सम्बन्धविच्छेदका परिवेशहरु

किन टाढिन्छन् श्रीमान-श्रीमतीहरु?

किन टाढिन्छन् श्रीमान-श्रीमतीहरु?
+
-

विवाह मण्डपमा सबै जोडीहरुले आफ्नो वैवाहिक सम्बन्ध जनमजनमको लागि होस् भन्ने सोचे पनि सबैका लागि वैवाहिक जीवन सुखद हुँदैन। नेपालमा प्रति हजार जनसंख्यामा करिब तीस जना ब्यक्तिहरु सम्बन्ध बिच्छेद गरेका वा छुट्टिभिन्न बसेका छन्। संख्यात्मक गन्ती गर्दा सन् २०११को जनगणना अनुसार नेपालमा २४,४८२ पुरुषहरु र ३८,३७८ महिलाहरु गरी लगभग ६२ हजार ५ सयजति मानिसहरु सम्बन्ध बिच्छेद गरेका वा अलग भएर बसेका छन्।

बिकसित मुलुकहरुको तुलनामा माथि उल्लेखित नेपालको तथ्यांक अत्यन्तै न्यून हो। यद्यपि नेपालमा पनि सम्बन्ध बिच्छेद गर्ने र अलग बस्नेको संख्या बर्षैपिच्छे बढ्दै गइरहेको छ। सन् २०१३ मा काठमाडौं जिल्ला अदालतमा १,८२४ सम्बन्ध बिच्छेदका मूद्दाहरु दर्ता भएका थिए जुन सन् २०१०को तथ्यांक (१,२०३) भन्दा ५१ प्रतिशत बढी हो र यो बढ्ने क्रम जारी छ।

सम्बन्ध बिच्छेद हुनुका बिभिन्न कारणहरु हुन्छन्, ती मध्ये एक प्रमुख कारण भनेको घरेलु हिंसा हो। नेपालमा हरेक तीन मध्ये एक बिबाहित महिलाले कुनै न कुनै किसिमको शारिरीक, मानसिक, यौनिक, आर्थिक वा सांस्कृतिक हिंसा भोग्दै आएको कुरा तथ्यांकले देखाउँछ। हरेक दश हिंसा पीडित महिलाहरु मध्ये सात महिलाहरुले आफूले पाएको हिंसाको अनुभव लुकाएर राखेका हुन्छन्। तर केही महिलाहरुले आफूले भोगेको समस्या घरपरिवार तथा साथीभाइलाई भन्ने गरेका पनि छन्। त्यसैगरी कतिपय महिलाहरुले कानुनी सल्लाह लिएर सम्बन्ध बिच्छेद गर्ने वा अलग बस्ने गरेका पनि छन्। त्यसैले पनि सम्बन्ध बिच्छेदलाई महिलाहरुको सशक्तिकरणको उपजको रुपमा पनि लिइन्छ। यस धारणामा केही सत्यता पक्कै पनि छ, किनकि एक चेतनशील र आत्मनिर्भर महिलाले आफूमाथि भएको हिंसा सँधै सहेर पनि बस्दैन। एक महिला आफूमा आर्थिक र मानसिक रुपमा आत्मनिर्भर र सशक्त नभइकन उसले सम्बन्ध बिच्छेद गर्ने निर्णय लिन सक्दैन। सम्बन्ध बिच्छेदको निर्णयलाई एकपक्षीय ढंगले नकारात्मक रुपमा मात्र चित्रण गर्नु पनि उचित हुँदैन। झट्ट हेर्दाखेरि सम्बन्ध बिच्छेदले सामाजिक तथा पारिवारिक बिखण्डन ल्याएको जस्तो देखिए पनि घरेलु हिंसा सहेर बसेका महिलाहरुको हक हितलाई ध्यानमा राखेर हेर्दा सम्बन्ध बिच्छेद उनीहरुको लागि मुक्तिको एक बाटो पनि हो।

एकातिर महिलाहरुले हिंसाका बिरुद्ध सम्बन्ध बिच्छेदको कदम चालेका हुन्छन् भने कतिपय परिस्थितिमा हिंसाको रुपमा नै सम्बन्ध बिच्छेद भएको हुन्छ। महिलाहरुले आफूले नचाहे पनि श्रीमान वा उनका परिवारले बाध्य बनाएर सम्बन्ध बिच्छेदको प्रकृया अघि बढाउन लगाइएको पनि हुन्छ। बिशेषगरी दम्पति निःसन्तान भएमा, दाइजो नपुगेको निहुँमा, श्रीमान वा श्रीमती बिदेशमा बसेको अवस्थामा, श्रीमानले अर्की स्त्रीसँग बिबाह गरेको वा गर्न खोजेको जस्तो अवस्थाहरुमा श्रीमतीहरुलाई जबरजस्ती सम्बन्ध बिच्छेदको लागि दबाब दिइएको पनि पाइन्छ। कहिलेकाहिँ श्रीमतीहरुलाई झुक्काएर वा ललाइफकाइ पनि सम्बन्ध बिच्छेद गरिदिएका घटनाहरु पनि सुनिन्छ। उदाहरणका लागि एक महिलालाई उनका श्रीमानले बिदेशमा रहँदा भिसा बढाउन उनीसँग कागजीरुपमा सम्बन्ध बिच्छेद गर्नु परेको भनेर फकाएर सम्बन्ध बिच्छेद गराई आफूले बिदेशमा अर्को बिबाह गरेका थिए।

हुन त नेपाली समाजमा सम्बन्ध बिच्छेद गर्न हत्तपत्त सजिलो छैन, किनभने हाम्रा लागि बिबाह ब्यक्तिगत कुरा मात्र होइन। यसलाई धार्मिक, सामाजिक, तथा सांस्कृतिक महत्वका साथ हेरिन्छ। सबैभन्दा महत्वपूर्ण कुरा त बिबाहलाई मानिसको इज्जतसँग जोडिन्छ। त्यसैले पनि बैबाहिक सम्बन्ध चाहे राम्रो होस् या नराम्रो होस्, मानिसहरु सम्बन्ध बिच्छेद गर्न हिच्किचाउँछन्। समाजले सम्बन्ध बिच्छेद गरेका मानिसहरुलाई अझैपनि राम्रो दृष्टिकोणले हेर्दैन। उहाँहरुलाई समाजले कि त दुखी देख्न खोज्छ कि त उच्छृंखल भनेर दोष लगाउँछ। जस्तो उदाहरणको लागि सम्बन्ध बिच्छेद गरेका महिलाहरुले आफ्नो इच्छा तथा रहर अनुसार नाचगान गर्‍यो, घुमघाम गर्‍यो, खुशी भएर आफ्नो जीवन बितायो भने ‘ए त्यस्तै मनपरी नानाभाँती गर्न नपाएर सम्बन्ध बिच्छेद गरेकी रहिछ’ भनेर निरुत्साहित गर्ने गरिन्छ। तर समाजको अपेक्षा बिपरित सम्बन्ध बिच्छेद गरेका मानिसहरुको जीवन सुन्दर पनि भएको हुन्छ। मैले यस लेख तयार पार्दा सम्बन्ध बिच्छेद गरि बसेका केही महिला र पुरुषहरुसँग छलफल गरेको थिएँ। उहाँहरुले सम्बन्ध बिच्छेदलाई सकारात्मक रुपमा लिनुभएको पाइयो। सम्बन्ध बिच्छेदपछि आफूहरुको जीवनले नयाँ मोड लिएको, हिंसाबाट मुक्ति पाएको र आफूहरु तुलनात्मक रुपमा खुशी भएको अभिब्यक्ति उहाँहरुले दिनुभएको थियो।

सम्बन्ध बिच्छेद गरिसकेपछि चाहे ऊ महिला होस् वा पुरुष होस्, सबैले आफ्नो जीवनलाई पुनर्स्थापना गर्न प्रयास गर्छन्। कतिपय मानिसहरुले पुनर्विवाह गर्दछन्। यसरी पुनर्विवाह गर्नेहरुमा महिलाहरुको भन्दा पुरुषहरुको संख्या बढी छ। महिलाहरुलाई भन्दा पुरुषहरुलाई सामाजिक र पारिवारिक रुपमा पुनर्विवाह गर्न प्रेरित पनि गरिन्छ। सम्बन्ध बिच्छेद गरेका महिलाहरुको हकमा भने पुनर्विवाहका लागि अझै पनि समाज उदार छैन। अझै पनि ‘ढोका फेरिए पनि भाग्य फेरिँदैन’ भन्ने जस्ता उखानहरु प्रयोग गरेर पुनर्बिबाहको कुनै औचित्य नभएको वा यस्तो गर्नु जोखिमपूर्ण हुने भन्ने जस्ता अनुमानहरु लगाइन्छ। तर यस्ता उखानहरु भाग्य र दुर्भाग्यका कुरा भन्दा पनि पितृसत्तात्मक समाजमा महिलाहरुलाई नियन्त्रण गर्न प्रयोग गरिएको एक माध्यमका रुपमा मात्र लिन सकिन्छ। यी सबै सामाजिक बाधा ब्याबधानहरुका बाबजुद पनि कति महिलाहरुले पुनर्विवाह गरेका पनि छन्। यद्यपि, कतिपय सम्बन्ध बिच्छेद गरेका महिलाहरु आफ्नो पिडादायी पूर्ववैवाहिक जीवन सम्झेर बरु एक्लै स्वतन्त्र जिवन बिताउने निर्णय पनि गर्दछन्। यसै सन्दर्भमा एक महिलाले भन्नुभएको थियो, ‘भो बा पुग्यो अब फेरी कट्टु र गन्जी धोएर बस्नुछैन।’ उनको यस भनाइले अझै पनि नेपालमा श्रीमतीले श्रीमानको सेवा गरोस् भन्ने अपेक्षा कायम नै रहेको यथार्थ दर्साउँछ। साथै यो श्रीमान् र श्रीमतीबीचको शक्तिको असन्तुलन तथा विभेदपुर्ण सम्बन्ध पनि सम्बन्ध बिच्छेदको एक आधारभूत कारण हुन सक्छ।

जुनसुकै कारणले सम्बन्ध बिच्छेद भएको भए पनि, सम्बन्ध बिच्छेद गरेका ब्यक्तिहरुलाई समाजले अनेक लान्छनाहरु लगाउने गर्दछन्, जस्तो उदाहरणको लागि श्रीमतीलाई खुशी राख्न सकेन भन्ने, घर गरेर खान सकेन भन्ने, श्रीमान रिझाउन सकेन भन्ने, नामर्द भयो भन्ने, स्वतन्त्रता खोज्यो भन्ने, परस्त्रीसँग लसपस भयो भन्ने आदि इत्यादि। यस्ता लान्छनाहरुबाट पुरुषहरु पनि अछुतो त हुँदैन, यद्यपि महिलाहरु पुरुषहरुभन्दा बढी पीडित हुन्छन्।

हिजोआज बेलाबेलामा प्रख्यात ब्यक्तिहरु सम्बन्ध विच्छेदहरुका समाचार पढ्न र हेर्न पाइन्छ। त्यस्ता समाचारहरुमा मानिसहरुले आफ्ना धारणाहरु कमेन्ट मार्फत पोखेका पनि हुन्छन्। यस्ता कमेन्टहरु हेर्दाखेरी मानिसहरु पुरुषप्रति भन्दा पनि महिलाहरुप्रति आक्रोशित भएको पाइन्छ। महिलाहरुलाई तथानाम अश्लील गाली गलौज गर्ने गरेको पनि पाइन्छ। अझ महत्वपूर्ण कुरा त यसरी सामाजिक सञ्जालमा युवाहरु बढी सक्रिय भएको पाइन्छ। यस्ता नकारात्मक धारणाहरु हेर्दा, पढ्दा, सुन्दा नयाँ पुस्तामा पनि लैंगिक विभेदकारी सोचाइहरु ब्याप्त रहेछ भनेर सोच्न बाध्य बनाउँछ। त्यसैगरि देशका नीतिगत तहमा महिला सशक्तीकरणका लागि जुन परिवर्तनहरु भएका छन्, त्यसको चेतना युवाबर्गमा अझै फैलाउन जरुरी भएको आवश्यकता पनि दर्शाउँछ। यसरी सम्बन्धित मानिसहरुको आन्तरिक मामिला नबुझी तथानाम लान्छना लगाउनु नेपाली समाजको लागि साँच्चै दुर्भाग्यपूर्ण पाटो हो।

महिलाहरुले भोग्ने बिभिन्न लान्छनाहरु मध्ये प्रमुख लान्छना पैसाको लागि सम्बन्ध बिच्छेद गर्‍यो भनिनु हो। यस्ता लान्छनाका बाबजुद सम्बन्ध बिच्छेद गरेका महिलाहरुको यथार्थ भने भिन्न हुन्छ। धेरैजसो महिलाहरुले कुनै पनि किसिमको सम्पति दाबी गरेकै हुँदैनन्। बिशेषगरी घरेलु हिंसा पीडित महिलाहरुका हकमा कुरा गर्दा उहाँहरुलाई सम्पति दाबी गरेर लामो प्रकृया गर्नुभन्दा कसरी त्यो हिंसाबाट सकेसम्म छिटो मुक्ति मिलोस् भन्ने महत्वपूर्ण हुन्छ। त्यसैले सम्पतिको मुख नहेरिकन छिटोभन्दा छिटो सम्बन्ध टुंगाउनतिर उहाँहरु लाग्नुहुन्छ।

त्यसैगरी महिलाहरुले सामाजिक लान्छनाको डरले पनि सम्पति लिन खोजेका हुँदैनन्। एकातिर सम्पति दाबी गर्न खोजिएको हुँदैन भने अर्कोतिर दिन खोजिएको पनि हुँदैन। सम्पति पाउने महिलाहरुले पनि निकै दुख गरेर पाएको हुन्छ। यसैसँग सम्बन्धित एक महिलाको घटना यहाँहरुसमक्ष राख्न चाहन्छु। ती महिलालाई उनका श्रीमानले दोस्रो बिबाह गरेपछि जबरजस्ती सम्बन्ध बिच्छेद गराइयो र उनलाई सम्पतिको नाममा दुईआना जतिको जग्गा पनि दियो। तर त्यो जग्गा चाहिँ उनको श्रीमानको जग्गाको बीचमा थियो जहाँ जानको लागि कुनै बाटो नै थिएन। त्यसरी उनले कागजमा सम्पति पाएपनि त्यसको भोगचलन गर्न पाएन। त्यसबाहेक कतिपय महिलाहरुले बच्चा आफूसँग रह्यो भने बच्चाको नाममा सम्पति पाएका हुन्छन्। यसरी बच्चालाई सम्पति दिनुपर्दछ भनेर बच्चा नै आमालाई नदिने गरेको पनि पाइन्छ। यी त भए समाजमा हामीले देखेका कुराहरु, तर कानुनी रुपमा सम्बन्ध बिच्छेद गर्दा महिलाले श्रीमानको अंश र सम्पतिबाट आफ्नो अंश पाउँछ। त्यसरी पाएको अंश यदि महिलाले पुनर्विवाह गरेको अवस्थामा पनि उसको आफ्नै हक हुन्छ। सम्पतिका बारेमा सम्बन्ध बिच्छेद गरेका महिलाहरुको सुझाब पनि यहि छ कि अंश लिएर मात्रै अंशबण्डा गर्नुपर्दछ। किनभने नेपालमा अंश वा पैतृक सम्पति भनेको आर्थिक श्रोतको प्रमुख हिस्सा हो। अंश लिनु प्रकृयागत रुपमा झन्झटिलो भएपनि अंश त्यागिदिँदा कठिन आर्थिक चूनौतीहरु भोग्नुपर्ने हुन सक्दछ।
सम्पतिको कुरा बाहेक सम्बन्ध बिच्छेद गरेका महिलाहरुको चरित्रमा पनि प्रश्नचिन्ह खडा गरिन्छ। कतिपय अवस्थामा ती महिलाको पहिले नै ब्वाइफ्रेन्ड भएको, त्यसैले सम्बन्ध बिच्छेद गरेको भनेर हल्ला फिजाइन्छ।

जब श्रीमान् र श्रीमतीबिच आपसी सद्भाब, सम्मान र संवाद हुँदैन, तब सम्बन्धहरु बिस्तारै टाढिँदै जान्छन्। हाम्रो धार्मिक तथा सांस्कृतिक परम्परा अनुसार श्रीमानलाई देवता जस्तो मान्नु भनेर भनिन्छ, तर आजको आधुनिक समाजमा श्रीमतीहरुको अपेक्षा आफ्नो श्रीमान साथी जस्तो होस् भन्ने हुन्छ।

यसै सन्दर्भमा एक सम्बन्ध बिच्छेद गरेकी महिलालाई मैले यसबारेमा सोध्दा उनले गलल हाँसेर जवाफ दिएकी थिइन्, ‘कास भइदिएको भए!’ उनको जवाफ सुनेर म एकैछिन सोचमग्न भएको थिएँ। जब श्रीमान् र श्रीमतीबिच आपसी सद्भाब, सम्मान र संवाद हुँदैन, तब सम्बन्धहरु बिस्तारै टाढिँदै जान्छन्। हाम्रो धार्मिक तथा सांस्कृतिक परम्परा अनुसार श्रीमानलाई देवता जस्तो मान्नु भनेर भनिन्छ, तर आजको आधुनिक समाजमा श्रीमतीहरुको अपेक्षा आफ्नो श्रीमान साथी जस्तो होस् भन्ने हुन्छ। यो अपेक्षा मात्र होइन, श्रीमान र श्रीमतीबीच लैंगिक बिभेद नहुनु आजको समाजको बिकास र समृद्धिको लागि अपरिहार्य आवश्यकता पनि हो। त्यस अलावा यसरी ब्वाइफ्रेन्डको लान्छना लाग्नुमा केही कानुनी कारण पनि हुन सक्दछ। नेपालको कानुनमा पुरुषले सम्बन्ध बिच्छेदको प्रकृया सुरु गर्न गाह्रो हुन्छ। यसका लागि केही बिशेष परिस्थितिहरु मात्र दिइएको छ। ती मध्ये एक परिस्थिति भनेको महिलाको परपुरुषसँग सम्बन्ध रहेको खण्डमा सम्बन्ध बिच्छेद गर्न पाइन्छ भनेको छ। त्यसैले पनि महिलाहरुलाई पुरुषले सम्बन्ध बिच्छेद गर्न चाहेको खण्डमा वा अंश दिन नखोजेको अवस्थामा पनि यस्ता लान्छनाहरु लगाइन्छ।

सम्बन्ध बिच्छेद हुनु एक दुखद घटना हो। तर वैवाहिक जीवन कष्टकर छ, घरेलु हिंसा भइरहेको छ, अनेक कोशिसका बाबजुद पनि सम्बन्ध सुधार भएको छैन भने सम्बन्ध बिच्छेद हिंसामुक्तिको बाटो र नयाँ जीवन शुरु गर्ने एक अवसर पनि हो। हाम्रो मुल्य मान्यता अनुसार सकेसम्म एक पटक जोडिएको सम्बन्ध नटुटोस् भनेर चाहे पनि, वैज्ञानिक अध्ययन अनुसन्धानहरुले हिंसा सहेर बस्नु हुँदैन र हिंसात्मक वातावरणलाई सकेसम्म चाँडो त्याग्नुपर्दछ भन्ने देखाएको छ। यसको मुख्य कारण के हो भने अन्तर सम्बन्धीय हिंसाको प्रवृत्ति बढ्दैबढ्दै जाने खालको हुन्छ र यसले अन्ततः जिउज्यान समेत लिन सक्दछ। त्यसैले हिंसाको बोध हुने बित्तिकै नै हिंसा न्यूनीकरणको लागि पहल चालिनुपर्दछ। बिभिन्न कोशिसका बाबजुद पनि हिंसाले निरन्तरता पाइरह्यो भने एउटै भान्छामा चुठ्नुको र एउटै छानामुनि सुत्नुको कुनै औचित्य हुँदैन। सँधैको कलहमा बाँच्नुभन्दा कि त दुबै मिलेर समाधानको पहल गर्नु पर्दछ, कि त समझदारीमा आफ्नोआफ्नो बाटोमा लाग्नुपर्दछ।

सम्बन्ध बिच्छेद भइसकेपछि यसलाई सहज रुपमा ब्यबस्थापन गर्नु पनि अत्यन्त महत्वपूर्ण हुन्छ। यसका लागि पूर्वश्रीमान् र पूर्व श्रीमती दुबैको अपरिहार्य भूमिका हुन्छ। बिशेषगरि बालबालिकाहरु छन् भने उनीहरु वयस्क नहुन्जेल दुबैले मिलिजुली सहअभिभावकत्व लिनुपर्दछ। नेपालमा के देखिन्छ भने बच्चाहरु जोसँग बस्दछ उसले अर्को आमा वा बुबालाई देखभेट गर्न नियन्त्रण गरेको पनि पाइन्छ। त्यसैगरी एक अभिभाबकले बच्चालाई अर्का अभिभाबकका बारेमा नकारात्मक कुराहरु भन्ने गरेको पनि पाइन्छ। यसो गर्दा बालबालिकाहरुको मनोबिज्ञानमा गम्भीर असर पर्दछ। पछि गएर उनीहरु कुलत तथा दुर्व्यसनीमा फस्ने, अध्ययन राम्रोसँग गर्न नसक्ने, व्यवसायिक जीवन राम्रोसँग अघि बढाउन नसक्ने तथा आफै हिंसामा पर्ने वा हिंसा गर्ने समेत हुन सक्दछ। त्यसैले हरेक सम्बन्ध बिच्छेद गरेका दम्पतिहरुले आफ्नो व्यक्तिगत रिस, राग, र अहंकारभन्दा माथि उठेर सहअभिभाबकत्वको महत्व बेलैमा बुझ्नुपर्दछ।

अन्तमा, समाज र परिवारका मानिसहरुले पनि सम्बन्ध बिच्छेद गरेका महिला होस् वा पुरुष दुबैलाई उहाँहरुको सम्बेदनशील घडीमा सहयोग तथा साथ दिनु पर्दछ। उहाँहरुले लिएको निर्णयलाई सम्मान गर्नुपर्दछ। प्रायजसो हामी मिलेर बस्नु पर्ने भनेर आदर्शका कुरा गर्दछौं। तर जुन दम्पतिहरुले निरन्तर कुटपिट, गालीगलौज, यौन दुर्व्यहार, वैवाहिक बलात्कारआदि जस्ता पीडा भोगेका हुन्छन्, उहाँहरुको पीडालाई नजर अन्दाज गर्न मिल्दैन। कतिपय अवस्थामा मानिसहरु आफूले भए एकछिन पनि सहन नसक्ने घटनाहरु अरुलाई जीवनभर सहनुपर्छ भनी आदर्शका उपदेश दिन्छन्। हिंसामुक्त समाज निर्माणका लागि यस्ता असंवेदनशील प्रवृत्तिहरुको अन्त हुनुपर्दछ। चाहे त्यो महिला होस् वा पुरुषले उसले हिंसा भोगेको छ भने कानुनी रुपमा न्याय पाउनुपर्दछ र कानुनको पालना गर्न आफन्त, साथीभाइ, तथा समाजका मानिसहरुले सहयोगी भूमिका खेल्नु पर्दछ।

(लेखिका ‘वान पर्सन क्यान मेक अ चेन्ज’ अर्थात ‘ओपीसीएमसी’ शीर्षकमा लैगिंक विभेद न्यूनीकरण र स्वस्थ अन्तरसम्बन्ध प्रवर्द्धनको लागि थालनी गरिएको सामाजिक सञ्जाल अभियानका मुख्य अभियन्ता हुन्।)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?