
विर्तामोड- गुरुकुल जातीय विभेदविरुद्ध संयुक्त दलित संघर्ष समितिले झापामा दुई सातादेखि जारी राखेको आन्दोलन बिहीबारबाट स्थगित गरेको छ।
बिहीबार झापाको बिर्तामोडमा भएको छलफलमा पाँच बुँदे सहमति भएसँगै संघर्ष समितिले आन्दोलन स्थगित गरेको हो।
छलफलमा संविधान प्रदत्त समानताको हक, सामाजिक न्यायको हकप्रति प्रतिबद्ध हुँदै राष्ट्रिय गुरुकूल शिक्षा परिषद् झापाले आगामी दिनमा सबैको भावनाको सम्मान गरेर बिना भेदभाव, गुरुकूलहरुमा इच्छुक विद्यार्थीलाई आवाससहित पठन पाठनको व्यवस्था मिलाउने सहमति भएको छ।
झापामा २७ वटा गुरुकूल रहेका छन्। सहमतिसँगै अब सबै गुरुकुलमा दलित लगायत सबै इच्छुक विद्यार्थीले आवास सुविधासहित पढ्न पाउने भएका छन्।
भद्रपुर–६ को श्री कृष्ण द्वैपायन वेद विद्याश्रममा इलामका दलित विद्यार्थी ८ वर्षीय विकास कार्कीढोलीलाई आवास सुविधासहित भर्ना गर्ने/गराउने समेत सहमति भएको छ।
बालक विकासलाई गुरुकूलभित्र कुनै पनि विभेद नहुने वातावरण सिर्जना गर्न गुरुकूल सञ्चालक, जिल्ला प्रशासन कार्यालय, मानवअधिकारवादी संस्था, संवाद समूह, पत्रकार महासंघ झापालगायत सरोकारवालाको ध्यानाकर्षण गराइएको छ।
छलफलमा संघर्ष समितिले कृष्ण द्वपायन गुरुकूलको प्रशासन शाखामा जेठ ३ गतेदेखि गरेको तालाबन्दी बिहीबार नै खोल्ने, गेटमा राखिएको कालो झण्डा हटाउने र पठनपाठनको सहज वातावरण बनाउने सहमति भएको छ। सहमति अनुसार बिहीबार नै संवाद समूह, मानवअधिकारवादी, राष्ट्रिय गुरुकू शिक्षा परिषदका प्रतिनिधिको रोहवरमा संघर्ष समितिका संयोजक टीकाराम मग्रातीले ताला खोल्नुका साथै कालो झण्डा हटाएका छन्।
इलाम–५ का अभिभावकविहीन बालक ८ वर्षीय विकास कार्कीडोलीलाई भद्रपुरमा रहेको श्री कृष्ण द्वैपायन गुरुकूलले भर्ना नलिँदा दलित समुदाय आन्दोलित बनेका थिए।
श्री कृष्णद्वैपायन गुरुकूलमा लागेको ताला खोलिँदै। तस्बिर- उमाकान्त खनाल/देश सञ्चार