
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी, नेकपाले जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौँ ल्याउने निर्णय गरेको छ ।
डा. केसी अनशनरत कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानले यनको उपचार अब आफूहरुले गर्न सक्ने अवस्थामा नरहेको बताए लगत्तै बुधबार राति बसेको नेकपा सचिवालयकाे आकश्मिक बैठकले यस्तो निर्णय गरेको हो । जुम्लामा २० दिनदेखि अनशनरत डा. केसीको जीवनरक्षाका लागि तत्कालै उनलाई सुविधासम्पन्न अस्पतालमा उपचारका लागि ल्याउने निर्णय गरेको हो।
डा. केसीलाई काठमाडौँ ल्याउने र उनका माग बारे खुल्ला छलफल गर्ने निर्णय नेकपाले गरेको हो । चिकित्सा शिक्षा विधेयक अध्यायादेश अनुसार नै हुनु पर्नेसहितका माग गरेर डा. केसी अनशनमा छन् ।
वार्ताको प्रयास भएका छन् तर सहमति जुट्न सकेको छैन । डा. केसी पक्षले कर्मचारीको टोलीलाई पूर्ण अधिकार नभएको भन्दै बुधबार मन्त्रीस्तरमा मात्र वार्ता गर्ने बताएका थिए ।
बालुवाटारमा नेकपाको आकश्मिक बैठक बसेर डा. केसीको स्वास्थ्य अवस्थाबारे छलफल भएको र उनलाई काठमाडौँ ल्याउने निर्णय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता श्रेष्ठ र शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतका नेता सहभागी बैठकले केसी समर्थकसँग त्यसबारे तत्काल समन्वय गर्ने निर्णय गरेको पनि गरेकाे छ।
डा. केसीलाई बिहीबार बिहान हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी छ । यसैबिच सरकारले केसीलाई ल्याउनेबारे औपचारिक जानकारी दिन र उनका माग बारे धारणा राख्न शिक्षा, विज्ञान तथा प्रविधि गिरिराजमणि पोखरेलले पत्रकार सम्मेलन गर्दैछन् ।