
पोखरा- प्रदेश ४ को प्रदेश सभाबाट सर्वसम्मत रुपमा पोखरालाई स्थायी राजधानी तोकिएको छ।
अस्थायी राजधानीको रुपमा रहँदै आएको पोखरालाई आइबार र सोमबारको प्रदेश सभामा वृहत छलफल गरी निर्णयार्थ पास गरिएको हो।
प्रदेशसभामा सहभागी सांसदमध्ये २ तिहाइ बहुमतले राजधानी र नाम तोक्न मिल्ने संबैधानिक ब्यवस्था छ।
राजधानी तोक्नका लागि प्रतिपक्ष र सत्तापक्ष सबैले पूर्ण रुपमा समर्थन जनाएका छन्।
प्रदेश सभाको सोमबारको बैठकमा उपस्थित ५२ सांसदमध्ये सबैले पोखरालाई राजधानी तोक्ने पक्षमा मत दिए।
सभामा बोल्ने सबै सांसदले पोखरा प्रदेशको एक मात्र निर्विकल्प र उपयुक्त केन्द्र भएको निष्कर्ष सहित राजधानी तोक्न उपयुक्त भएको भन्दै समर्थन जनाएका थिए।
राजधानीकोलागि आवश्यक ब्यवस्थित पुर्वाधारका विषयमा अधिकांश प्रदेश सभा सदस्यले आफ्नो धारणा राखेका थिए। प्रदेश सभा सदस्य विन्दुकुमार थापको संयोजकत्वमा गठीत समितिले पोखरालाई प्रदेशको राजधानी बनाउन प्रस्ताव गरेको थियो।
यसअघि गत चैत १२ गतेको प्रदेशसभा बैठकले प्रदेशको नाम र स्थायी राजधानीको लागि ११ सदस्यीय विशेष समिति गठन गरिएको थियो। समितिले ७० दिनपछि प्रदेशको नाम र राजधानीबारे जेठ २१ गते प्रतिवेदन बुझाएको थियो।
असार १० गते प्रदेशसभामा टेबुल भएको प्रतिवेदनमाथि असार १७ गतेदेखि छलफल सुरु भएको हो। राजधानीको विषयमा अन्य प्रदेशको तुलनामा निर्विवाद देखिएको प्रदेश ४ को राजधानी पोखरा तोक्न दुई तिहाई बहुमत आवश्यक देखिएतापनि राजधानीको विषयमा भने सर्वसहमति भएको हो।