
विर्तामोड- इलाम नगरपालिकाले पेट्रोलियम पदार्थको विक्रीमा प्रदुषण कर बापत पचास पैसा कर थोपरेको छ।
यही साउन १५ गतेबाट लागु हुने गरि पेट्रोलियम पदार्थमा पचास पैसा कर लगाएको इलाम नगरपालिकाका प्रवक्ता ठाकुर श्रेष्ठले बताए। उनले भने, ‘हाम्रो नगरसभाले निर्णय गरे बमोजिम प्रदुषण कर लगाइएको हो।’
उक्त कर बापत उठेको पैसा नगरपालिकाको कोषमा जम्मा हुने श्रेष्ठले बताए। नगरपालिकाका प्रमुख महेश बस्नेतका अनुसार राजश्व उठाउने विषयमा प्रदुषण कर स्थानीय, प्रदेश तथा संघीय सरकारले उठाउन पाउने व्यवस्था बमोजिम उठाइएको बताए।
बस्नेतले भने, ‘हामीले कहाँ कहाँ कर लगाउन पाइन्छ भनेर खोज्दा त्यो ठाउँ देखिएकाले कर लगाएका हौं।’ उनले संघीय सरकारले उठाउन पाइन्दैन भनेको खण्डमा नउठाउने बताए।
प्रदुषण बापत उठेको रकम पर्यावरण क्षेत्रमा लगाउने प्रमुख बस्नेतको भनाइ छ। कर उठाउने विषयमा इलाम नगरपालिकाभित्रका पेट्रोलियम व्यवसायीसंग सम्झौता गरिएको इलाम नगरपालिका कार्यालयले जनाएको छ।