
विर्तामोड– चर्चित कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अहिले दुईवटा निजी कम्पनीहरुका ब्रान्ड एम्बासेडर बनेका छन् । विगत लामो समयदेखि सानिमा बैंक र मार्भेल सिपिभिसी प्लम्बिङ पाइपका विज्ञापनहरुमा उनीहरुलाई सुन्न र देख्न पाइन्छ ।
पहिला उनीहरु सामाजिक सन्देशहरुका लागि मात्र अभिनय गर्थे । उनीहरु भन्छन्, ‘हामी सामाजिक सन्देशका लागि सन्देशमूलक विज्ञापनहरुमा अभिनय गर्यौं। तर अहिले समय फेरिएको छ ।’
इलाममा सानिमा बैंकको उद्घाटन सकेर मार्भेल सिपिभिसी पाइपको प्रचारका लागि झापा आइपुगेका मह जोडीले निजी कम्पनीहरुले नेपाली युवाका लागि अब रोजगारीका धेरै अवसर ल्याउनुपर्ने भएकाले निजी कम्पनीहरुका विज्ञापनहरुमा आफूहरुले समय दिएको बताए।
शनिबार झापाको विर्तामोडमा आयोजित कार्यक्रममा मदनकृष्ण श्रेष्ठले भने, ‘सरकारले पनि अब समृद्धिको बाटोमा देश हिँड्न सुरु गर्योभनेका कारण त्यसमा निजी कम्पनीहरुको ठूलो हात हुन्छ ।’
उनले पहिला आफूहरुले सामाजिक सन्देशका लागि सित्तैमा पनि काम गरेको बताए । अर्का कलाकार हरिवंश आचार्यले आफूहरु संलग्न निजी कम्पनीहरुको उत्पादन गुणस्तरीय भए मात्र विज्ञापनमा सुनिने वा देखिने बताए ।
आचार्यले भने, हामीलाई प्रस्ताव आउँदा पहिला कम्पनीको उत्पादनको गुणस्तरीयता हेर्छौं । अनिमात्र अभिनयका लागि सहमति दिन्छौं । नत्र दर्शकले दिएको यत्रो माया पानीमा बगेर जानेछ ।