काठमाडौं- निरन्तरको वर्षाले गएराति धोबीखोलामा आएको बाढीले अनामनगरदेखि बिजुलीबजारसम्मका बस्ती डुबानमा परेको छ।

मंगलबार राति धोबी खोलामा आएको बाढीले डुबानमा परेको अनामनगरको खेल मैदान। तस्बिर-सहदेव चौधरी/देश सञ्चार
खोला किनारमा रहेका घर, पसल, कलेज, स्कुल, प्रेस, कार्यालयहरुमा दुई फिटसम्म पाँगो माटो जमेको छ।
डुबानले अनामनगर, देवीनगर, बिजुली बजार क्षेत्र नराम्रोसँग प्रभावित भएको छ। सुकुम्बासीहरु विस्थापित हुने अवस्थामा पुगेका छन्। साना गल्लीहरुमा हिँड्नै नसकिने गरी हिलो माटो जमेको छ।
बस्तीमा बाढी पसेपछि सो क्षेत्रका बासिन्दा रातभर जाग्राम बस्न बाध्य भएको अनामनगरका स्थानीय श्रीराम राईले बताए। उनले भने, ‘हामी सुतिरहेका थियौ। राति २ बजे बाढी आयो भन्दा थाहा पायौ र ढोका खोल्दा बाढी पसिसकेको थियो। हामीले केही पनि निकाल्न सकेनौ। खाट, किचेन, किताब,कापी, लुगाफाटो चामल, सबै भिज्यौ।अब आफूसँग लगाएको लुगा मात्रै छ।’
यस्तै अनामनगरकै कुसुम जोगीले पनि राति सुतिरहेको समयमा बाढी बस्तीमा पसेकासे घरमा भएका लत्ताकपडा, चामल, दाल र किताबहरु उठाउन नपाएको बताइन्।
उनले भनिन्, ‘राति नै बाढी बस्तीमा पस्यो। त्यसपछि बत्ती पनि गएपछि हामी केही जोगाउन पाएनौ। घरभित्रै बाढीले वितण्डा मच्चायो। खानेकुरा र लुगाफोटो केही झिक्न पाइनँ।भोलिपल्ट बिहान भएपछि हतार-हतार घरमा भएका भाडाकुँडा, मोटरले पानी र हिलोमाटो पन्छ्याइरहेका छौ।’
खोला किनारका अधिकांश घरहरुमा बाढी घटेपछि पम्पसेट, मोटर र भाँडाकुँडा प्रयोग गरी पानी फाल्न र हिलो माटो पन्छाउन व्यस्त देखिन्थे स्थानीयबासी।
यस्तै मदन भण्डारी कलेजको प्रांगन पाँगो माटोले भरिएको छ भने क्यानटिनमा पानी भरिभराउ छ।
यस्तै नजिकै रहेको एक मसला उद्योग, ग्रील उद्योगमा क्षति पुगेको छ। यस्तै कलेज नजिक रहेको फलामको पुल पनि बाढीले बगाएको स्थानीय रमेश केसीले बताए। उनले भने, ‘हामीले हनुमन्ते खोलाको बाढीबारे सुनेका थियौ। आज आफैंले धोबी खोलाको यस्तो रौद्र रुप देख्नु पर्यो।’
यस्तै अनामनगरस्थित खेलकुद मैदानमा बाढी पसेर दुई हिलो माटो जमेको छ भने विजुली बजारका रेस्टुरेन्ट, गलैचा कारखाना, मसला उद्योग लगायतमा समेत बाढी पसेको छ।
यस्तै काठमाडौं क्षेत्र नम्बर १ का सांसद एवं कांग्रेसका नेता प्रकाशमानले डुबान क्षेत्रको स्थलगत अनुगमन गरेका छन्। उनले पीडितहरुसँग डुबानको अवस्थाबारे जानकारी लिँदै सहयोगको पहल गर्ने आश्वासन दिए।
उनले भने, ‘बाढीले बस्तीमा क्षति पुर्याएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी, गृह मन्त्रालयका सचिव, काठमाडौं महानगरपालिकाकी उपप्रमुखलाई जानकारी गराएर राहतको पलह गर्छु।’
तस्बिरहरु- सहदेव चौधरी/देश सञ्चार