राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाको राजनीतिक जीवनमा धेरै उतारचढाव आए तर विचलित हुनबाट रोकेको छ उनलाई उनको खेलकुदप्रतिको मोह र सक्रियताले। उमेरले ६ दशक नाघेपनि न शरीर थाकेको, छ न त मन नै कमजोर बनेको छ उनको। पूर्व उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री र गृहमन्त्री समेत बनिसकेका लन टेनिसका कुशल खेलाडी थापाले २६ वर्षको उमेरमा अखिल नेपाल फुटबल संघको अध्यक्ष पद सम्हाल्न पुगेका थिए। उनी भित्रिँदै गरेको वर्ल्डकपलाई लिएर निकै अहिले उत्साहित बनेका छन्। विश्व कप हेर्न ५५ इन्चको नयाँ टेलिभिजन समेत घरमा भित्र्याएका उनको विश्वकपप्रतिको उत्साह र तयारीबारे उनीसँग देशसञ्चारकी वरिष्ठ संवाददाता दीपा दाहालले लिएको अन्तर्वार्ता।
१) राजनीतिमा गोल गर्न माहिर हुनुहुन्छ, अहिलेको विश्वकपमा कतिको चासो राख्नु भएको छ ?
वास्तवमा भन्ने हो भने म राजनीतिमा अकस्मात आएको हुँ। मेरो सम्पूर्ण अग्रज र परिवार सेनामा हुनुहुन्छ। म पनि राजनीतिमा नआएको भए सेनामा हुन्थेँ होला। तर अहिले पनि राजनीतिकर्मी भन्दा खेलाडी भएकोमा धेरै गर्व छ मलाई। त्यसैले मेरो खेलकुद जीवन राजनीतिक जीवनसँगै अघि बढिरहेको छ। जहाँ सम्म विश्वकपको कुरा छ यो त फुटवल खेलाडी, प्रेमी सबैका लागि एउटा ठूलो महोत्सव हो। प्रत्येक चार वर्षमा सबैलाई मनोरञ्जन दिने र बलियो हुन सिकाउने पर्व हो। त्यसकारणले आउने विश्कपमा मेरो निकै चासो छ। र हेर्नका लागि उत्साहित पनि त्यतिकै छु।
२) विश्वकप हेर्नका लागि कस्तो तयारी छ?
तयारी पहिलेको जस्तै हो। त्यसमा बदलाव आएको छैन। किनकि मलाई धेरै नै मन पर्ने खेल फुटबल पनि हो। विश्वकप हेर्ने टेलिभिजनमै हो। पहिलो उद्घाटन समारोह र खेल मेरो घरका सबै परिवारसँगै हर्ने योजना बनाएको छु ।
यही विश्वकप हेर्नका लागि ५५ इन्चको नयाँ टेलिभिजन पनि किनेको छु भर्खरै । त्यसपछि सम्भवत लिग चरणको खेल पनि परिवारकै माझमा हेर्ने छु। क्वार्टर फाइनल र फाइनलको खेल अलि ठूलो समूहमा साथीभाइसमेत समावेश गरेर हेर्ने इच्छा छ । छोराले फाइनल खेल प्रोजेक्टरमा हेर्नु पर्छ भनिरहेका छन् । त्यो पनि सम्भवत जडान गरिने छ। र अलि धेरै सदस्य भएर फुटबलको मज्जा लिने जमर्कोमा छौं ।
३) साथी भाइसँग धेरै हेर्नुहुन्छ कि घरपरिवारका सदस्यसँग?
फुटबल खेल यस्तो खेल हो जुन एक्लै हेर्दा रमाइलो नै लाग्दैन। जति धेरैसँग बसेर हेर्यो, त्यति धेरै नै रमाइलो हुने गर्छ। त्यसैले मैले साथीभाइसँग बसेर बाहिर पनि हेर्ने गरेको छु र घरपरिवारसँग म त्यतिकै रमाइलो गरेर हेर्ने गरेको छु । मैले कमै नेपालीले प्राप्त गर्ने सौभाग्य प्राप्त गरेको छु। सन् १९८२ मा म्याड्रिडमा विश्वकपको फाइनल स्टेडियमा बसेर प्रत्यक्ष हेर्ने मौका पाएको छु । त्यो अनुभव शव्दमा वर्णन गर्न सकिन्न ।
४) बाजी राखेर फुटबल हेर्नु भएको छ?
विश्वकपमा आआफ्नो मन पर्ने खेलाडी, समूह र देश हुन्छन्। आआफ्नो टिमको जितको निमित्त बाजी राख्ने पनि गरिन्छ। मैले पनि राखेका छु तर सामान्य र सानोसानो । प्रतिश्पर्धालाई रोमाञ्चक गराउन सँगै खाना खाने चलन छ । कहिलेकाँही जित्नेले अरुका लागि ससानो उपहार पनि किनिदिने चलन छ ।
५) फुटबलमा तपाईलाई सबै भन्दा धेरै प्रेरित गर्ने हिरो को हो?
फुटबलमा अहिलेसम्म अत्यन्तै लोकप्रिय र प्रतिभाशाली खेलाडीको कुरा गर्ने हो भने पेलेकै नाम अघि आउँछ। उनी अभूतपूर्व प्रतिभा भएका खेलाडी हुन्। पेलेलाई विस्थापित गर्न अहिलेसम्म कसैले सकेको छैन । मैले खेल जीवनको सुरुवात गर्दा पनि पेले नै मेरा फ्यान थिए र अहिले पनि छन् । मन पर्ने खेलाडीमा अरु थपिएका छन् तर उनी पहिलो स्थानमै छन्।
६) अहिले तपाईको मन पर्ने खेलाडी को हो ?
पेले पछि पनि धेरै खेलाडी आए। अहिले कायम रहेका खेलाडी पनि निकै मेहेनेती र तेजिला छन् । ती मध्ये नाम लिनु पर्दा सबै भन्दा उत्कृष्ट खेलाडी अर्जेन्टीनाका स्ट्राइकर मेसी नै लाग्छ। यद्यपि उनले आफ्नो देशको हातमा वर्ल्डकपको उपाधि पार्न सहयोग गरेका छैनन् ।
मेसी एउटा विशिष्ट प्रतिभा भएका खेलाडी हुन्। उनी पनि मलाई मन पर्छ । पछिल्लो कालखण्डमा म्यारोडोनाको पनि चर्चा भइरहेको छ । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पनि अघि नै छन् । तर पनि उनको टिम त्यति सशक्त मानिन्न। ब्राजिलका नेमार पनि उतिकै उत्कृष्ट छन्। उनी पनि राम्रो लाग्छ।
७) मन पर्ने देश कुन हो?
पछिल्लो समय मेरो पहिलो रोजाईमा जर्मनीको टिम परेको छ । त्यो टिमका म्युलर धेरै नै मन पर्छ । यस अघिको विश्वकपमा पनि म जर्मनको पक्षमा थिए। र पक्कै पनि यसपटक जर्मनले जितोस भन्ने चाहना राख्छु। जर्मनीको पक्षमा परिवारका बीच बाजी पनि मार्नु पर्ला। पहिले पहिले त मलाई ब्राजिल मन पर्थ्यो ।
८) जर्मनीको टिम मन पर्नुको कारण?
जर्मनीको टिम मलाई मन पर्ने थुप्रै कारण छन् । पहिलो त यो आफैँमा उत्कृष्ट टिम जस्तो लाग्छ । यसका खेलाडीको मेहेनेत गर्ने र अनुशासित छन् । यो टिमको ‘टिम वर्क’ले मलाई प्रभावित बनाएको छ। चार पटक विश्कप जितेको टिम पनि पर्यो । नेपाल र जर्मनीको सम्बन्ध पनि राम्रो भएकाले होला अझै धेरै यो टिम मन पर्छ ।
९) फुटबल र कमल थापाबीचको अन्तरसम्बन्ध के हो ?
फुटबल वा खेलकुद मेरो रगतरगतमा छ। हुन त मेरो राजनीतिक जीवन पनि छ तर राजनीतिमा निकै उतारचढाव आउँछन्। एक किसिमको फोहोरी खेल पनि हो राजनीति। यो फोहोरी खेलमा फसि सकेपछि निस्कन धेरै गाह्रो छ, सकिँदैन । त्यहाँबाट निस्कन खोज्दा पनि डुबिन्छ ।
खासगरी हाम्रो जस्तो विकासोन्मुख मुलुकमा राजनीति धेरै नै हुन्छ। आफ्नो वास्तविकता फरक हुन्छ। अरुको दृष्टिकोण अर्को हुन्छ । त्यसको भिन्नताको पीडा अर्कै हुन्छ। त्यसैले अघि पनि भनेँ म आफु खेलाडी भएकोमा धेरै गर्व गर्छु। जबकि ६० उमेर पार गरिसकेको भए पनि म नियमितरुपमा खेल्ने र प्रतिस्पर्धा पनि उत्तिकै गर्छु। खेल जीवनको सुरुवातमा मैले सबैभन्दा धेरै फुटबल नै खेलेँ।
अञ्चलअञ्चलबीच प्रस्तिपर्धा हुँदा मैले नारायणी अञ्चलबाट खेलेँ। नेपालको राष्ट्रिय टिमबाट पनि खेल्ने अवसर प्राप्त गरेँ। संकटा क्लबमा आवद्ध भएर धेरै वर्ष खेलेँ। चाहे त्यो सहिद स्मारक लिग होस्, चाहे तत्कालीन अवस्थामा निकै महत्वपूर्ण मानिएको त्रिभुवन च्यालेन्ज सिल्ड नक आउट लगायतको टिमले जित हात पारेको थियो, ती प्रतियोगिताहरुमा म पनि संलग्न थिएँ। र त्यो जितको एउटा हिस्सा म पनि भएँ। तर फुटबलबाट म अकस्मात नै रिटार्यड भएँ। त्यसपछि केही वर्ष स्क्वास खेलेँ। त्यसमा सेमिफाइनलसम्मको खेलाडीसम्म पुगेँ। त्यसपछि परराष्ट्रमन्त्री हुँदा सन् १९९८ देखि टेनिस खेल्न सुरु गरेँ। त्यसपछि सिनियर लेवलको टेनिस टुर्नामेन्टमा भाग लिन थालेँ।
यसमा फाइदा पनि छ किनकि हामी उमेर अनुसार यो खेल खेल्न पाउँछौं । ३५, ४५ र ५५ वर्षको उमेरको नेपालमा भएका प्रतियोगितामा प्रथम स्थान पनि हासिल गरेँ। र भारतमा म लगातार ५५ वर्ष भन्दा माथिको उमेरको प्रतियोगितामा तीन पटक प्रथम भएको छु। एसियन सिनियर टुर्नामेन्टमा पनि फाइनलमा पुगेर दोस्रो भएको छु । दुई वर्ष अघि बेलायतमा आयोजित सिनियर टुर्नामेन्टमा पनि दोस्रो भएको छु । त्यसैले खेल मेरो जीवनको अंग बनिसकेको छु ।
१०) खेलकुदमा लाग्न र यसलाई निरन्तरता दिन कसले के प्रेरणा दियो ?
पहिलो कुरा मेरो पारिवारिक वातावरण नै हो । सुरुमा हामी भोगटेलाई फुटबल बनाएर बाल्यकालमा खेलेको याद छ । सिनियर खेलाडी अचुत खरेल पनि मेरो प्रेरणाको श्रोत हुनुहुन्छ। डिल्लीबजारबाट हेटौडा गएपछि त्यहाँ विष्णुगोपाल श्रेष्ठबाट पनि मैले प्रेरणा पाएको छु ।
हेटौडामा रहदा स्कुल टिममा खेले । एसएलसीपछि काठमाडौंमा आएर पनि त्यसलाई निरन्तरता दिएँ। रुपक शर्मा र म सँगै पढ्थ्यौं । त्यो बेला पनि हामीले अन्तरमाध्यमिक खेलमा जित हासिल गरेका थियौं । त्यसैले मेरो खेल जीवनले निरन्तरता पाउँनुमा घरपरिवार खासगरी बुवादेखि साथीसबैको सहयोग र प्रेरणा लुकेको छ।
११) फुटवलमा उत्कृष्ठ हुन के चाहिन्छ ?
तुलनात्मकरुपमा सबैभन्दा सजिलै खेल्न सकिने र बुझ्न सकिने खेल हो । तर यसमा विशिष्टता हासिल गर्नका लागि कडा परिश्रमको आवश्यकता पर्छ। त्यस्तै सीप पनि आवश्यक छ । यो बढाउन प्रशिक्षकले भूमिका खेल्ने गर्छन तर माथि जानका लागि व्यक्ति आफैले पनि ध्यान दिनु पर्छ आफ्नो अन्तरनिहित क्षमता बढाउन ।
फुटबलको विशेषता भनेको टिम गेम पनि हो । यसमा एउटाले मात्रै पनि जित हासिल गर्न सक्दैन । टिमको राम्रो सहकार्य पनि आवश्यक छ र कडा अनुशासन पनि आवश्यक छ।
१२) फुटबलले तपाइको राजनीतिमा मद्दत पुर्यायो कि घाटा ?
फुटवलले मलाई राजनीतिमा ढलेका बेला उठाउन सिकायो । फुटबल वा समग्र खेलले मेरो जीवन या व्यक्तित्वलाई यो रुपमा प्रस्तुत हुनका लागि सहयोग गरेको छ । जुन किसिमको मेरो जीवनशैली छ त्यसमा खेलकै भूमिका छ चाहे खानपान होस चाहे अन्य काम। सबैभन्दा पहिले त खेलुकदले अनुशासित हुन सिकायो । मेरो जीवनशैली पनि अनुशासित छ। खेलकुदले मलाई कडा मेहेनत गर्न पनि सिकाएको छ। खुलकुदले हारलाई पनि सहर्स स्वीकार्न सिकायो । मेरो राजनीतिक जीवनका उतारचाढवमा धर्य गर्न यसैले सिकाएको छ। र हारेका बेला छोडेर नहिड्न सिकाएको यसैले हो।
१३) खेलकुद जीवनमा सुखद र दुखद पक्ष के के छन् ?
म डिफेन्स लाइनमा खेल्ने भएकाले गोल गर्ने संभावना कम हुन्छ । एकपटक संकटा र महेन्द्र पुलिस क्लवबीचको सेमिफाइनलको खेल भइरहेको थियो । समय छोटिदै गएको थियो । एउटा कर्नर हान्ने मौका हामीले पायौं । डिफेन्समा म भएपनि अव यो मौका लिनुपर्छ भन्ने लाग्यो र गोल गर्न सफल भए। टिमलाई फाइनलमा पुर्याउन महत्वपूर्ण योगदान दिएँ । त्यो बेला मलाई सारै धेरै खुसी लागेको थियो।
अर्को दुखद घटना पनि मैले खेल जीवनमा भोगे । संकटाका खेलाडी इश्वरमान तुलाधार र म अभ्यास गर्दै थियाौं। उहाँको स्पाइनल कर्डमा समस्या आएर निधन भयो । केही साता अघि मात्र उहाँको विवाह भएको थियो । अर्को हृदयविदारक घटना पनि भोगे । अखिल नेपाल फुटबल संघको अध्यक्ष भएर राम्रो काम गर्ने प्रयासमा थिए। त्रिभुवन च्यालेन्ससिल्डको फाइनल प्रतियोगिता रंगशालामा भइरहेको थियो। त्यो बेला अचानक मौसम प्रतिकुल बन्यो।
मुसलधारे पानी सहित हुरिबतास आयो। दर्शकहरु अत्तालिएर निस्कन खोज्दा दशिणतर्फको गेटमा रहेको सानो ग्यापमा एक जना अड्किनु भयो र त्यसपछि अर्को गर्दै दर्शकहरु अड्किदा ६०÷७० जनाको ज्यान जान पुग्यो । पछि म घाइतेलाई भेट्न वीर अस्पताल पुगे । ज्यादै दुःख लाग्यो दर्शकको शव देख्दा र त्यही घटनाका कारण एन्फाको अध्यक्षबाट राजिनामा दिए।
१४) नेपालको फुटबलको स्थितिलाई कसरी हेर्नु भएको छ । के हामी विश्व कपमा सहभागी भएको कल्पना गर्न सक्छौं ?
नेपालको फुटबल क्षेत्रको विकास संभव छ । विश्वकपमा भाग लिने सपना देख्न पनि सकिन्छ तर त्यसका लागि नेपालले धेरै लगानी र मेहेनेत गर्नु पर्छ । अहिलेको हाम्रो स्तर, लगानी र प्रयासले त्यो संभव छैन। दीर्घकालिन तयारीको आवश्यकता पर्छ भन्दा अझ स्पष्ट होला । हामीकहाँ दशरथरंगशाला बाहेक उपत्यकमा दोस्रो रंगशाला बाहेक अर्को रंगशाला छैन अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न ।
अभ्यासका लागि पनि अनकुल वातावरण छैन । सरकार वा राज्यले अहिलेका १० वर्ष उमेर समूहलाई निरतर १० वर्षसम्म राम्रो लगानी र अभ्यास गर्ने वातावरण मिलाएको खण्डमा नेपालका खेलाडीले अन्तर्राष्ट्रयस्तरमा प्रतिश्पर्धा गर्न सक्छन् । विस्तारै विस्तारै विश्वकपमा पुग्ने संभावना रहन्छ तर यो धेरै चुनौतीपूर्ण छ । फुटवल खेलमा सबैको चासो छ त। कसरी उत्कृष्ट खेलाडी उत्पादन गर्ने भन्नेतर्फ सरकारको ध्यान गएको छैन।