
विर्तामोड- जुवा खेल्न भनेर जंगल गएका तीन जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ। गाउँ तथा शहरमा जुवा खेल्ने प्रहरीले खोजेर कार्वाही थालेपछि जुवा खेल्नका लागि भनेर जुवाडे जंगल पस्न थालेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
आइतबार करिब ८ बजेतिर झापाको शिवसताक्षीस्थित जंगलमा जुवा खेलिरहेका जुवाडेहरु प्रहरीको फन्दामा परेका हुन्। प्रहरीले जुवाको खालवाट १ लाख ९ हजार ९ सय ९० रुपैयाँसमेत बरामद गरेको छ। त्यस्तै जुवाको खाल नजिकै जुवाडेले पार्किङ गरेका तीनवटा कार र ५ वटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।
शिवसताक्षी नगरपालिका ११ नम्बर वडास्थित जंगलमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए।
प्रहरीको टोलीले जुवाको खालबाट शिवसताक्षी– ८ का सुमन गुप्ता, कनकाई नगरपालिका–६ का कुलवहादुर दर्नाल र अर्जुनधारा नगरपालिका– ६ का शन्तोष विकलाई पक्राउ गरेको बस्नेतले बताए।
जुवाको खालमा प्रहरी पुग्ने बित्तिकै केही जुवाडेहरु भागेका थिए। जिल्ला प्रहरी कार्यलय झापाका अनुसार जुवाको खालवाट ४ हजार २ सय ६० भारतीय र अमेरिकन ५ डलर समेत बरामद भएको छ । जिल्ला प्रहरी कार्यलय झापाका अनुसार बरामद भएका कारमा बा १५ च १९६७, बा १३ च १४७५ र मे १ च ४३८९ नम्बरका कार रहेका छन् ।
यस्तै मे ८ प १९१२, मे १० प ३६, मे ५ प ६५६३, मे ३ प ५७६९ र मे ९ प २९७२ नम्बरका मोटरसाइकल पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ । पक्राउ परेका अनुसन्धानका लागि इलाका प्रहरी कार्यलय झिलझिलेको हिरासतमा राखिएको बताइएको छ