
काँकरभिट्टा- विर्तामोडमा रहेको बिएण्डसी अस्तपतालका शल्य चिकित्सक डा. रोहितकुमार यादवसंग एक जना महिला पायल्स रोगी सीमावर्ती भारतीय बजार पानीटेंकीमा आफू ठगिएको गुनासो सुनाउँदैथिन्। ती महिलाले भनिन्, ‘मलाई पायल्स जाती पार्छु तर २५ हजार भारतीय रुपैयाँ चाहिन्छ भने त्यहाँ। मैले पैसा पनि दिएँ। एक महिना भयो तर मेरो समस्या जस्ताको त्यस्तै छ।’
पायल्स मलद्वारमा हुने रोग हो। मलद्वारमा मासु पलाउने तथा दिसा गर्दा रगत बग्ने समस्या यस रोगमा हुन्छ। त्यस्ता रोग निको पार्ने भन्दै सीमावर्ती पानीटेंकी बजारमा दर्जनौं नक्कली क्लिनिक खुलेका छन्। न त्यहाँ कुनै विशेषज्ञ डाक्टर छन् न हेर्दा क्लिनिक जस्ता देखिने।
ती क्लिनिक नेपालीहरुलाई नै लक्षित गरेर खुलेका हुन्। नेपालीहरु पानीटेंकी पुग्ने वितिक्कै दलालहरु सोध्न आइपुग्छन्। अनि तानातान गरेर आफ्ना क्लिनिकमा लैजान्छन्। टहरा जस्ता संरचनामा खुलेको एउटा क्लिनिकका लागि नेपाली विरामीलाई त्यहाँ लैजान विचौलियाको काम गर्ने नेपालीहरु नै ज्यादा छन्। एउटा टहरामा आफै विरामी जस्तो भएर पुग्दा झापा बाहुन्डाँगी घर बताउने लक्ष्मी नेउपानेले त्यहाँ उपचार गर्दा निको नभए पुरै पैसा फिर्ता हुने दाबी गरिन्।
उनले भनिन्, ‘हामी मलद्वारमा धागो पनि बाँध्दैनौं। औषधिले नै निको पार्ने हो। निको नभए सबै पैसा फिर्ता हुन्छ।’ तर निको नभएर पैसा फिर्ता नपाएका पीडितहरु दर्जनौं भेटिन्छन्।
त्यसरी भारतीय सीमावर्ती पानीटेंकीमा आयुर्वेद पद्धतिमा उपचार हुने भनिएका क्लिनिकमा उपचार गराउँदा विरामी निको नभएपछि नेपालका अस्पतालमा विरामीहरु उपचार गर्न आउन थाले। आफ्ना दाजु काजीबहादुर भण्डारीले पानीटेंकीमा उपचार गराउँदा ठगिएको झापा बाह्रदशी गाउँपालिका २ का तुलाराम भण्डारीले बताए। उनले भने, ‘एजेन्टको भरमा परेर दाजुले पानीटेंकीमा उपचार गराउनु भएछ। पछि नेपालकै अस्पतालमा आएर शल्यक्रिया गर्नुपर्यो। पैसा फिर्ता हुनु त परै जाओस्।’
चिरफार विशेषज्ञ डा. रोहितप्रसाद यादव भन्छन् मलद्वारको क्यान्सर भएका विरामीलाई पनि पानीटेंकीमा गलत उपचार गरिदिए। उनले भने, ‘क्यान्सर भइसकेकालाई पनि ठग्ने गरेका रहेछन्। जो विरामी आउनु भएको थियो उहाँलाई भरतपुर अस्पताल पठाइदियौं।’
त्यस्ता क्लिनिकहरुसँग साँठगाँठ भएका केही नेपालीहरु विरुद्ध आफू ठगिएको भन्दै करीब २५ विरामीले इलाका प्रहरी कार्यालय विर्तामोडमा उजुरी पनि गरे। एकजना त्यस्ता विचौलियालाई प्रहरीले सार्वजनिक मुद्दा पनि चलायो। तर कडा कानुनी कार्वाहीका लागि आधार नभएकाले परेका सबै उजुरीमाथि कार्वाही चलाउन गाह्रो भएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्ण कोइरालाले बताए।
कोइरालाले भने, ‘उहाँहरुले भारतमा गरेको कारोबारको मुद्दा हामीलाई चलाउन गाह्रो छ। र पनि उजुरी चाहीँ लिएर सकेसम्म खोजतलास गर्ने प्रयास गरेका छौं।’
भारतीय सीमावर्ती बजार पानीटेंकीमा मेची पुल नजिकैदेखि त्यस्ता क्लिनिकका विचौलियाहरु नेपाली विरामीहरुलाई तान्न बस्ने गरेको नेपाली अधिकारीहरु बताउँछन्।