
संसारमा साह्रै खतरनाक मानिने विमान अपहरण गरियो । नेपाली कांग्रेसका नेता बीपी कोइरालाको आदेशमा हामी तीनजना म, बसन्त भट्टराई र नगेन्द्र ढुङ्गेलले त्यो काम गरेका थियौँ ।
त्यसअघि नेपालमा विमान अपहरण भएको थिएन, न त त्यसयता नेपालीले विमान अपहरण गरेका छन्। यसबापत भारतीय जेलमा दुई वर्षजति यातना भोगेँ । कुर्सीमा बाँधेर करेन्ट लगाउनेसम्मको यातना खेपेँ ।
अर्काको देशमा नाम फेरेर कहिले यो सहर कहिले ऊ सहर, कहिले यो गल्ली कहिले उ गल्ली लुक्दै हिँडे । एउटा औसत मानिसले जीवनमा भोग्ने दुःख–कष्टको तुलनामा अलि धेरै भोगियो कि भन्ने लाग्छ । त्यस घटनापछि भारतमा भूमिगत बस्दा अचानक गिरफ्तार भएर धेरै यातना भोगेँ । तर, कहिल्यै विचलित भइन ।
ती यातनाबाट उम्किनका लागि विमान अपहरणमा बीपी कोइरालाको संलग्नता थियो भनेर मैले बयान दिएको भए नेपालको राजनीतिक इतिहास नै परिवर्तन हुन सक्थ्यो ।
किनभने, विमान अपहरण अन्तर्राष्ट्रिय रुपमै एकदम सङ्गीन मानिने अपराध हो । त्यसमा बीपीको नाम जोड्न सके उहाँलाई जस्तोसुकै सजाय दिन सकिन्छ, अन्तर्राष्ट्रिय रुपमा राजनीतिक नेता होइन– अपराधीका रुपमा स्थापित गर्न सकिन्छ भनेर राजा र पञ्चहरुले सोचेका थिए । त्यस्तो बयानले म यातनाबाट जोगिन सक्थँ । नेपाल र भारतका सरकारी अधिकारीहरुले मलाई त्यस्तो आश्वासन दिएका पनि थिए ।
तर, त्यसो गरेमा क्रान्तिको सपना, आफ्नो पार्टी, नेता र देशप्रति धोका हुन्थ्यो । प्रजातन्त्र ल्याउनका लागि देश–विदेशमा बसेर लडिरहेका हजारौँ मानिसको भावनालाई एकैचोटि कुल्चिने काम हुन्थ्यो। तसर्थ, मैले त्यस्तो गरिन। बरु सहजै क्रुर यातना सहेँ।
किनभने, मैले आफ्नो खुशीले रोजेको बाटो थियो त्यो । प्रजातन्त्रप्रतिको आस्थाका कारण मैले त्यो काम गरेको थिएँ । सैनिक बलको भरमा राजाले जबर्जस्ती लादेको पञ्चायती व्यवस्था देश र जनताको हितमा थिएन । त्यसलाई फाल्न आवश्यक थियो ।
भारतको केन्द्रीय गुप्तचर ‘र’ को सहयोगमा हवाई अपहरण गराएको भन्ने गिरिजाप्रसाद कोइरालाको स्वीकारोक्तिले हामीजस्ता युवाहरुले प्रजातन्त्र स्थापनाको लागि देखाएको आत्मोत्सर्गको भावनामाथि खेलवाडमात्र गरेको देखिएन, उहाँबाट राष्ट्रघाती कार्य भएको रहेछ भन्नैपर्ने हुन्छ ।
मानिसले आफ्ना लागि र आफ्ना परिवारका लागि के गर्यो त्यसको लेखाजोखा परिवारले गर्ने हो। तर समाज र राष्ट्रका लागि व्यक्तिले के कस्तो काम गरेर लाभ हानी पुर्यायो त्यसको लेखाजोखा समाजले गर्दछ।
राम्रो कामको प्रशंसा र नराम्रो कामको निन्दा हुन्छ र हुनु पर्छ। प्रशंसा र निन्दा व्यक्तिले आफैले आफ्नो गर्दैन, समाजले गर्नुपर्छ भन्ने मान्यता राखेर मैले यो वृतान्त लेख्ने प्रयास गरेको छ ।
२०३० जेष्ठ २८ गतेका दिन विमान अपहरण भएको थियो, जसमा एउटा मुख्य पात्रका रुपमा मेरो सहभागीता थियो । त्यो अपहरण नेपाली कांग्रेसका नेता बीपी कोइरालाले चलाइरहनु भएको सशस्त्र संघर्षलाई सघाउ पुर्याउनका लागि उहाँकै समर्थनमा भएको थियो ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको सरकारलाई २०१७ साल पुस १ गते सैनिक बलका माध्यमले राजा महेन्द्रले ‘कू’ गरे । त्यसै दिनदेखि हिरासतमा लिइएका कोइराला ८ वर्ष लामो काराबासपछि २०२५ कात्तिक १४ गते जेलमुक्त गरिनु भएको थियो ।
बीपीले तत्काल कुनै पूर्वाग्रह नराखी राजा महेन्द्रसँग सम्झौता भएर नेपालमा पुनः प्रजातन्त्रको स्थापना होस् भन्ने राजनीतिक धारणा अघि सार्नु भएको थियो । तत्पश्चात स्वास्थोपचारका लागि भारततर्फ लाग्नुभएको थियो ।
प्रवासमै बसेको बेला उहाँले स्वास्थ्य परीक्षण गराउन युरोप जान लागेका राजा महेन्द्रलाई भारतको बम्बै हवाई मैदानमा स्वागत गर्दै देशमा पुनः प्रजातन्त्र स्थापना गर्न हार्दिक आग्रह गर्नुभएको समाचार प्रकाशमा आएको थियो ।
त्यसको केही समयपछि कोइरालाले आफ्नो स्वास्थोपचार गर्न विदेश जाने राहदानी पाऊँ भनी प्रवासबाटै निवेदन दिनुभयो ।
कोइरालाको निवेदनको प्रतिउत्तर दिदै राजाले लेखेका थिए, ‘तपाईको कार्यकलाप अझै मातृभूमि प्रति हितकर नभएकाले राहदानी दिन मिल्दैन ।’ परिणाम स्वरुप बीपी भार सरकारको सहयोगमा पासपोर्ट प्राप्त गरि स्वास्थोपचार गर्न युरोपतर्फ लाग्नुभयो ।
बीपी २०२५ देखि २०३३ सालसम्म भारत प्रवासमा बस्नुभयो । प्रवासबाटै उहाँले नेपालको राज्य व्यवस्था सैनिक अधिनायकवादी भएकाले देशमा प्रजातन्त्र ल्याउन सशस्त्र संघर्ष आव्हान गर्नुभयो । त्यही संघर्षका लागि धन अभाव भएकाले धन संकलनका लागि हामीले विमान अपहरण गरेका थियौँ।
अपहरण काण्डको लागि देशभित्र गर्नुपर्ने सम्पूर्ण कार्यको जिम्मेवारी गिरिजाप्रसाद कोइरालाले मलाई सुम्पनु भएको थियो । आत्मउत्सर्गको भावनाले मुक्ति सेनामा संलग्न बसन्त भट्टराई र नगेन्द्र ढुङ्गेलले विमान अपहरणको गृहकार्य गर्न अथक प्रयास गरेकै फलस्वरुप त्यो जोखिमपूर्ण कार्य सफल भएको हो । यस घटनाबारे बीपी कोइरालाले आफ्नो आत्मवृतान्तमा यत्ति मात्र भन्नुभएको छ ‘मसँग पैसा थिएन अनि हवाइ जहाज अपहरणको विचार आयो । म विस्तारमा भनुँ कि नभनुँ ? अहिले छोडि दिऊँ, अब मान्छे पनि आइसके । ’
बीपीले विस्तारमा नभनी छोडिदिनु भएको कहानी मैले भन्ने जमर्को गरेको छु। उहाँ त्यो सम्पूर्ण आन्दोलनको नेता भएकाले उहाँले सबै घटनाबारे नबोल्न सक्नुहुन्छ । तर, म, बसन्त भट्टराई र नगेन्द्र ढुंगेलका लागि विमान अपहरण जीवन नै जोखिममा राखेर गरेको काम थियो । यसबारे हामी विस्तारमा बोल्न सक्छौँ ।
यो सम्पूर्ण काण्डका नेता गिरिजाप्रसाद कोइरालाले पछि आफू प्रधानमन्त्री भएका बेला कान्तिपुर टेलीभिजनसँगको अन्तरवार्तामा हवाई अपहरणको कुरा उठाउँदै भन्नुभएको थियो ‘भारतको गुप्तचरको सहयोगमा अपहरण गर्ने गराउने काम सम्पन्न भएको थियो ।’
त्यो अन्तरवार्ता कान्तिपुर प्रकाशनको ‘साप्ताहिक नेपाल’मा पनि किस्ता किस्तामा प्रकाशित भएको छ । भारतको केन्द्रीय गुप्तचर ‘र’ को सहयोगमा हवाई अपहरण जस्तो अन्तर्राष्ट्रिय फौजदारी अपराध गराएको भनी गिरिजाप्रसाद कोइरालाको स्वीकारोक्तिले हामी जस्ता युवाहरुले प्रजातन्त्र स्थापनाको लागि देखाएको आत्मोत्सर्गको भावना र राष्ट्रप्रेममाथि खेलवाड मात्र गरेको देखिएन, उहाँबाट राष्ट्रघाती कार्य पनि भएकै रहेछ भन्नै पर्ने हुन्छ ।

सुन्दरीजलस्थित बिपी संग्रहालयमा रहेको बिपी कोइरालाको सालिकअघि दुर्गा सुवेदी।
त्यसपछिका दिनहरुमा भारत सरकारद्वारा समर्थित माओवादी जनयुद्धको राजनीतिक अवतरण गराउने कुरामा पनि गिरिजाप्रसाद कोइरालाले भारतीय गुप्तचर प्रमुख हर्मिज, प्रचण्ड र बाबुरामबीच खेलेको भूमिकाले धेरै कुरा प्रष्ट पारिसकेको छ ।
भारत जस्तो प्रजातान्त्रिक देशको सरकारी संयन्त्रले नेपालमा भएको हवाई अपहरणमा मद्दत गरेको थियो भन्ने कुरा विश्वास गर्न कठीन छ । तर नेपालको प्रधानमन्त्री जस्तो गरिमामय पदमा आसीन व्यक्तिले भनेको कुरा कसरी असत्य मान्ने ? प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको यस्तो आपत्तिजनक अभिव्यक्ति सार्वजनिक हुँदा भारत सरकारले पनि खुला रुपले आपत्ति जनाएको देखिएन ।
तर हामी जस्तो देश र प्रजातन्त्रको लागि आत्मा उत्सर्ग गर्न चाहने युवाहरुलाई भारतीय खुफिया संयन्त्रको हतियार बनाउने काम गिरिजाप्रसादले गर्नुभएको हो भने त्यो क्रान्ति र प्रजातन्त्रको नाउँमा कलंकित कुरा हो । यसरी भारतको खुफिया विभागसँग हातेमालो गरेर प्रजातन्त्रको नाउँमा खेलिएको यस्तो खेलले नेपाली जनताको राष्ट्रीय स्वाभिमान माथि आघात पारेको कुरा यहाँ स्मरण गर्न जरुरी छ ।
अन्तर्राष्ट्रिय स्तरको फौजदारी घटनामा तत्कालीन श्री ५ को सरकारले हामी तीन जना बसन्त भट्टराई, नगेन्द्र ढुङ्गेल र म माथि मात्र मुद्दा दायर गरेको थियो । मुद्दाको सम्बन्धमा श्री ५ को सरकारद्वारा प्रकाशित ‘नेपाल राजपत्र’ २३ असोज २०३७ भाग ४ मा सूचना प्रकाशित भएको देखिन्छ । गजेट अनुसार श्री ५ को सरकार प्रतिवादी दुर्गा सुवेदी समेत भएको विमान अपहरण जवरजस्ती चोरी मुद्दा वागमती विशेष अदालतमा कारवाही र किनारा गर्न पठाएको कुरा उल्लेख छ ।
अपहरणको घटना नेपाल भूमिबाट प्रारम्भ भै भारतीय भूभागमा अन्त्य भएको हुँदा भारतीय दण्ड विधान अनुसार त्यही मुद्दा चलेको थियो । मुद्दामा गिरफ्तार भएका हामीहरुले दश वर्ष जति तारेख खेपेका थियौँ ।
जहाज अपहरण गरेर ल्याउने हामी तिन जना र भारतीय भूभागबाट पैसा लुट्ने सुशील कोइराला, मनोहरी बराल, विनोद अर्याल, गणेश मिस्त्री, विरु तामाङ्गका साथै पैसा राख्ने भनि दार्जिलिङ्गका लाल शर्मा र चक्रप्रसाद बास्तोलामाथि भारतमै मुद्दा चलेको थियो ।
बीपी कोइरालाले दोश्रोपल्ट प्रारम्भ गरेको हिंसात्मक संघर्षको लागि चाहिने श्रोत र साधन जुटाउन नेपालबाट हवाई अपहरण गराई पैसा लुटेको कुरा आफ्नो आत्मवृत्तान्तमा स्वीकार गर्नुभएको छ ।
विमानलाई विराटनगरबाट अपहरण गरि फारविसगन्ज पुर्याउने बसन्त भट्टराई, नगेन्द्र ढुङ्गेल र मलाई भेट्ने मानिसहूले अपहरणको कथा सुनाउन आग्रह गर्दछन् । त्यसैले आम नेपाली जनतालाई यो चर्चित दुस्साहसिक घटनाबारे आप्mनो जीवनको स्मृति लेखेर समाज समक्ष प्रस्तुत गरेको छु ।
यो एउटा रोमाञ्चकारी तत्कालिन घटना मात्र होइन, यस स्मृतिले तत्कालिन राजनीतिक नेतृत्वले प्रवासमा बसेर भोग्नु परेको संकटका साथै जोखिमपूर्ण राजनीतिमा संलग्न हुने मानिसको त्याग, साहस र दुस्साहासको पनि स्मरण गराउने छ ।
नेपालमा प्रजातन्त्र स्थापना गर्नको लागि विगतमा हाम्रा पूर्खाहरुले भारतीय भूमि प्रयोग गर्दा देखिएका सकारात्मक र नकारात्मक परिणामको लेखा जेखा गर्न र त्यसतर्पm सचेत रहन पनि यो हवाई अपहरणको वृतान्तले केही मद्दत गर्नेछ ।
(नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदीद्वारा लिखित एवम् किताब पब्लिसर्सद्वारा हालै प्रकाशित पुस्तक ‘विमान विद्रोह’ बाट सम्पादनसहित साभार)