काठमाडौं: चुनावी राजनीतिबाट सन्यास लिएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले संसद, सत्ता र प्रतिपक्षीमाथि गहिरो नजर राख्छन्। नेपालको राजनीतिलाई आफ्नो आस्ता अनुसारको अन्तर्राष्ट्रिय परिवेशभित्र राखेर हेर्नु उनको अर्को पक्ष हो।
अमेरिका र उत्तर कोरियाका राष्ट्रपतिबीचको वार्ता होस या प्रधानमन्त्री केपी ओलीको मंगलबारबाट सुरु हुने चीन भ्रमण होस, उनी त्यही परिप्रेक्ष्यमा नेपाली राजनीतिलाई नियालि रहेका छन्।
वाम एकीकरणले राजनीति या सत्ताकै पनि स्थायित्वलाई ‘ग्यारेन्टी’ नगरेको बरु प्रतिपक्षी नेपाली कांग्रेसले परिस्थितिलाई प्रभावित गर्न सके ओली सरकार ढल्ने खतरा समेत उनले औल्याएका छन्।
यी समग्र विषय, परिस्थिती र मुलुकबारे आफ्नो गहिरो चिन्ता व्यक्त गरेका छन् विजुक्छेले मंगलबार भक्तपुरस्थित आफ्नै निवासमा देशसञ्चारकी वरिष्ठ संवाददाता दीपा दाहालसँग गरेको कुराकानी
१) नेपालको पछिल्लो राजनीतिक विकासक्रमलाई कसरी निहाल्नु भएको छ ?
पछिल्लो राजनीतिक विकास क्रम भनेकै एमाले र माओवादी केन्द्रबीचको एकता नै हो। यसलाई उनीहरुले कम्युनिष्टको एकता भनेका छन्। तर उनीहरुको व्यवहारमा त्यो देखिदैन। र म पनि मान्दिन । त्यसका दुई वटा कारण छन्। पहिलो, सिद्धान्तबारे दुई तिनमहिना एक शव्द पनि निकालेनन् उनीहरुले।
दोस्रो, तीन महिनासम्म उनीहरुले खाली भागबण्डा र पदको मात्रै कुरा गरेर बिताए ।त्यसैले यसलाई कम्युनिष्ट आन्दोलनको भाग हो भन्न मिल्दैन। अर्को संसदीय मामिलाको कुरा छ। संसदमा सत्ता पक्षकै नेताहरुले बजेटलाई लिएर धेरै नै विरोध गरेका छन् ।
यसबाट के पुष्टि हुन्छ भने उनीहरुलाई संसदीय बन्दोबस्तीको कार्यशैली थाहा छैन।न त कम्युनिष्ट आन्दोलनका विषयमा उनीहरु ठीक ठाउँमा छन्।
यता नेपाली कांग्रेसले प्रतिपक्षीको भूमिका जसरी खेल्नु पर्ने थियो त्यो पनि पटक्कै भएको छैन। मुलुकको भविष्य अन्यौल ग्रस्त छ रहेको प्रमाण हो यो। र ठीक ठाउँमा हाम्रो देश फेरि पनि जाँदैन।
२) देश ठीक ठाउँमा जान्न भन्नुको अर्थ ?
नेपालका अर्थतन्त्र झन झन तल झर्दै जाने छ। नेपालमा अशान्ति पनि बढ्दै जानेछ। विभिन्न क्षेत्रमा अराजकता देखिने छ । २०/२२ महिनासम्म ठेकेदारले काम सुरु नगर्नु, काम गर्दा गर्दै उनीहरु भाग्नुको पछाडि राजनीतिक कारण नै हो। राजनीतिक कारणले नै हाम्रो मुलुक पछि परेको छ।
३) तपाईले नेपालमा अराजकता छाइसकेको छ भन्न खोज्नु भएको हो ?
ऐन कानुन अनुसार कुनै पनि काम नहुनु र राजनीतिक अस्थिरता कायमै रहनुले त्यो भन्न सकिन्छ । शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रमा नियम अनुसार काम भएको छैन ।
त्यतिमात्र होइन मन्त्रालयमै नियम अनुसारका काम नभएकाले अहिले नै हामी अराजकताको स्थितीमा पुगेको छौ भन्न सकिन्छ ।
हाम्रा नगर योजनाकर्ताहरुको कामको शैली जे पनि ठूलो आकारको निर्माण गर्ने छ ।काठमाडौं सानो छ तर यसलाई मस्को भन्दा ठूलो सम्झेर काम गरेको पाइन्छ। बाख्रालाई हात्तीको दाना दियो भने के होला ? स्थिति म त्यस्तै देख्छु।
४) एमाले र माओवादीको एकीकरण कति दीगो होला ?
पार्टीको दीघोपन आकारले नाप्न मिल्दैन। त्यो भावनाले दीघो हुन्छ की हुन्न भन्ने महत्वपूर्ण कुरा हो। माटोको भाडोलाई मर्मत गर्न त सकिएला तर भित्री कुरा नमिलेसम्म त्यसलाई जोडेको भन्न मिल्दैन। संदनमा सबैभन्दा धेरै विरोध यही पार्टीको भइरहेको छ।
यस्तो बेला विरोधको गणना र बोलेको कुरालाई लिपिवद्ध गर्ने हो भने सरकारको बहुमत अहिले पुग्दैन। र प्रमुख प्रतिपक्षी दल टोलाएर बसेका छन्। यदी प्रतिपक्षी बलियो हुने हो भने अहिले नै सरकार ढल्नेस्थिति आउँछ।
आन्तरिक विरोधलाई स्वाभाविक मानिएला तर सदनमा त्यसरी विरोध आयो भने सरकारले राजिनामा दिनु पर्ने स्थिती हुन्छ। त्यसलाई मुखरित गर्ने काम नेपाली कांग्रेसको हो। तर त्यो बोल्ने साहस उसले गर्छ की गर्दैन थाहा छैन।
५) भनेपछि यो सरकार टिक्ने नटिक्ने अझै निश्चित छैन ?
यो नाटक त होइन। अनि नाटक मञ्चन गर्ने ठाउँ पनि सदन होइन। त्यसकारण साँच्चै बजेटको विरोध भएको हो भने सरकारको विरोध हो यो। यदि सरकारको विरोध हो भने र सिद्धान्तलाई अघि लिएर जाने हो भने सरकार ढल्छ।
तर अब सबैले चुनावमा पैसा खर्च गरेर आएका छन्। त्यसका कारण त्यो पैसा तिर्नका निम्ति हामीलाई योजना दिनुपर्छ भन्ने भावनाले विरोध गरेका हुन भने त्यो गलत हो।
अर्को महत्वपूर्ण कुरा मन्त्रीहरुले मात्र आफ्नो जिल्लामा योजनाहरु लगे र संसद सदस्यले पाएनन् भन्ने कुरा पनि गलत हो।
मन्त्रीहरुले कहिल्यै पनि आफ्नो जिल्लाको विषयमा ध्यान दिने होइन। उनीहरुले त राष्ट्रियस्तरको कुरा गर्ने हो र काम पनि त्यसै अनुसार गर्ने हो । अहिलेका मन्त्रीहरु पनि संसदीय व्यवस्थाका हिसावमा नालायक नै सावित भएका छन् ।
संसद सदस्यको काम भनेको नीति निर्माणबारे छलफल गर्ने र त्यसको टुंगो लगाउने हो । उनीहरुले बजेट ठीक छ की छैन र त्यसले कुन कुरालाई प्राथमिकता दिनु पर्छ भन्नेमा छलफल गर्ने हो। आफ्नो विषयमा आफैले बोल्ने होइन ।
आफ्नो जिल्लाको विषयमा अहिले प्रदेशका सरकारले चासो लिने हो । वास्तवमै भन्ने हो भने संसदीय व्यवस्था कसरी चल्छ भन्ने थाहा नपाएरै उनीहरुले चुनाव लढेको देखिन्छ ।
६) तपाई संसदमा हुनुहुन्न । के मा व्यस्त हुनुहुन्छ ? की चुपचाप हुनुहुन्छ ?
संसदमा जनताले अराएको काम गर्ने कर्तव्य हाम्रो हो । त्यतिबेला त्यही कर्तव्य पुरा गरेँ मैले । तर अहिले पनि म चुपचाप लागेर बसेको छैन ।
मैले झनै पुरै समय पार्टीलाई दिइरहेको छु, काम भइहरेको छ, बैठकमा गइरहेको छु । राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्बन्धबारे पनि छलफल भइरहन्छ छ। कक्षा सञ्चालन भइरहेको छ । सदनमा पनि ध्यान त जान्छ नै त्यो भन्दा बढ्ता पार्टीको नीति, सिद्धान्त र त्यसको कार्यान्वयमै छ।
७) त्यसो भए तपाइको संगठन विस्तार गर्ने प्रयास हो ?
संगठन विस्तारको अर्थ संसदमा कति जान पाए भन्ने होइन । पार्टीको सिद्धान्त र विचार कति गहिराईमा पुगेको छ भन्नेमा अर्थ हुन्छ । एमाले र माओवादीको पार्टीको संख्या धेरै थियो।
तर वैचारिकरुपमा हेर्दा अन्धाले हात्ती छामेको जस्तै भएको छ उनीहरुको माक्र्सवाद । देशको कम्युनिष्ट आन्दोलनलाई व्यवस्थित गर्न र सैद्धान्तिकरुपमा स्पष्टता ल्याउनका लागि हामी कार्यरत छौं ।
८) प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणलाई कसरी हेर्ने?
चीन भ्रमण त पहिले पहिलेका प्रधानमन्त्रीले गरे । त्यसकै निरन्तरता हो यो । तर जुनसुकै मुलुकमा गएपनि हाम्रो मुलुकको आवश्यकता के हो त्यो पहिले बुझ्नु पर्ने हो उहाँले। उहाँले सोचेको र जनताले चाहेको कुरा फरक हुन सक्छ ।
चीन भ्रमणमा पहिले पनि उहाँ जानु भएकै हो । त्यो भन्दा अघि धेरै प्रधानमन्त्री चीन भ्रमणमा गएकै हुन् । देशको परिस्थिति जहाँको त्यही छ । विदेशले दिएका कुरालाई मात्रै हामीले सम्हाल्न सकेको भए धेरै राम्रो हुन्थ्यो ।
मित्रहरुले दिने अनि हामीले बेच्दै बिगार्दै हिड्ने गरेका छौं । जतन नगर्ने बानी परेपछि दिनेले जति दिएपनि डोकोमा पानी थापे जस्तै हो ।
मित्रहरुले दिएको कुरालाई हामीले सदुपयोग गर्ने कुरा ठूलो हो । अहिले पनि चीनले पनि अनुदान दिने भन्दा दुवैतर्फको जित (वीन वीन सिचुएसनमा) मा सहयोग गर्ने नीति बोकेको छ। अरुले दिएको सहयोग कार्यन्वयनमा ल्याउन हामीले आफ्नै जनशक्ति उत्पादन गर्नु पर्छ । भएको ट्रली बस त कुदाउन सकेनौं ।
९) त्यसो भए प्रधानमन्त्री ओलीले चीन भ्रमणका गएका बेला के गर्नु पर्छ ?
चीनले पहिले दिएका कलकारखानालाई सबैभन्दा पहिले चलाउनु पर्छ । कति बिग्रेका छन् होला कति भत्केका छन्, कति बेचिए होलान्। सहयोग दिएको पनि बेच्ने नीति लिनु भएन ।
एक पटक मैले सदनमा प्रस्ट भनेको थिए हाम्रो झण्डा सूर्य चन्द्रको छ तर हाम्रो बुद्धी माग्ने मात्रै भएको हुनाले हाम्रो झण्डामा पैसा माग्ने भाडोको लोगो मात्रै राखे कसो होला ?
प्रधानमन्त्री जीले हामीसँग नभएको र तत्काल चाहिने कुरा के के हो त्यसमा ध्यान केन्द्रीत गर्न आवश्यक छ । विज्ञान र प्रविधिको विषय उहाँले भन्नु भयो भने जाति होला।
१०) प्रधानमन्त्री ओलीले भने जस्तै दुई वर्षमा चीनबाट नेपाल रेल आउँछ त ?
उहाँले भने जस्तो हुने छैन । दुई वर्षमा त बाटो मात्रै कोरिन्छ होला यदि काम समयमै सुरु भो भने पनि । त्यति आशावादी हुन नहुने हो ।
चीनले बनाउने/ नबनाउने ठेगान छैन । हाम्रो सरकारले बनाउने कुरा म पत्याउँदिन । र, जनकपुर रेल मार्ग त पहिले पनि थियो त्यसमा भारतले भने जोड्ने संभावना छ ।
११) अघिल्लो साता भएको अमेरिका र उत्तर कोरियाको वार्तालाई कसरी लिनु भएको छ?
यो पहिले नै हुनु पर्ने वार्ता हो । कोरियाको मामिलामा ६ वटा पक्ष थियो । त्यसमा अमेरिका, दक्षिण कोरिया र जापान एकातिर र सोभियत संघ, चिन र उत्तर कोरिया अर्कोतिर भएको अवस्था थियो ।
उनीहरुले विवाद मिलाउन नसकेको हुनाले वार्ता थाती बस्यो लामो समय । हाम्रो शक्ति नदेखेसम्म उनीहरु वार्तामा आउँदैन भन्ने उत्तर कोरियालाई लाग्यो । १९५० देखि १९५३ सम्मको कारिया युद्धमा अमेरिका हारेको थियो ।
र समयमा रुसबाट हातहतियार पुर्याउन नसक्दा मात्रै कोरियाली जनता पछि पर्नु परेको थियो । त्यो तितो अनुभव उनीहरुसँग छ । हतियार आफैसँग हुनु पर्ने रहेछ भन्ने बुझे उनीहरुले।
आफैले आफैलाई सशक्त बनाए। र कोरिया प्रायदिपमा, दक्षिण कोरियामा अमेरिकी सुरक्षाकर्मीसँगै प्रशस्त हातहतियार छन् । त्यो त सँधै खतराको घण्टी जस्तै छ । तर्साइरहन्छ। संयुक्त युद्ध अभ्यास हुन्छन्। त्यो भनेका साँच्चिकै युद्धमा जाने हो ।
त्यसमा कोरियाली जनता सँधै सचेत रहन्छ । तीन घण्टा मात्रै सुत्छन्। अघि पछि काम मात्रै गर्छन् । १९५४ को जेनेभा सम्झौतापछि पनि यो युद्धविराममा सीमित रहेको छ । शान्ति सम्झौता भएको होइन भन्ने उनीहरुलाई लाग्यो। र कुनै पनि बेला युद्धमा जानु पर्ने उनीहरुले सोचे।
जसरी शान्तिपुर्वक विकास गर्नु पाउनु पर्ने हो त्यो पाएनन् ।त्यसैले अव लडाइनै एउटा उपाय हो भन्ने उनीहरुलाई लाग्यो । अरु जसरी आउँछन् त्यसरी नै जवाफ दिने तयारी स्वरुप हाइट्रोजनबम, आणविक अस्त्र र मिसाइल्सहरु तयार पारे।
साथसाथै हामीलाई जहाँबाट जसले हान्यो त्यसैमाथि हमला गछौं भन्ने सोच बन्यो । मुखले भनेनन् तर त्यही अनुसार तयारी गरे । यस मामिलामा बैचारिक र भौतिकरुपमा उनीहरुले आफुलाई विकास गरे। त्यसको डर दक्षिण कोरियालाई भयो।
अमेरिकाले तलमाथि गरेमा पहिलो सिकार त हामी हुने भयौं भन्ने उसलाई लाग्यो। जापानको पनि त्यही स्थिती छ । अहिले हाइड्रोजन बम दक्षिण कोरिया र जापनका बीचमा खसालियो भने दुवै ध्वस्त हुन्छन्। हातहतियार आफ्नो सुरक्षाको निम्ति हो ।
त्यसैबाट आफु समाप्त हुने भए त केही काम लागेन। त्यसैकारण अमेरिका अव शान्ति सम्झौता गर्नु पर्यो पहिले भन्नेमा पुगेको देखिन्छ । तर अमेरिकाले हामीले तिमीहरुसँग शान्ति सम्झौता गछौं भनेको छैन । बरु दक्षिण र उत्तर मिलोस पछि कुरा मिलाउँला भन्ने ढंगले उनीहरु आएका छन्। तर यो वास्तवमै टुंगिन अझै १० वर्ष लाग्छ।
१२)भनेपछि अहिले जे भइरहेको छ त्यो साँचो होइन।
जहिले सम्म अमेरिकाले दक्षिण कोरियामा आफ्ना सेना र आणविक अस्त्र हटाउँदैन तवसम्म उत्तर कोरियाले आत्मघाती काम गर्दैन ।
त्यो ठाउँमा युद्ध भयो भने रुस र चीन चुप लागेर बस्ने ठाउँ छैन उनीहरुलाई पनि त्यसको असर पर्ने भएकाले । त्यो अन्तर्राष्ट्रिय वारुद खाना जस्तै बसेको छ । अमेरिकाले त्यो हिम्मत गर्यो भने उसैलाई नोक्सान हुने छ ।
अमेरिका यसपाली ससारभरीबाट एक्लो हुँदै गएको छ । आर्थिकरुपले त्यो संकटबाट मुक्त, हुन पनि सकेको छैन्। त्यसका कारणले विभिन्न मुलुकबाट आफ्ना सेना हटाउने स्थिती पनि उसलाई आएको छ । उसले भन्दै छ तिमीहरुको सुरक्षाका निम्ति मेरो देशमा आर्थिक संकट आएको हो। त्यसैले आफ्नो बजेटबाट दुई÷दुई प्रतिशत बजेट देउ हामीलाई भनेको छ ।
अमेरिका अहिले एक्लिन पुगेको छ । पेरिस क्लाइमेट चेञ्ज सम्झौताबाट त्यो भाग्यो । साथसाथै इरानलाई दिनु पर्ने आणविक अस्त्रको ठाउँमा बिजुली निकाल तिमीले अरु सबै कुरा गर्छु भनेको थियो त्यसबाट पनि भाग्यो। युनेस्कोलाई दिनु पर्ने पैसा पनि दिएन। र सन् २०२१ सम्ममा अमेरिकाको अर्थतन्त्रलाई चीनले सर्वनास गर्छ ।
१३) भनेपछि उत्तरकोरियाले अणु निशस्त्रीकरण गर्छ की गर्दैन ?
एक्लै गर्दैन उसले । त्यो परिस्थितlले निर्माण गर्ने कुरा हो । अर्थात अमेरिकामा त्यो निर्भर रहन्छ। त्यहाँबाट आणविक अस्त्र झिक्यो र उसको सेना अमेरिकाले लाग्यो भने आणविक शक्तिको कुनै आवश्यकता हुँदैन उत्तर कोरियाका लागि । अनि उसले आफ्नै सबै रकम रक्षामा नभई विकासमा गर्छ। र धेरै अघि बढ्छ।
उसलाई अणु शक्ति उसको शोकको कुरा होइन।उसले अमेरिकाले जस्तो अरु मुलुकमा गएर हमला गर्ने, कव्जा गर्ने काम गर्दैन। यसो हेर्दा अमेरिका अफगानिस्तान, अमेरिका, लिवियामा, सिरियामा फस्यो । त्यसकारण पनि उ आफै इरानबाट कसरी भाग्ने भन्नेमा पुगेको छ ।
उतर कोरियासँग मेलमिलाप भएको खण्डमा अरु पनि बाटो खुल्ने छ भन्नेमा उ छ । जवकी सिरियाका राष्ट्रपति उत्तर कोरिया जाँदै छन् । त्यसको अर्थ उसको ट्रम्पसँग या अमेरिकासँग पनि उसले कुरा गर्ने छ भन्ने संकेत देखा परेको छ। ।
१४) नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको अर्थ के हो ?
नेपालले ठूल्ठूला मुलुक भन्दा पनि सानासाना मुलुक उत्तर कोरिया, क्युवा जस्ता मुलुकले कसरी आफुलाई विकास गरे भन्ने हेर्नु पर्छ । अरुसँग नमागेर र आफ्नो खुट्टामा उभिएर उनीहरुले गरेको विकास नेपालका नेताहरुले हेर्न जरुरी छ ।