एन्फा एकेडेमीमा अभ्यासरत नयाँ पुस्ता

विश्‍वकप हेर्दै ‘नेपाली सपना’ देखिरहेका यी नयाँ फुटबलरहरु

विश्‍वकप हेर्दै ‘नेपाली सपना’ देखिरहेका यी नयाँ फुटबलरहरु
+
-

काठमाडौं- रुसमा विश्वकप सुरु हुन अब दुई दिन मात्र बाँकी छ। प्रतियोगिताको माहोल विश्वव्यापीरुपमा बढ्दो छ। नेपाल पनि यसबाट अछुतो छैन। आफ्ना मनपर्ने टोलीका जर्सी लगाउने, खरिद गर्ने दिनदिनै बढिरहेका छन्।

कतिसम्म भने विश्वकपका खेललाई ठूला स्क्रिनमा देखाइँदा हुन सक्ने सुरक्षा चुनौतीलाई ध्यान दिँदै काठमाडौं जिल्ला प्रशासनले आचारसंहितासमेत जारी गरिसकेको छ।

यता एसिया कप सहभागिता नै सपना बनेको नेपाली फुटबल भने यतिबेला आगामी सेप्टेम्बरमा हुने दक्षिण एसियाली फुटबल महास‌ंघ-साफ च्याम्पियनसिपको तयारीमा ब्यस्त छ। अखिल नेपाल फुटबल संघ-एन्फा राष्ट्रिय टोली निर्माणमा ब्यस्त छ।

सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा हरेक बिहान तीन दर्जनभन्दा बढी खेलाडीहरु सिनियर राष्ट्रिय टोलीमा पर्ने सपना देखेर प्रशिक्षण गरिरहेका छन्। पछिल्लो समय नेपाली सिनियर टोलीले अन्तर्राष्ट्रिय फुटबलमा सफलता हात पारिरहेकाले नयाँ पुस्ता समेत उत्साहित छ। सामुन्नेमा रहेको एन्फा एकेडेमी भवनको बार्दलीमा बसेर साना साना  किशाेरहरु ती सिनियर खेलाडीको प्रशिक्षण हेरिरहेको देखिन्छन्।

उनीहरु आफैँ पनि राष्ट्रिय टोलीमा पाइला चाल्न लागेका पुस्ता हुन्। उमेरस्तर हुँदै सिनियर राष्ट्रिय टोलीमा पुगेर नेपालको प्रतिनिधित्व गर्ने र नेपाललाई सफलता दिलाउने उनिहरुको पनि सपना छ। एन्फाले देशभरका उत्कृष्ट किशोर फुटबलरलाई छनोट गरी एकेडेमीमा राख्ने गरेको छ। अन्तर्राष्ट्रिय फुटबलमा एकेडेमीका खेलाडीबाट बढी अपेक्षा गरिन्छ।

एकेडेमीमा रहेको यु-१६ ब्याचले नेपालको प्रतिनिधित्व गरिसकेको छ तर यु-१४ ब्याचले भने नेपालका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न बाँकी छ। मंगलबार बिहान सातदोबाटोस्थित एन्फा एकेडेमीमा पुग्दा त्यहाँ रहेका खेलाडी-विद्यार्थी स्कुल जाने हतारोमा थिए। त्यही बिचमा हामीले यू-१४ ब्याचका पाँच जना खेलाडीसँग उनीहरुको फुटबल सपनादेखि आगामी विश्वकपलाई लिएर उनीहरुको उत्साहबारे कुरा गरेका छौं। उनीहरु एक वर्षअघि एन्फा एकेडेमीमा आइपुगेका हुन्।

रोहित सुब्बा (स्ट्राइकर) 

झापाका १५ वर्षीय रोहित सुब्बा फुटबलकै वातावरणमा हुर्किए। बुबा फुटबलमै सक्रिय थिए, दाइ रेजिन सुब्बा फुटबल खेलिरहेका थिए। रेजिन अहिले यु-२३ टोलीमा छन्। पारिवारिक वातावरणले उनिपनि फुटबलबाहिर जान सकेनन् अर्थात उनी पनि फुटबलमै रमाए। स्ट्राइकरको भुभिकामा एक वर्षअघि एन्फा एकेडेमीमा छनोट भए। उनी अब राष्ट्रिय टोलीमा छनोट भएर ‘नाम’ कमाउन चाहन्छन्। ‘अब फुटबलमै जिवन बिताउने हो’, ९ कक्षामा अध्ययनरत रोहितको संकल्प छ।

परिवार नै अर्जेन्टिनाको समर्थक भएपनि उनी स्पेनको खेलबाट प्रभावित भए। सन् २०१० को विश्वकप उनले हेरेको पहिलो विश्वकप थियो। ‘मैले हेरेको पहिलो विश्वकपमा स्पेन विजेता भएकाले पनि हुन सक्छ, म स्पेनको फ्यान भएँ। सन् २०१४ को विश्वकपमा स्पेन पहिलो चरणबाटै बाहिरिँदा निकै दुख लाग्यो। यसपटक चाँही स्पेनले जित्ने अपेक्षा गरेको छु’, रोहित भन्छन्। उनलाई मनपर्ने खेलाडी भने क्रिस्टियानो रोनाल्डो हुन्। उनलाई रोनाल्डोको टाइमिङ र फिनिसिङ देखेर लोभ लाग्छ। नेपालमा उनलाई मनपर्ने खेलाडी विशाल राई हुन्। स्ट्राइकरलाई भनेकै ठाउँमा बल निकाल्न सक्ने विशालको  क्षमताबाट उनी प्रभावित छन्।

नमस थापामगर (स्ट्राइकर)

पोखराका १५ वर्षीय नमस थापा मगर पनि फुटबलमा  भविष्य बनाउन चाहन्छन्। एक वर्षअघि एन्फा एकेडेमीमा छनोट भएका नमसले गोल गर्न पाइने भएकैले स्ट्राइकर बन्ने प्रयास गरे र त्यस यात्रामा अगाडि बढ्दै छन्। परिवारमा फुटबलको पृष्ठभूमि नभएपनि उनी सानैदेखि फुटबलप्रति आकर्षित भए। फुर्सद हुने बितिक्कै फुटबल खेल्न मैदानतर्फ लागिहाल्थे। ‘भित्रैदेखि जसरी पनि फुटबल खेल्नुपर्छ भन्ने लाग्थ्यो’, ९ कक्षामा अध्ययनरत नमस भन्छन्। गाउँमा केही राम्रा खेलाडी भएकाले उनीहरु मार्फत नै एन्फाले छनोट प्रतियोगिता आयोजना गर्छ भन्ने सुने। यु-१२ को छनोट खेलेपनि फाइनलमा गएर बाहिरिए। त्यसपछि भएको यु-१४ छनोटबाट भने उनले एकेडेमीमा स्थान बनाए। सन् २०१० को विश्वकप स्पेनले जित्छ भने अक्टोपसले अनुमान गरेको उनलाई मधुरो सम्झना छ। ‘तर मैले बुझेर विश्वकप हेरेको चाहिँ सन् २०१४ को विश्वकप हो। त्यतिबेला पोर्चुगललाई समर्थन गरेको थिएँ तर पहिलो चरणबाटै बाहिरिएपछि जर्मनीतर्फ लागेँ’ नमस भन्छन्। उनलाई मनपर्ने खेलाडी हुन् क्रिस्टियानो रोनाल्डो। उनको गोल गर्ने क्षमताबाट उनी प्रभावित छन्। यसपटक विश्वकप फ्रान्सले जित्न सक्छ भन्ने उनको अनुमान छ। ‘सन् २०१६ को युरोकप पोर्चुगलले जितेपनि फाइनलमा फ्रान्सले राम्रो खेलेकाले यसपटक उसको सम्भावना बलियो देख्छु’, नमसको अनुमान छ।

सुशील अधिकारी (डिफेन्डर)-

लमजुङका सुशील अधिकारीलाई उनका धेरै साथीले सिनियर राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य रविन श्रेष्ठको सेकेन्ड पार्ट भन्छन्। कारण, रविन र सुशीलबीच धेरै समानता छन्। दुवै डिफेन्डर हुन्। दुवैको शारिरिक कद मिल्छ। परिवारमा दाइको सहयोगका कारण उनी एन्फा एकेडेमीमा आइपुगेका हुन्। ‘फुटबलमा मेरो रुचि देखेर दाइले निकै सहयोग गर्नुभयो। एकेडेमीसम्म आईपुग्न उहाँको सहयोग महत्वपूर्ण छ’, १५ वर्षीय सुशील भन्छन्। उनलाई फुटबलमा लागेर दामभन्दा पनि नाम कमाइन्छ भन्ने थाहा छ। विमल घर्तीमगरको चर्चाले फुटबलमा उनले भविष्य देखे। ‘आज विमल दाइलाई नचिन्ने को छ र ? कसैले पनि विमल दाइले कति कमायो भनेर पछाडि लाग्दैन’, उनी भन्छन्। नेपालमा सुशीलका आदर्श खेलाडी भने अन्जन विष्ट हुन्। ‘विदेशमा चाहिँ नेइमार। आज विश्वका हरेक क्लबहरु नेइमारलाई भित्र्याउन चाहन्छन्। मेरो मन पर्ने टोली ब्राजिल हो’,सुशीलले भने।

 

राकेश विश्वकर्मा (मिडफिल्डर)

सिनियर राष्ट्रिय टोलीका सदस्य आदित्य चौधरी गाउँमा जाँदा उनको ‘क्रेज’ देखेर लोभिन्थे सर्लाहीका राकेश विश्वकर्मा। गाउँका सिनियरहरु आदित्यको वरिपरि देखेर झुम्मिन्थे। गाउँमा खेलिरहेका राकेशले पनि आफू फुटबलर नै बन्ने स‌ंकल्प गरे। गाउँमा प्रशिक्षक अर्जुन चौधरीसँग फुटबलसम्बन्धी ज्ञान लिएका राकेश लगातारको मिहेनतले एन्फा एकेडेमीसम्म आइपुगेका छन्।

‘यदि आदित्य दाइको त्यो क्रेज नदेखेको भए यहाँसम्म आइपुग्थिन होला’, राइट विङ्गर राकेश भन्छन्। उनी आदित्यलाई नै आफ्नो आदर्श खेलाडी मान्छन्। ‘बाहिर चाहिँ मलाई क्रिस्टियानो रोनाल्डो र उनको टोली पोर्चुगल मनपर्छ। पोर्चुगलले नै विश्वकप जितेको हेर्न चाहन्छु।  रोनाल्डोको फिनिसिङ, हाइट र हेडिङबाट निकै लोभ लाग्छ’, राकेश भन्छन्।

तोपबहादुर रानामगर (गोलकिपर)

सिनियर राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरको गाउँका बासिन्दा हुन् तोपबहादुर रानामगर। गाउँमा विमलको चर्चाले नलोभिने कोही थिएन। राम्रै फुटबल खेल्ने तोप प्रभावित नहुने कुनै कारण रहेन। तोप पनि फूटबल सपना बोकेर हिँडे। अहिले एन्फा एकेडेमीमा आइपुगेका छन्। ‘पहिला म डिफेन्डर थिएँ। तर बेला बेला गोलकिपिङ गर्दा सबैले तेरो गोलकिपिङ राम्रो छ, गोलकिपर नै बन् भने। त्यसपछि म पनि गोलकिपर बनेँ’,१५ वर्षीय तोप भन्छन्। जतिबेलादेखि उनी गोलकिपर बन्न सुरु गरे, त्यतिबेलादेखि नेपाली टोलीका पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङलाई पछ्याउन थाले। किरणको चर्चाबाट उनी लोभिए। पछिल्लो समय भारतमा किरणले आई लिगमा गरेको प्रदर्शन र प्राप्त गरेको चर्चाले तोपलाई पनि किरण जस्तै खेलाडी बन्ने हुटहुटी छ। ‘हामीले ठूलो सपना देख्नु हुन्न। अहिलेलाई किरण दाइ जत्तिकै बन्न सके पुग्छ’, उनको अठोट छ। विदेशको हकमा तोपलाई मनपर्ने गोलकिपर जर्मनीका मानुयल नुयर र टोली जर्मनी हुन्। यसपटकको विश्वकप जर्मनीले नै जित्नसक्ने उनको विश्वास छ।

 

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?