
काठमाडौं- २१ औं संस्करणको विश्वकप फुटबलको विजेताको आज राति टुंगो लाग्दै छ। पौने ९ बजे रुसको लुजनिकी रंगशालामा हुने फाइनल खेलमा पूर्व विजेता फ्रान्स र पहिलोपटक फाइनल पुगेको क्रोएसिया भिड्दैछन्।
उक्त रोमाञ्चक खेलमा दृष्टिविहीनहरुको समर्थन फरकफरक छ। उनीहरुले आँखाले फुटबल हेर्न नसकेपनि सुनेर खेलको बारेमा नजिकबाट विश्लेषण गर्न भने निक्कै खप्पिस छन्। ती मध्येका एक हुन्, दृष्टिविहीन रमेश राई। राईले फ्रान्सले विश्वकपको उपाधि जित्ने पक्षमा समर्थन गरेका छन्।
यस्तै ब्लाइन्ड युथ एशोसिएशनका अध्यक्ष कलाधर भण्डारी भने क्रोएसियाका समर्थक हुन्। उनी पहिलादेखि नै क्रोएसियाले जितोस् भन्ने पक्षमा उभिँदै आएका छन्। उनी भन्छन्, ‘ म क्रोएसियाको पहिलादेखि नै फ्यान भएँ जब क्वाटर फाइनलमा आयोजक रुसलाई पेनाल्टी सुट आउटमा क्रोएसियाले हरायो। अनि सेमिफाइनलमा इंग्ल्याण्डलाई पनि पराजित गर्यो। म धेरै खुशी भएँ। किनकी मेहनतीको पल्ला सधैं भारी हुन्छ।’
अर्का दृष्टिविहीन संगीता सापकोटा पनि क्रोएसियाकै पक्षमा आफ्नो मत जाहेर गर्छिन्। उनी भन्छन्, ‘सानो देश भनेर हेपेकाहरु हार्नु पर्यो।अब त्यही सानो देशले आज धमाका मच्चाउँने सोचमा छन्।’
यस्तै सुशील शर्मा फ्रान्सको कट्टर फ्यान हुन्। उनी भन्छन्, ‘मेरो समर्थन सिधै फ्रान्सलाई जान्छ। म फ्रान्सको पक्षमा मत जाहेर गर्छु। उपाधि पनि उसैले उचाल्नुपर्छ जस्तो लाग्छ। अब हेरुम के हुन्छ।’