
पर्वत – लगातारको वर्षासँगै गएको पहिरोले घर बगाउँदा पर्वमा एकजनाको ज्यान गएको छ । जलजला गाउँपालिका–८ लस्दी बेरनेटामा मंगलबार राति १ बजेको समयमा घरमाथिबाट आएको पहिरोले घर बगाउँदा १६ वर्षका विकास परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पहिरोले चारवटा घर बनाएको छ ।
सम्पर्क बिहीन भएको पाँचजना अहिले सम्पर्कमा आएको प्रहरीले उल्लेख गरेको छ । पहिरोका कारण १५ घर विस्थापित भएकाले सुरक्षित स्थानमा सारिएको छ ।
यसैगरी जलजला गाउँपालिका वडा नं ६ धाइरिङ्ग बास्कोटमा भीमलाल आचार्यको घर भत्कँदा उनीसहित ५ जना घाइते भएका छन् भने सो स्थानमा पनि धेरै घर जोखिममा परेका छन् ।
वर्षाका कारण मालढुंगा बेनी सडकका धेरै स्थानमा पहिरो गएका कारण सडक अबरुद्ध हुँदा सदरमुकाम कुस्माबजारबाट उद्धारमा गएको टोली घटनास्थलमा पुग्न सकेको छैन ।
जिल्लाबाट प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली त्यस तर्फ गइरहेको छ । मिलनचोक प्रहरी चौकीबाट पुगेको प्रहरी टोलीले उद्धारको काम गरिरहेको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।