
भद्रपुर- प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले कुनै पनि उत्पादन, ढुवानी वा निर्यातमा दोहोरो कर नलाग्ने बताएका छन्।
तीन तहको सरकारको संरचना बनेसँगै उद्योग व्यवसाय क्षेत्रमा दोहोरो करको मार खेप्नुपर्ने हो कि भन्ने चिन्ता उद्योगी–व्यवसायीमा व्याप्त रहिरहेका बेला मन्त्री आङ्वोले दोहोरो कर नलाग्ने स्पष्ट पारेका हुन्।
मन्त्री आङबोले भद्रपुरमा उद्योगी व्यवसायीहरुसँगको भेटमा भने, ‘अहिलेको तीनै तहका सरकारको अर्जुन दृष्टि भनेको आर्थिक समृद्धि हो र त्यो शासिल गर्न उद्याग वाणिज्य क्षेत्रको संरक्षण र विकासबिना सम्भव छैन।’
झापा उद्योग संघले आफ्नै सभाहलमा संयोजन गरेको स्वागत सम्मान तथा घेटघाट कार्यक्रममा भद्रपुरका प्रतिष्ठित उद्योगीहरुले उद्योग क्षेत्रले सामना गर्नु परिरहेका समस्याका बारे मन्त्री आङ्बोलाई अवगत गराएका थिए।
कार्यक्रममा नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार मित्तलले नयाँ श्रम ऐनले चिया उत्पादकहरुलाई मार परेको भन्दै पुनरावलोकन गर्न आग्रह गरे। संघका पूर्व अध्यक्ष चण्डी पराजुलीले अझै पनि उद्योगीहरु क्तै कतै दोहोरो करको मारमा परिरहेको गुनासो गरे।
उनले मेचीनगर नगरपालिकाले आयात तथा निर्यातजन्य वस्तु बोकेका ट्रकमा ‘प्रदुषण कर’ शीर्षकमा कर लिन थालेको र त्यसबाट उद्योगीहरुलाई असर परिरहेको गुनासो गरे।