
चार कुना मिलेको
फराकिलो
फुटबल मैदान
तर कहिल्यै
मिल्न सकेन
जीवन मैदानको
चौकोस र आयतन
अमिबाको आकारजस्तो भएर
खुम्चिदै, तन्किदै गरिरहन्छ ।
कसरी मिलाउनु र सन्तुलन ?
गोलका प्रयासहरू
सब निरर्थक!
कोसिस न हो
लागिहाल्छ कहिले
अनि उक्लन्छ जिन्दगी
‘ए’ डिभिजनमा
एल्लो र रेड कार्डका
थुप्राहरूमा
रेफ्रीका सिटी फुकाइ र सङ्केतहरू
बोलिरहन्छन् ।
मौका पर्खिन्छन् खुट्टा
बेञ्चमा बसेर
खुट्टाले सधैं नब्बे मिनेट
कहाँ पाउनु ?
विकल्पमा उभिन पनि सिकाउँछ फुटबल
सधैं गालामा
चन्द्र सूर्य फुलाएर
झण्डा उचाल्ने दर्शक
औंला ठड्याउँछ
गाली बर्साउँछ
ढुंङ्गै पनि पो हान्छ त कहिले !
फ्रि र कर्नर किक
अनि पेनाल्टी
पाउँदै र तिर्दै
अफ साइड प्रहारमा
गोलको दाबी गर्दै
फुटबल जिन्दगी
अधिकार माग्छ आफ्नो
अभ्यासमा अभ्यस्त खुट्टा
बलको लागि तिर्खाएका छन्
विपरीत पोस्ट गोल पर्खिरहेछ
जीवनको यो साँझमा
खै ! कसरी लाग्यो ?
यो गोल….!
हानेर आफैँ विरुद्ध
एक आत्मघाती गोल
रेलिगेसन जिन्दगी
बाँचिरहेछ मान्छे ।
(रेलिगेसन जिन्दगी कविता संग्रहभित्र संग्रहित कविता)