'वन पर्सन क्यान मेन अ चेन्ज'

के नेपाली महिलाको मूल्य ११ लाख रुपैयाँ नै हो?

के नेपाली महिलाको मूल्य ११ लाख रुपैयाँ नै हो?
+
-

घरेलु हिंसा न्यूनीकरण तथा स्वस्थ अन्तर सम्बन्ध प्रबर्द्धनका लागि सुरु गरिएको एक सामाजिक सञ्जाल अभियान हो- OPCMC अर्थात One Person Can Make a Change । यो अभियान सन् २०१७ अप्रिल महिनामा मैले आफ्नो व्यक्तिगत युट्युब च्यानल र फेसबुकमा सुरु गरेको थिएँ । यस अभियानको मूल उद्देश्य नेपालमा भएका घरेलु हिंसा तथा लैंगिक हिंसालाई न्यूनिकरण गर्नु हो। ‘वान पर्सन क्यान मेक अ चेन्ज’ अर्थात ‘एक मात्र व्यक्ति पनि परिवर्तनको सम्वाहक हुन सक्दछ।’ यही मूल विश्वासमा आधारित भएर यो अभियान शुरु गर्ने हिम्मत गरेको हुँ।

कहिलेकाहिँ घरेलुहिंसा जस्ता सम्वेदनशील विषयमा कुरा गर्दा हत्तपत्त मानिसहरु अघि सर्न तयार हुँदैनन्, तर यसको लागि कोही न कोही मान्छे अघि सर्नै पर्छ। आज नेपाली महिलाहरुले भोट हाल्ने, संसदमा सहभागिता पाउने, शिक्षा, स्वास्थ्य जस्ता कुरामा अधिकार पाएका छन्, यी अधिकारहरु यतिकै पाएका हैनन्। हाम्रा लागि हाम्रा अग्रज दिदी बहिनीहरुले विभिन्न चेतना मूलक अभियान चलाएर, ती अभियान गरे बापत विभिन्न सामाजिक तिरस्कार र लान्छना खपेर, अनि संघर्ष गरेर पाएका हौँ। त्यसैले मैले पनि आफ्नो तर्फबाट त्यो जिम्मेबारी बोध गरेर अघि सरेको हुँ। ओपीसीएमसीले भनेको एउटा मान्छे म मात्र होइन, म जस्तै घरेलु तथा अन्तरसम्बन्धिय हिंसा र लैंगिक विभेद अन्त हुनुपर्छ भनेर सोच्ने प्रत्येक एक एक मान्छेलाई यस अभियानले प्रतिनिधित्व गर्दछ।

देशमा महिलामाथि हुने हिंसा तथा घरेलु हिंसाको नियन्त्रणको लागि राम्रा कानुनहरु बनेका छन्, तर व्यक्ति, परिवार र समाज परिवर्तनको लागि तयार भएनन् भने ती कानुनहरु कागजमा मात्र सीमित रहन्छन्। देशमा मानव अधिकारको सुनिश्चितताको लागि प्रत्येक व्यक्ति सजग, सकृय र तयार हुनुपर्दछ। यो अभियान परिवर्तन चाहने र समय भन्दा एक कमम अगाडि बढ्न चाहने सबै अग्रगामी मानिसहरुको हो। मैले एक्लैले सुरु गरे पनि अहिले म एक्लो छैन। यस अभियानलाई फेसबुकमा झण्डै १३ हजार जतिले मन पराइदिनु भएको छ। त्यस बाहेक, करिब ३० जना जति साथीहरु सकृय रुपमा यसमा लाग्नुभएको छ। करिब ५० जना जति साथीहरुले आर्थिक सहयोग गर्नुभएको छ। करिब ३०० जति साथीहरुले प्रत्यक्ष सद्भाव देखाउनु भएको छ। यस अभियानबाट म चाहन्छु कि हरेक व्यक्तिले आफू भित्र भएको परिवर्तन गर्न सक्ने सकारात्मक शक्तिको पहिचान र उपयोग गरोस्। फलस्वरुप घरघरमा, टोलटोलमा घरेलु हिंसाको अन्य होस् र स्वस्थ अन्तर सम्बन्ध प्रबर्द्धन होस्।

यो अभियान हिंसा विरोधी अभियान हो। यो हाल व्याप्त पितृसत्ता विरुद्धको अभियान हो र समसत्ता हुनुपर्दछ भन्ने आवाज पनि हो। पितृसत्ताको सट्टामा मातृसत्ता पनि हुनु हुँदैन। नेपालको सन्दर्भमा कुरा गर्दा झण्डै पच्चीस प्रतिशत विवाहित महिलाहरुले कुटपिट भोगेका छन्। यसरी कुटपिट गर्नेहरुमा ८५ प्रतिशत श्रीमानबाटै भएको छ। त्यसैले हिंसा विरोधी कुरा गर्दा पुरुष विरोधी कुरा गरेको जस्तो सुनिन्छ। सबै पुरुषहरु हिंस्रक हुँदैनन्, तर असल पुरुषहरुले हिंसाको विरुद्धमा नबोल्नु भनेको हिंसालाई प्रोत्साहन दिनु जस्तै हो। जब महिला पुरुष सबै मिलेर हिंसाको बिरुद्धमा आवाज उठाउन थाल्छौं, बिस्तारै हिंसा घट्छ। अझ अभियानको कुरा गर्दा त हाम्रो अभियानमा पुरुष मित्रहरु पनि प्रशस्त हुनुहुन्छ। पुरुषहरुको सहभागिताले यो अभियानलाई सन्तुलित बनाएको छ। अर्को कुरा, महिला माथि पुरुषले मात्र होइन महिलाले पनि हिंसा गरेको हुन्छ। त्यसको पनि हामी खुलेर बिरोध गर्दछौं। हिजोआज पुरुषमाथि पनि हिंसा बढ्न थालेको छ, त्यसको पनि हामी विरोध गर्दछौँ। चाहे महिला होस वा पुरुष, पीडकलाई कानुनको घेरामा ल्याउनु पर्दछ। कसैले पनि कसैलाई हिंसा गर्नु हुँदैन र कसैले पनि हिंसा सहनु हुँदैन ।

ओपिसीएमसीको लोगो।

यो अभियानको सुरुबाट अनौपचारिक रुपमा सन् २०१७ को अप्रिलको ५ तारिखमा एक युटुब भिडियो मार्फत भएको हो। यो अभियान सुरु हुनुको श्रेय म कन्चन शर्माजीलाई दिन चाहन्छु । कञ्चन शर्मा जीले ‘सुमन सँग’ भन्ने कार्यक्रममा आफूले भोगेका हिंसाको बारेमा बोल्नुभयो। त्यसरी मिडियामा बोल्नु ठूलो साहसको कुरा हो। तर उहाँको कदमलाई मिश्रित प्रतिकृयाहरु दिइयो। उहाँको दुःखले मन दुखाउने मान्छेहरु पनि भए भने, उहाँलाई लान्छना लाउनेको पनि कुनै कमी भएन। अन्तमा, उहाँलाई उनका पूर्व श्रीमानले कन्चन जीको आमाको खुट्टामा ११ लाख रुपैयाँ राखि दिएर त्यो मुद्दालाई टुंगाउने प्रयास गर्नुभयो। व्यक्तिगत तबरमा शायद त्यसपछि त्यो मुद्दा टुंगिएको पनि होला। तर त्यो घटनाले मलाई निकै चोट पुर्‍यायो। के नेपाली महिलाको मूल्य एघार लाख रुपैयाँ हो त? के पैसाले महिलालाई न्याय दिन्छ त? कञ्चनजी त एक प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ, उहाँले जस्तो अनेक किसिमको घरेलु हिंसा तथ्यांककै कुरा गर्ने हो भने हरेक तीन मध्ये एक महिला घरेलु हिंसाबाट पीडित छन्। ती महिलाहरु मध्ये म पनि एक हुँ। एघार लाख रुपैयाँले महिलाको मुद्दा टुंगिदैन। यस अभियान सुरु गर्दा मेरो प्रमुख आवाज भनेको महिलाले पनि पुरुष सरह पैतृक सम्पत्तिमा समान अधिकार पाउनु पर्छ भन्नु थियो। किनभने, पैतृक सम्पतिमा महिलाको हक नहुँदा यदि श्रीमानको घरमा उसले दुख पायो र त्यो दुःखबाट ऊ निस्कन चाह्यो भने उसको न घर हुन्छ, न माइती। उसको बास खोसिन्छ र ऊ सडकमा पुग्दछ। त्यसैले सम्पूर्ण मानिसहरु चाहे त्यो महिला होस्, पुरुष होस्, वा पृथक लिंगी होस्, गास बास र कपास मानव जीवनका लागि तीन आधारभूत तत्वहरु हुन्। कम्तीमा पनि यी तीनवटा कुराहरु हरेक अवस्थामा राज्यले सुनिश्चित गरिदिनुपर्दछ। नेपालको सन्दर्भमा बासको कुरा गर्दा, हरेक मान्छेको लागि पैतृक सम्पत्ति नै मुख्य आधार हो। त्यसैले पैतृक सम्पत्ति भनेको अंश र वंशको कुरा मात्र होइन, त्यो एक प्रमुख आर्थिक श्रोत साधन हो। उक्त आर्थिक श्रोतमा परिवारका सम्पूर्ण सदस्यहरुको पहुँच र नियन्त्रण हुनु जरुरी छ। लिंगको आधारमा पैतृक सम्पत्तिमा विभेद हुनु भनेको लैंगिक विभेदको जरा हो, त्यहि जरामा अन्य सामाजिक सांस्कृतिक विभेद उब्जेका हुन्छन्।

ओपीसीएमसी अर्थात ‘वान पर्सन क्यान मेक अ चेन्ज’ को अर्थ पनि त्यही हो। हरेक व्यक्तिभित्र परिवर्तनको सम्भावना हुन्छ, त्यो सम्भावनालाई विश्वास गर्नु पर्दछ। यो आत्मबल यस अभियानमा मात्र लागू हुँदैन, म केहि गर्न सक्छु भन्ने हरेक मान्छेको जिवनमा लागू हुन्छ। घरमूली टोलका मूल व्यक्ति परिवर्तनको सम्बाहक हुन सक्दछ। जस्तो छोरीलाई अंश दिने कुरामा पनि एक परिवारले दिन थाल्यो भने बिस्तारै त्यो चेतनाको लहर अरुतिर पनि फैलिँदै जान्छ।

नेपाल सरकारले छोरीहरुले पनि पैतृक सम्पत्ति पाउँछन् भनेर ल्याएको कानुन धेरै प्रसंशायुक्त छ, त्यस अर्थमा हाम्रो अभियानको मुख्य मुद्दा सम्बोधन भएको छ। अबको अर्को जिम्मेवारी भनेको कानुनको पालना गराउनु हो। कागजमा नीति, नियम, तथा कानुनहरु लेखिए पनि व्यवहारिक रुपमा त्यसको पालना गराउनु चूनौतीपूर्ण हुन्छ। यसको लागि दिने मान्छे र लिने मान्छे दुवैमा चेतना हुनु पर्दछ। अझै पनि नेपालमा धेरैजसो आमाबुवाहरु छोरीलाई उसको श्रीमान्ले सम्पत्ति दिन्छ भन्ने सोच राख्दछन् । तर कसैले पनि बुहारीलाई सम्पति दिँदैनन्, उहाँहरु आफैँले पनि दिनुहुन्न । आफूले बुहारीलाई सम्पत्ति नदिएपछि आफ्नो छोरीले पनि पाउँदैन भन्ने सामान्य कुरा पनि नबुझेको जस्तो देखिन्छ। मलाई के लाग्छ भने यो कुरा सबैले बुझेको छ, तर यो जानीजानी नै महिलालाई आर्थिक श्रोत साधनबाट वञ्चित गरेको सामाजिक अवस्था हो। हामी जन्मेदेखि नै सबै सम्पत्ति दाजुभाइले पाउँछ, दिदीबहिनीले पाउँदैन भन्ने सोच लिएर हुर्केका छौँ। त्यसैले अहिलेको अवस्था सम्पत्ति लिँदा पनि केहि गल्ती हुने हो कि भनेको जस्तो सोच धेरै महिलाहरुमा छ। लैंगिक विभेदबारेमा चेतना भएपछि सबैले यो कुरा बिस्तारै बुझ्छन् भन्ने मैले विश्वास लिएको छु ।

हामीले समाजमा देखेका कुनै पनि घरेलु हिंसाका विरुद्धमा जनचेतनामूलक भिडियोहरु बनाउने कोसिस गरेका छौं, जस्तो उदाहरणको लागि अमेरिकाको टेक्सासमा रहनुभएका एक बहिनीलाई उनको प्रेमीले ब्ल्याकमेल गर्न खोजेको बेलामा समाजले ती बहिनीलाई लान्छना नलगाओस् भनेर एक जनचेतनामूलक भिडियो बनाएको थिएँ जुन लगभग पाँच हजार जति मानिसहरुले हेरिदिनु भयो र सकारात्मक रुपमा पनि लिइदिनुभयो। यस्ता जनचेतना मूलक भिडियोहरु बाहेक, हामीले समुदायमा घरेलु हिंसा बिरुद्ध जनचेतना जगाउने उदेश्यले काठमाडौँ, भक्तपुर, र नेपालगञ्जमा स्थानीय संघसंस्थासँग मिलेर एकदिने अन्तर्क्रिया कार्यक्रमहरु गर्यौं। उक्त अन्तर्क्रियाहरुबाट लगभग २५० जना मानिसहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनुभयो। त्यसैगरी अन्तर्राष्ट्रिय महिला दिवस २०१८ को उपलक्ष्यमा नेपालगञ्जमा कासिम सिद्दिकी जीको संयोजकत्वमा बृहत र्‍याली निकाल्यौं। त्यस बाहेक यस अभियान अन्तर्गत हामीले पत्रपत्रिकामा जनचेतनामूलक लेखहरु पनि लेख्दै आएका छौँ। भर्खरैमात्र बिन्दु भण्डारी, सरला बोहरा, र बन्दना रिमालको संयोजकत्वमा हामीले अन्तर सम्बन्ध प्रबर्द्धन तथा हिंसा न्यूनिकरण विषयमा तीनमहिने अनलाइन तालिम सम्पन्न गर्यौँ र उक्त तालिममा १५ जना सहभागीहरुले सहभागिता जनाउनुभयो। अहिले ती तालिम प्राप्त सहभागीहरु स्थानीय रुपमा आफ्नो–आफ्नो क्षेत्रमा जनचेतना जगाउने कामहरु गर्न सुरुगरी सक्नु भएको छ। आउँदा दिनहरुमा अर्को व्याचको तालिमको लागि हामी तयारी गर्दैछौँ।

पक्कै पनि घरेलु हिंसा जस्तो सम्बेदनशील विषयमा बोल्नु वा कुनै पनि काम गर्नु निकै चूनौतीपूर्ण हुन्छ। पहिलो त, मेरो अभियानलाई पनि धेरै मानिसहरुले महिलाहरुलाई उचाल्यो, अरुको घर बिगार्न लाग्यो भनेर आलोचना गरे। तर मलाई लाग्छ, जुन घरमा घरेलु हिंसा हुन्छ, त्यो घर कसैले विगार्नु पर्दैन, त्यो पहिले नै बिग्रेको हुन्छ। यस्ता जनचेतनामूलक अभियानहरुले मानिसलाई सजग बनाउँछ। मानिसहरु सचेत भयो भने एक अर्कालाई हिंसा गर्दैनन्। अर्को महत्वपूर्ण कुरा, हिंसालाई सामाजिक लाजको रुपमा र व्यक्तिगत कुराको रुपमा लुकाइन्छ। तर घरेलु हिंसा भनेको व्यक्तिगत घटना होइन, यो सामाजिक अपराध हो। कुनै पनि समाजमा घरेलु हिंसा भइरहेको छ भने समाजका अगुवाले त्यस्को जिम्मा लिनुपर्दछ। घरेलु हिंसालाई कसैले पनि सहनुहुँदैन। यो मेरो व्यक्तिगत धारणा मात्र होइन, नेपाल सरकारले पनि जिरो टोलरेन्स अर्थात शुन्य हिंसाको नीति अपनाएको छ। त्यो राज्यको नीति घरघरमा लागु हुनु पर्दछ । हिंसा आइसोलेसनमा भएको हुन्छ । त्यो आइसोलेसनलाई तोड्ने भनेको बोलेर नै हो । नबोलिकन बस्यो भने भित्र भित्र हिंसा बढ्दै जान्छ।

सम्झना शाक्य

दोस्रो, यस्तो अभियानलाई सुरु गर्न र निरन्तरता दिन श्रोत साधन जुटाउनु चूनौतीपूर्ण छ । कतिपय मानिसहरु सामाजिक लाञ्छना लाग्ने डरले पनि सहयोग गर्दैनन् । शुरुको अवस्थामा मलाई आर्थिक श्रोत जुटाउन धेरै कष्ट भयो, तर केहि सहृदयी साथीहरुले साथ दिइराख्नु भएको छ, उहाँहरुको साथ नभएको भए, यहाँसम्मको ओपीसीएमसी यात्रा सम्भव थिएन। उहाँहरु सबैलाई कृतज्ञता दिन चाहन्छु। आर्थिक श्रोत जुटाउने क्रममा मैले केहि महत्वपूर्ण कुराहरु पनि सिकेँ। कहिले कहिँ हामीले आशा राखेको व्यक्तिहरुले सहयोग गर्दैन रहेछ। त्यो कुरा स्वीकार्न मानसिक रुपमा निकै ठूलो चूनौती हुने रहेछ। तर आफुले नचिताएको व्यक्तिहरुले साथ दिने रहेछ। यस अभियानबाट मैले सिकेको यो आध्यात्मिक पाठ हो, जसले मानिसहरुप्रति मेरो धारणा परिवर्तन गरिदिएको छ। वास्तवमा कोहि कसैको साथी, वा कोही कसैको शत्रु नहुने रहेछ। हामी मानिसहरुको एक आपसमा आप्mना आफ्ना आवश्यकता, सोच जस्ता कुराले बाधिएका हुने रहेछौँ। एकजना व्यक्तिसँग गहिरो मित्रता छ भन्दैमा सबै कुरामा साथ मिल्नु नै पर्छ भन्ने सोच राख्नु हुँदैन रहेछ। जे होस् धेरै मानिसहरुले व्यक्तिगत कुराहरुमा बिरोध गरे पनि कसैले पनि महिला माथि हिंसा हुनुपर्छ भनेर भनेनन्, त्यो सम्झिँदा खुशी लाग्छ। यसलाई हामीले नेपाली समाज लैंगिक समतामा जान तयार छ भन्ने सकारात्मक सन्देशको रुपमा लिएका छौँ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?