
काठमाडौँ – डा. गोविन्द केसीको अनसनको २५ औँ दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीसँग वार्ता गर्न लचकता देखाएका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार बिहान डा. केसीसँग वार्ता गर्न नेता सुवास नेम्वाङलाई निर्देशन दिएका नेकपाका एक नेताले जानकारी दिए । उनका अनुसार डा. केसीपक्षसँग नेता नेम्वाङले मंगलबार नै अनौपचारीक वार्ता गर्नेछन् ।
प्रधानमन्त्रीले नेता नेम्वाङलाई वार्ता गर्न निर्देशन दिएपछि केसी पक्षले पनि वार्ताका लागि तयारी गरेको छ ।
सरकारले वार्ताका लागि लचकता देखाएको र अनौपचारीक वार्ताको तयारी गरेपछि डा. केसीका तर्फबाट चिकित्सक जीवन क्षेत्री र अभिशेक सिंहले मंगलबार नै नेम्वाङलाई भेट्ने बुझिएको छ । नेता नेम्वाङसँग उनीहरुले डा.केसीको माग कसरी सम्बोधन गर्ने भन्नेमा छलफल गर्नेछन्।
चिकित्सा शिक्षामा सुधारको माग गर्दै सत्याग्रहमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ । डा. केसीको सत्याग्रह यसअघिका भन्दा लामो हुँदै जाँदा उनको स्वास्थ्यमा देखिएको जटिलता पनि थपिँदै गएको हो ।