
कन्याम – चिया बगान तथा प्राकृतिक सौन्दर्यले रमणीय इलामको कन्याम पूर्वका पर्यटकीय स्थलहरुमध्ये महत्वपूर्ण मानिन्छ ।
विभिन्न देश र देशका विभिन्न स्थानबाट आउने पर्यटकहरुले इलामको कन्याममा मस्ती गर्छन् । नाँच्छन्, गाउँछन्, एकछिन भए पनि चियाका बुटा र प्राकृतिक सौन्दर्यको आनन्द लिन्छन् । तर कन्याम आउने पर्यटकले यहाँको सुविधामा त्यति चित्त बुझाउँदैनन् । झापाको लखनपुरबाट यहाँ आइपुगेका एकजना आन्तरिक पर्यटकले भने, ‘यहाँ न खानेपानीको राम्रो व्यवस्था छ, न शौचालयको । एकरात भए पनि पर्यटकलाई बस्नका लागि आवासको कुरा त परै जाओस् ।’
इलामको सूर्योदय नगरपालिकामा पर्ने पर्यटकीय क्षेत्र कन्यामका व्यवसायी तथा स्थानीयबासीले कन्यामको पूर्वाधार विकास सोचेअनुरुप हुन नसकेको बताएका छन् ।
तर त्यहाँ भौतिक संरचनाहरुको निर्माण जसरी हुनु पथ्र्यो त्यसरी हुन नसकेको स्थानीयबासी तथा पर्यटन व्यवसायीहरु बताउँछन् । जस्का कारण पर्यटकहरुलाई लामो समयसम्म अड्याउन सकिने अवस्था अहिलेसम्म पनि बन्न नसकेको उनीहरुको भनाई छ ।
कन्यामको चिया बगान हेर्न दैनिक सयौं संख्यामा आन्तरिक तथा वाह्य पर्यटकहरु आइरहे पनि यो क्षेत्रको व्यवस्थित विकास गर्न नखोजिएको आरोप लाग्ने गरेको छ । पिकनिक स्पट, खानेपानी, शौचालय, पार्किङ, सुरक्षा व्यवस्था र व्यवस्थित होटलहरु नहुँदा समस्या भएको आन्तरिक पर्यटक बताउँछन् ।
‘यहाँको हरियाली मनमोहक छ’ विराटनगरबाट कन्याम घुम्न आएका मनकुमार शर्माले भने, ‘तर के कारणले हो पर्यटकीय क्षेत्र भएपनि यसको व्यवस्थापनमा पनि कमी भएको पाएँ ।’
खासगरी सरकारले त्रिवेणी समूहलाई नेपाल चिया विकास निगम अन्तर्गतका चिया बगानहरुको व्यवस्थापन ५० बर्षलाई जिम्मा दिएपछि कन्याममा भौतिक संरचनाको निर्माणमा अप्ठ्यारो परेको स्थानीयबासीको भनाई छ ।
कन्याममा नेपाल चिया विकास निगम अन्तर्गतका बगानहरुमध्ये कन्याममा चार हजार तीनसय रोपनी क्षेत्रफल जग्गामा चिया लगाइएको छ । सरकारी जमिनमा चियाका बोटहरु फैलिएको भएपनि यो क्षेत्रको हालको हकदार भने त्रिवेणी समूह हो ।
२०५७ सालमा तत्कालीन सरकारले कन्याम चिया बगानसहित झापा र इलामका सातवटा बगानलाई निजीकरण गरेदेखि यो क्षेत्रको पर्यटकीय विकासले चाहीँ गति लिन नसकेको प्रदेश सभा सदस्य काजीमान कागतेको भनाइ छ।
पर्यटकहरुको आकर्षण बन्ने गरेको इलामको कन्याममा चाहिने जति भौतिक संरचनाहरु बनाउन सरकारी निकायले ध्यान दिन नसकेको होटल व्यवसायी टिका ओडारीको भनाई छ । उनले जति कार्यक्रमहरु आए पनि सदरमुकाम केन्द्रित भएका कारण पनि कन्याम ओझेलमा परेको बताए ।