
जनरल भीमसेन थापाको जन्म शाक १६९७ श्रावण कृष्ण नवमी भरणी नक्षत्र श्रावण ९ गते शुक्रबार र (सम्वत् १८९६ श्रावणमा देहत्याग) यो (विद्वच्छिरोमणि हेमराज शर्माको गोरखा सम्बन्धी अनुसन्धान पृ. ३९ मा उल्लेख भएको छ। यही नै व्यहोरा प्रसिद्ध ज्योतिषी भगीरथ जैसी नामको पुस्तकमा पनि (पृष्ठ ९१) छ।
दुवै पुस्तक प्रसिद्ध इतिहासकार एवं प्राज्ञ दिनेशराज पन्तज्यूबाट सम्पादित हुन्। पहिलो डा. ठाकुरनाथ पंत स्मृति गुठी, काठमाडौं (वि.सं. २०६५ माघ १३ गते लुष प्रेसबाट) र खिलसर्म –राजिवलोचन जोशी स्मारक प्रतिष्ठान (वि.सं. २०७२ पौष १ गते कविशिरोमणि राजिवलोचन जोशीको ८७ औं स्मृति दिवस), श्री प्रेस, जावलाखेलको मुद्राणमा प्रकाशित भेटिन्छ।
बगाले थापा परिवारकै प्रसिद्ध इतिहासकार शमशेर बहादुर थापाद्वारा लिखित, जगदम्बा प्रकाशन मालाको बयालिसौँ ग्रन्थ (४२) २०३३ सालमा रणवीर सिंह थापा उनै भीमसेन थापाकी आमा जेठी मुख्यानी सत्यरुपाबाट जन्मेका कान्छा भाइका विषयमा लेखिएको पुस्तकमा पनि भीमसेनको जन्म १८३२-१८९६ जनिएको छ। यी महापुरुषहरुका जन्मपत्रिका उनै प्रसिद्ध ज्योतिषी गोर्खा लकाङ्गकोट बस्ने भगीरथ जैसीकै भएकोमा आफूलाई कुनै शंका उत्पन्न हुन्न।
प्रसिद्ध साहित्य सेवी नेपाली भाषाका प्रकाशनहरुका अनन्त संग्रहकर्ता आदरणीय श्री शिव रेग्मीले मलाई भगीरथ जैसी किन चर्चामा नपाइएको ? भनी मलाई बराबर सम्झाउँदै आफूसँग भएको ऐतिहासिक पत्र संग्रह (सम्पादक धनबज्र बज्राचार्य-ज्ञानमणि नेपाल सम्पादित) नेपाल–सांस्कृतिक परिषद पत्रिका अंक ४ र ५ को संयुक्ताङ्क (प्रबन्धक ईश्वर बराल) २०१४ र प्राचीन नेपाल (पुरातत्व विभागको द्वैमासिक मुखपत्र संख्या १४३ (आषाढ २०५६) श्रीमती ऋद्धिप्रधान, श्रीमती सानीमैया राणा र चन्द्र प्रसाद त्रिपाठी सम्पादित) कृति पनि दिनुभएको थियो।
आफ्ना जिजुबाजे भगीरथ जैसी तात्कालीन भाराधार बस्न्यात, पाण्डे, थापा परिवारका साथमा एकीकरणको प्रत्येक युद्धभूमिमा रही गर्नु भएका ऐतिहासिक कार्यहरु यसरी छोपिन पुगेको देखेर हामी पनि अचम्ममा नै थियौँ। यसपछि आफ्ना परिवारका संग्रहबाट पनि पाइए जति सामग्री खोजी नीति अध्ययन गरिँदै यस सिलसिलामा प्राचीन–नेपालमा प्रकाशित “बिग्रेको साइतमा काँगडाको युद्ध” शिर्षक दिई इतिहासविज्ञ विदुषी श्रीमती इन्दिरा जोशीज्यूको अनुसन्धित लेखतर्फ पनि आकर्षित भइयो।
सो लेखमा “भगीरथ जैसीले संकेत गरेझैँ साइत नपरेकै अनुभूति हुनु स्वाभाविकै देखिन्छ।” शब्दले भगीरथको महत्वपूर्ण भूमिका के रहेछ र चार–चार वर्षसम्म काँगडा दुर्गलाई गोर्खालीहरुले घेरामा राख्दा पनि कब्जा गर्न नसकेको विषय बुझियो भगीरथ जैसीकै साइत (?) या भनुँ युद्ध योजनाले नै एकीकरणका तमाम युद्ध फत्य भई राज्य विस्तार भएका सत्य तथ्य बुझ्न बाध्य गरायो। उनी युद्धविद योजनाकार र राज सल्लाहकार थिए।
गोर्खाको सिमाना लमजुङ र मर्स्याङ्दी नदी पश्चिमका चौबिसी र बाइसि राज्य, उत्तरका भोटका (स्यागार्चे, डीगर्चा र प्राचीन हाम्रो हुमला राज्यका पाल अधिनस्थ) तिब्बती प्रदेश र दक्षिण गंगानदी र पूर्व तर्फका मैथिल प्रदेश समेत अनेक विशाल प्रदेशहरु मिलाउँदै हिन्दू अधिराज्य गोर्खा एकीकरण गर्ने सम्पूर्ण युद्धका सहभागी युद्धविद भगीरथ नै थिए।
उनको योजना, युद्ध परामर्श अनुसारनै राज्य चल्थ्यो। उनी आफै र आफ्ना छोरानाति लिई युद्धमा रहन्थे। छोरा र नाति पनि एकीकरण युद्धमै गुमाएका भगीरथ जैसीले नै गोरखा सरोकारको काँगडा पश्चात काश्मीर आदि प्रदेश पारसम्म गोर्खाको राज्य बनाई कैलाश मानसरोवर सिमा पुर्याउने लक्ष्य अनुसार भएको युद्ध हो। काँगडा क्षेत्रका अनेक साना राज्यहरु एक एक गरी गोर्खा राज्यमा विलय भइसकेकाले गोर्खा खुव बलियो बनेको बखत पनि ४/४ वर्षसम्म घेरा हाली बस्दा पनि काँगडा हातबाट फुस्केर फर्कनु परेको सुन्दा पत्यार नलाग्न सक्छ।
तर खोज्दै गर्दा त्यही ताका भगीरथ जैसीको जागीर खोसी सम्पूर्ण राज्यबाट दिएका जायजेथा समेत खोसेर उनको पदमा अरुलाई खाँगी दिँदै बेघरवार बनाएको सत्य भेटिन्छ। काँगडाकै युद्ध विजय गर्न निमित्त जनरल भिमसेन थापाका माहिला भाइ महानयोद्धा नयनसिंह थापाको मृत्यु आदि दुःखदायी घटनाहरु इतिहासकारले बुझेर या नबुझेर प्रकाशमा नल्याएको होला बुझिदैन सत्यनै त्यही हो। नयनसिंहको सामान्य रुपमा मृत्युवरण भएको जस्तो दृश्य मात्र प्रस्तुत गरेको लाग्दछ। (इ.प्र.सं.सं. भाग १ पृष्ठ ३१०, ३११ र ३१९, ३२०) स्मरणीय छन्।
भगीरथ जैसीकै उपस्थिति अनिवार्य सम्झी जनरल भीमसेन थापा र पिता अमरसिंह, भगीरथलाई भेट्न गोर्खा नै जानु परेको थियो।
त्यसपछि पुनः पाल्पा क्षेत्र र केन्द्रीय राजकाजमा देखिएका छन्। प्राचीन नेपाल (२४ संख्याको पृ. १९, २०) को वंशावली वर्णन प्रसिद्ध ज्योतिषी भगीरथ जैसी पृ. ७८ परिशिष्ठ ५० अनुसार अंग्रेज–गोर्खा युद्ध संचालन गोर्खाको विजय गराउन सफल देखिन्छन्। युद्ध शुरु हुन मैन्हा दिन बाँकी रहँदा भीमसेन पिता जनरल अमरसिंह थापा को अकस्मात निधन हुन गयो।
युद्धमा होमिएका सेना र राजकाजको बागडोर लिएका सबै प्रमुखहरुलाई निकै अप्ठेरो परेको थियो। त्यस समयमा पनि त्यो विपद सम्हाल्न राजाज्ञानुसार भगीरथ पाल्पानै बस्छन् । फलतः महाकाली पूर्वका पाल्पा मातहतका प्रदेश बचाउने श्रेयको बदला इतिहासमा उनको नामनै उल्लेख नगर्नु एउटा विडम्बना लाग्दैछ । तिनताक बनारसबाट नेपाल पस्ने उसबेलाको चलन चल्तिको बाटो बढनी (कृश्ननगर) नजिकै हुँदा अंगरेजले बुटवल प्रवेश गर्ने उक्त नाका (बहादुरगन्ज किल्ला) कब्जा गरेका थिए । प्रसिद्ध ज्योतिषी भगीरथ पृ. ८८ (परिशिष्ट ५७)
भीमसेन थापाका समय प्रत्येक राजपाठ देखि उनका निजी बागदरबार निर्माणमा पनि भगीरथ स्वयम् र उनका पुत्रहरु देखिन्छन् । एउटा जीर्ण कागजको टुक्रामा बागदरबार निर्माण कार्यमा प्रयोग हुने चुना, सुर्की आदि सामग्रीको लगत भेटिन्छ । अत्यन्त जीर्णरुपमा प्राप्त उक्त लगत खेश्रा हुनुपर्छ । त्यसको साफी शायद जनरललाई देखाइएको हुन सक्छ । त्यसले एउटै कुरा बुझिन्छ भगीरथ र थापा परिवारका अत्यन्त निकट सम्बन्ध रहेको संकेत गर्दछ ।
शमशरेबहादुर थापाको रणवीर सिंह थापा स्वामी अमयानंद पुस्तकको प्रारम्भमा थापा वंशलताको ६६ श्लोक (रणवीर सिंह थापा पृ. २, ३,४,५) मनन् योग्य छ । यो अमरनारायण मन्दिरमा रहेको ताम्रापत्रमा लेखिएको प्रतिलिपी गोर्खा बोर्लाङ्ग निवासी श्री लालजंग थापाबाट पाएर प्रकाश गरिएको लेखकको भनाई छ । यो कविता जनरल अमरसिंह थापाका साथ रहेका उनै प्रसिद्ध ज्योतिषी भगीरथ जैसीबाटै लेखिएकोमा किन संदेह गर्नु ? पिता अमरसिंहले भगीरथ जैसीलाई पाल्पा गोर्खामा विलय पछि पाल्पाको प्रभासको ८।६।५।३ खेत र धरमपानी घर घडेरी वनबनेला टीका विर्ता सबैनै राजाबाट दिएका हुन् । (बुवा ! उत्प्रेक्षा, उत्स्मय प्रतिबोध अनुसूचि खण्ड– “जीवनी खण्ड सम्बन्धी केही कागजात पृ. ४५९ लेखक म स्वयम् चैतन्यराज देवकोटा) ।
धरमपानी र प्रभासको ठूलो भूमि घर घडेरी वन बनेला उनले टिका विर्ता दिलाएको बाट उनी अति निकट देखिन्छन् । पाल्पाका अतिरिक्त बुटवल पाल्ही, माझखण्ड, स्यूराज खजनी आदि स्थानमा हजारौँ विघा विर्ता दिएको पाइन्छ ।
तर कालकलाले भीमसेन थापाको अन्तका दृश्य युग कवि स्व. सिद्धिचरण श्रेष्ठले भीमसेन थापा (ऐतिहासिक खण्डकाव्य) प्रकाशक नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान (२०६०) को अग्रलेखमा चित्तरञ्जन नेपालीबाट प्रकाक्कथन्को रुपमा व्यक्त निम्नांश “कस्तो दुर्दशा ! भित्र कोठामा रक्ताम्य भएर छटपटाएर मृत्युको दोसाँधनमा छ मान्छे, तर ताल्चा छ ढोकामा , खोल्न कोही आउँदैन । अनि त्यो अवस्था देखेर पनि पाले बोल्न कराउन त के सुस्केरा सम्म पनि हाल्न सक्तैन, कारण उसको मुखमा पनि ताल्चा छ, भोटे ताल्चा …” उल्लेख छ ।
यसरी सम्वत १८६२ देखि १८९४ सम्म एकतीस वर्षसम्म छताछुल्ल रुपमा रहेको यो राष्ट्रको सेवा गरी असह्य बेदना छातीमा लिँदै अन्त खोजेका यी महापुरुष बारे मार्मिक वर्णन प्रस्तुत गर्नुभएको छ । जातीय, क्षेत्रीय, साम्प्रदायीकता रिस, राग, इर्ष्याको बोझ खप्न नसकी उनले प्राण नै आहुति दिए । उनलाई नौ दिन सम्म श्रावणको टंटलापुर घाम पानी मुनी विष्णुमतिमा फाल्न घिसारेर लगे ।
त्यसरी फालिएका अंग लिई छटपटाउँदै विष्णुमति बगरमा उनी जस्ता महान अन्तिम राष्ट्र सेवकले सास फेर्न पुग्छन् । आज बोर्लाङ भग्न छ उनका अवशेष गोर्खामा कहीँ कतै छैन । नयाँ पिँढी त उनको नाम सम्म जान्दैनन् । यस्ता कतिपय वीर, महावीरले चिनेको चौतारो बिग्रँदो छ, भत्कँदो छ ।
के यही निम्ति यी वीर, महावीरहरुले बोकेका सपना थिए ? भगीरथ जैसीलाई अलिकति उज्यालोमा पार्न प्रयत्न गर्दा भोटे ताल्चा भित्र छन् या पाखण्ड भित्र बुझ्न सकिदैन । यहाँ पटक पटक संविधान कानुन, ऐन, सनद सवाल, इस्तिहार बनाउँदै फेरिन्छन् ।
सम्वत् १९७९ मा उनै भगीरथ जैसीले पाल्पाका तालुकी पाएका उनाइस वर्षिय नयनसिंहका ज्येष्ठ पुत्र उजिरसिंह साथ लिई पूर्व तीष्ठा, गंगावार, पश्चिम जमुना, उत्तर भोट र दक्षिणका दूरदूर सम्मको गोर्खा राज्यको सुव्यवस्था निमित्त तयार पारी केन्द्रमा भीमसेन थापालाई पेश गरेको “उजीरसिंहले तयार पार्न लगाएको जंगी तथा निजामति स्थिति बन्देज’ ले भने कहिल्यै चर्चा पाउन सकेन । कस्तो भयो भीमसेन ! तपाईले जमाएको थात र थलो ?