
पोखरा- प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेश प्राकृतिक सुन्दरतादेखि स्रोत साधनले भरिपूर्ण भएको असाधारण एवं विचित्रको प्रदेश भएको बताएका छन्। विहिबार प्रदेश सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सातवटा प्रदेशको तुलनामा गण्डकी प्रदेश हरेक दृष्टिकोणबाट उत्कृष्ट रहेको र विकासको प्रचुर सम्भावना रहेको बताएका हुन्।
उनले गण्डकी सभ्यताको शुरुवात स्थल भएको भन्दै धार्मिक, पौराणिक, ऐतिहासिक, सांस्कृतिक, भाषिक, प्राकृतिक एवं जैविक विविधता युक्त रहेको असाधारण सौन्दर्यले गण्डकी प्रदेश श्रृगांरिएको बताए। विभिन्न जडिबुटीदेखि पर्यटकको पर्याप्त सम्भावना रहेकाले गण्डकी प्रदेशको विकास र समृद्धि छिट्टै हुने विश्वास व्यक्त गरे।
उनले खनिज पदार्थ मिसिएको मिनरल वाटर नेपालबाहेक अन्त नपाइने भन्दै रेल आए पछि उताबाट सामान आउँछ त्यहि रेलमा यताबाट मिनरल बाटर निर्यात हुने बताए । उनले भने ‘मूलको पानी स्प्रीङ वाटर हुन्छ, जुन मिनरल वाटर हो । संसारमा कही खोजे पनि यो पाइदैन, यहीँ मात्रै हो । यसैको ब्यापारमा गरे पुग्छ ।’
उनले अहिलेका मिनरल वाटर झुठो प्रचारमात्र भएको बताए । उनले गण्डकी प्रदेश हरेक क्षेत्रमा सम्भावना बोकेको क्षेत्र भएको चर्चा गरे। उनले फिल्म सिटी पनि गण्डकीमा सबैभन्दा बढी उपयुक्त हुने भन्दै भारतीय कलाकारहरु यसको अध्ययन अवलोकनमा नेपाल आउन लागेको जानाकारी दिए । उनले तुइन विस्थापितको कार्यलाई तिव्रता दिएको भन्दै तुइनको ठाउँमा केवलकारले सजाईने बताए।
उनले मुलुक नयाँ संरचना र नयाँ अभ्यासबाट अघि बढिरहेकाले अरुको देखासिकी भन्दा आफ्नै विशेषतालाई उपयोग गर्दै अघि बढ्नु पर्ने बताए। उनले भने ‘अरुको अनुभव जस्ताको तस्तै लागु हुन सक्दैन, हाम्रो आफ्नै विशेषता छन् सोही अनुरुप अघि बढ्नुपर्छ ’ शिक्षा, स्वास्थ्य र पर्यटनको हब रहेको गण्डकी प्रदेशमा कृृषि, जैविक विविधतालाई जोड दिएर अगाडि बढ्न आग्रह गरे। चिन र भारतलाई लक्षित गर्दै उनले भने ‘हाम्रो अघि ठुला ठुला बजार छन्, मात्र हामीले उत्पादन गर्नुपर्छ। हाम्रो उत्पादनको माग छ।
उनले यस वर्ष ८ प्रतिशत उत्पादन आय वृद्धि गर्ने बताए। सरकारले खानीको अन्वेषण गर्ने, ऊर्जाको अधिकतम प्रयोग गर्दै उद्योगलाई चाहिने विद्युत उत्पादन गरी विक्रि गरीने बताए। उनले लोकतान्त्रिक विधिलाई आत्मसात गर्दै पछाडि परेको चेतनालाई अगाडि ल्याएर सामाजिक जागरणको उत्थानको निम्ति सरकार लागि परेको बताए।
समाज समृद्ध हुन सुशासनको भुमिका औल्याउँदै भ्रष्टाचार रहित समाजमा विकास छिटो हुनेमा जोड दिए।उनले गण्डकी प्रदेशको समग्र विकासलाई केन्द्रविन्दुमा राखेर यहाँको स्रोत साधनको अधिकतम उपयोग गरेर अघि बढ्न गण्डकी प्रदेश सरकारलाई आग्रह गरे।
विहिबार विहान पोखरामा निर्माणाधिन क्षेत्रीय अन्तराष्ट्रिय विमान स्थलको प्रधानमन्त्री ओलीले अनुगमनको निरिक्षण गर्दै राष्ट्रिय गौरबका आयोजनाहरुमा अनुगममाथि पनि अनुगमन शुरु गरको बताए।
अनुगमनमा पनि केही शंकास्पद गतिविधि देखापरेका कारण मन्त्री परिषदको निर्णय अनुसार सो कार्य प्रारम्भ गरिएको जनाए।अनुगमनको क्रममा आयोजनासँग सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिदै ओलीले निधारित समयमानै तोकिएको गुणस्तरको निर्माण कार्य सम्पन्न गर्नुपर्ने बताए।
त्यस लगत्तै पोखरा विश्वविद्यालयको कुलपति समेत रहेका प्रधानमन्त्रि केपी शर्मा ओलिक सो विश्वविद्यालयको सिनेटर बैठकमा सहभागिता जनाएका थिए। विश्वविद्यालयले नितिगत, आर्थिक, भौतिक, शैक्षिक र प्रशासनिक विषयमा आठ बुँदे प्रस्तावपत्र पारित गरेको छ।