दबाब दिन पहिचान पक्षधर पार्टीहरु एक ठाउँमा उभिएको बताए।
उनले भने, हामी यस्तो मिसाइलको डिजाइन गर्दैछौं जस्ले यथास्थितिबादीहरुलाई टाढैबाट प्रहार गर्न सकोस्।
विगतमा धेरै फुटको मार खेपेका पहिचानवादी भनिएका दलका नेताहरुले समयको माग अनुसार एक ठाउँमा आउन बाध्य भएको बताएका छन्। पालुङवाले भने, मलाई जुनै पद दिए पनि हुन्छ। मै अध्यक्ष हुनुपर्छ भन्ने छैन। तर मेरो माग एउटै छ, आन्दोलन दह्रो हुनुपर्छ।
राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवाले अहिलेको संविधानसंग असहमति जनाउनेहरुसँग सहकार्य गरेर नयाँ पार्टीलाई ठूलो आकार दिइने बताए । उनले भने, हामीले संविधानसँग असहमत हुने सबै पक्षसँग छलफल गरेर नयाँ पार्टी बनाउँछौं । जुन पार्टी बलियो हुनेछ ।
बाम एकताका कारण जतिबेला पनि अहिलेको संविधानले अलि अलि दिएको उपलब्धि पनि खतरामा परेको भन्दै अब तेस्रो जन आन्दोलनको आवश्यक्ता रहेको उनले दाबी गरे।
एक ठाउँमा आएका चारवटा दलले एकताका लागि ६ बुँदे सहमति गरेका छन्। जातीय पहिचानको आधारमा स्वायत्त राज्य स्थापना हुनुपर्ने उनीहरुको मुख्य माग छ। संविधान पुनर्लेखन र सामानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी हुनुपर्ने उनीहरुले माग गरेका छन्।