
यसपालिको नागपञ्चमीमा मैले फेसबुकमा एक अनौठो ट्रेण्ड देखें। मानिसहरु नागपञ्चमीको उपलक्ष् मा एक अर्कासँग शुभकामना आदान प्रदान गरिरहेका थिए।
त्यो त केही अनौठो भएन, तर केही मानिसहरुले नागलाई र नाग जस्ता मान्छेहरुलाई पनि शुभकामना दिइरहेका थिए। कतिले चाहिँ नाग त बिचरा हो, आत्म रक्षाको लागि डस्छ, तर नाग भन्दा डरलाग्दा त बरु मान्छेहरु नै हुन्छन्, काखमा लुटपुटिएर कति खेर डस्छ अड्कल नै लगाउन सकिँदैन भनेर स्ट्याटस राखेका थिए। यी स्ट्याटसहरुले मलाई पनि झस्काई दियो। मलाई के लाग्छ भने ती स्ट्याटसहरुले आजभोलि बढ्दै गएको अन्तरसम्बन्धको संकटलाई उठान गरेको छ।
सर्वप्रथम त ती पोस्ट राख्ने सबै साथीभाईलाइ धन्यबाद भन्न चाहन्छु, जसले यो गहन बिषयलाई व्यंग्यको रुपमा भएपनि उठान गरिदिनुभयो। त्यसपछि नागहरुसँग पनि क्षमा माग्न चाहन्छु किनभने नराम्रा मानिसलाई नाग भनेर नागको अपमान गर्न खोजेको त हैन, तर नागले पत्तै नपाउने गरी डस्ने भएर त्यस्तो स्वभाव भएका मानिसहरुलाई नागजस्ता भनिएका हुन सक्छन्। तर वास्तवमा हो पनि हिजो आज हाम्रा सम्बन्धहरु यति नाजुक हुँदै गएका छन् कि कतिखेर कोसँग के कुरामा दुश्मनी हुन्छ भन्नै सकिँदैन।
यस सन्दर्भमा अंग्रेजीको एउटा उक्ति याद आयो – ‘वाल्किंग अन एग सेल्स।’ यसको शाब्दिक अर्थ हुन्छ- अण्डाको बोक्रामा हिँड्नु। हिजोआज मानिसका सम्बन्धहरु अन्डाको बोक्रा जस्तै भएको छ, असाध्यै कमजोर।
थोरै असन्तुलनले पनि भताभुंग हुने। तर मेरो बिचारमा यो कुनै व्यक्ति विशेषको समस्या मात्र होइन। जसरी साइकललाई लस्करै पार्क गरिरहेको ठाउँमा एउटा साइकललाई लडाइ दियो भने त्यसले एकपछि अर्को गर्दै एक साईकलले अर्को साइकललाई लडाउँदै जान्छ।
त्यसरी नै हाम्रा सम्बन्धहरु पनि उसले उसको कुरा काट्ने, उसले उसको खुट्टा तान्ने, उसले उसलाई खाल्डोमा हाल्ने, साँच्ची भन्ने हो भने यहाँ कोही पनि चोखो छैन- न त म, न त तपाईँ, न अरुहरु नै। तर यसलाई व्यक्तिगत समस्या र कमजोरीका रुपमा मात्र नहेरौँ। यो जल्दोबल्दो सामाजिक संकट हो। यसरी मानिसहरुका सम्बन्ध नाजुक हुँदै जानुमा विभिन्न कारणहरु पनि छन्।
पहिलो कारण त मानिसहरुमा छाएको आम निराशा नै हो। यो निराशा फेरि व्यक्तिगत समस्या मात्र हैन, यो राज्यको नै समस्या हो। मानिसलाई निराश बनाउने केही दीर्घकालीन कारणहरु हुन्छन्। बिशेष गरेर गरिबी, राजनीतिक असन्तुलन, बेरोजगारी, असुरक्षा, बाल्यकालका नराम्रा अनुभब, अनुभूतिहरु, जातीय विभेद, लैंगिक विभेद, भौगोलिक विभेद जस्ता कारणहरुले पनि मानिसहरुमा निरन्तर निराशा छाइरहेको हुन्छ।
नेपालको सन्दर्भमा यी सबै कारणहरुले गर्दा हामी निराश हुने जोखिममा निरन्तर परिरहेका हुन्छौं। जस्तै उदाहरणको लागि दिन बिराएर हामीले नेपालमा बालबालिकाहरुको बलात्कार, अपहरण र हत्याका समाचारहरु पढिरहेका हुन्छौं।
यी समाचारहरु पढ्दा हामीलाई आफैँ असुरक्षित भएको भान मात्र नभएर, आफ्ना नानीहरु पनि सुरक्षित नभएको महसुस हुने गर्दछ। हामीमध्ये कतिलाई त आफ्नै बाल्यकालमा आफूले भोगेका दुर्व्यवहारहरु सम्झेर मन अमिलो भएर आउँछ। यस्तो अवस्थामा मानिसहरुलाई एक आपसमा विश्वास हुँदैन, चाहे त्यो परिवारका सदस्य होस्, वा साथीभाइ, वा छिमेकी नै।
जब कुनै पनि मानिसले आफ्नो जातीयता, लैंगिकता, गरिबी जस्ता कारणले पटक पटक हिँसा र विभेद भोगेको हुन्छ, त्यस्ता मानिसहरुमा बिश्वासको संकट अनुभब हुन्छ। भर्खरै निर्मला पन्त बहिनीको बलात्कारपछि हत्या हुँदा मेरो पनि मन मष्तिष्क नै विक्षिप्त भएको थियो किनभने म एक छोरीकि आमा हुँ।
यसरी आफ्नो देशमा छोरीहरुलाई बलात्कार गरेर मारेको समाचार सुन्दा मलाईजस्तै सबैलाई आफ्ना बाल बच्चाको पिर लागेको होला। म मेरी छोरीलाई पटक पटक भनिरहेको हुन्छु, ‘सुरक्षित रहनू।’ यदि उसलाई केही समय छोडेर म कतै जानु पर्यो भने ऊसँग हरेक आधा घन्टामा मैले फोन गरेको हुन्छु। हिजोआज मैले फोन गर्दा ‘छोरी के छ ?’ भनेर सोधें भने उ फ्याट्ट जवाफ दिन्छे, ‘मामु! म सेफ (सुरक्षित ) छु।’ कहिलेकाहिँ ऊ आफैँ चनाखो भएर मैले कल गर्नु भन्दा पहिले नै मेसेज गर्छे, ‘सेफ।’
अहिले पनि मेरो मोबाइलको टेक्स्ट बक्स हेर्यो भने उसका “सेफ” लेखिएका मेसेजहरु प्रसस्त छन्। यो डर मेरो मात्र हैन, म जस्ता हजारौँ, लाखौं आमाहरुको डरको एक झलक मात्र हो। आखिर डर पनि कोसँग, आफनै मान्छेसँग। यसो हेर्यो अपहरणकारी, बलात्कारीहरु त्यही साँपजस्ता साथीहरु, आफन्तहरु, छिमेकीहरु, अनि सबभन्दा दुखको कुरा आफ्नै परिवारका सदस्यहरु – बुवाहरु, दाइहरु, मामाहरु, काकाहरु, भिनाजुहरु अनि त्यस्तै त्यस्तै।
कहिलेकाहिँ अलमल्ल पर्छु, कसलाई मात्र विश्वास गर्ने होला? छोरीहरुलाई कसको विश्वास गर भनेर सिकाउने होला? यसै सिलसिलामा मैले छोरीलाई भनेको थिएँ, कसैको पनि विश्वास हुँदैन, यदि कसैले तिमीलाई असहज किसिमको छुवाइ, चुम्बन, अङ्कमाल गर्यो भने तुरुन्तै त्यो मान्छेसँग भाग्नु र आफूलाई विश्वास लाग्ने अर्को बयस्क मान्छेकोमा जानु र आमालाई तुरन्तै फोन गर्नु।
साँच्चै भन्ने हो भने देशको अवस्था र सामाजिक असुरक्षाको कारणले गर्दा आफ्नै बुवा पनि सुरक्षित व्यक्ति हो, जसले तिम्रो हरेक पाइलामा सुरक्षा प्रदान गर्दछ भनेर सुरक्षित महशुस गराउन सक्ने अवस्था पनि छैन। हिजोआज मानिसहरुले एक अर्कालाई विश्वास गर्न सक्ने वातावरण नै गुमेको छ।
अनि उसले मसँग सोध्यो, को सेफ? को नट सेफ? मेरो लागि यो ठुलो नैतिक प्रश्न थियो। मैले कसरी भन्नु को सेफ, को नट सेफ भनेर। म जवाफ दिन अल्मलिरहेको बेला उसले मलाई भनी, ‘पापा त सेफ हो नि है मामु ?’ उसको कुराले मेरो मन कटक्क खायो। मैले सेफ हैन भनुँ भने उसको मनमा, उसको पापाको मनमा कस्तो भुइँचालो जान्छ होला? ‘सेफ’ भनूँ भने मलाई साँच्चि थाहा छैन।
मैले अध्ययन अनुसन्धानको क्रममा धेरै बालिकाहरु आफ्नै बाबुबाट बलात्कार भएको पढेको छु, देखेको छु, सुनेको छु। यसैले म कसैलाई पनि विश्वास गर्न सक्दिन, ‘मलाई माफ गर मेरो छोरीको पापा, मैले तिमीलाई शंका गरेको हैन, तिम्रो चरित्रमा प्रश्न चिन्ह उठाएको पनि हैन, तर मेरो देशको अवस्था छोरीहरुको लागि यस्तो भयाबह भयो कि, म कसैलाई पनि विश्वास गर्न सक्दिन।’
साँच्चै भन्ने हो भने देशको अवस्था र सामाजिक असुरक्षाको कारणले गर्दा आफ्नै बुवा पनि सुरक्षित व्यक्ति हो, जसले तिम्रो हरेक पाइलामा सुरक्षा प्रदान गर्दछ भनेर सुरक्षित महशुस गराउन सक्ने अवस्था पनि छैन। हिजोआज मानिसहरुले एक अर्कालाई विश्वास गर्न सक्ने वातावरण नै गुमेको छ।
मानिसहरुका सम्बन्ध नाजुक हुनुको दोश्रो कारण भनेको नेपालमा ब्याप्त रहेको सामाजिक विभेद र हिंसा पनि हो। नेपालको संबिधानमा कसैलाई पनि जातीय र लैंगिक रुपमा हिंसा गर्नु हुदैन भनेर स्पष्ट लेखिएको भए पनि व्यवहारिक जीवनमा त्यो लागू भएको पाइँदैन। नेपालमा गरिएको जनस्वास्थ्यको सर्वेक्षण अनुसार कम्तिमा पनि २२ प्रतिशत महिलाहरुले आफ्ना श्रीमानबाट कुटपिट तथा अन्य शारीरिक हिँसा भोगेका छन्।
त्यस्तै ६ प्रतिशत गर्भवती महिलाहरुले आफू गर्भवती हुँदा घरेलु हिँसा भोगेका छन्। त्यसै गरी ५७ प्रतिशत महिलाहरुले मानसिक हिँसा तथा नियन्त्रणको अवस्थाबाट गुज्रेका छन्। अझै ट्रान्स जेन्डरको हकमा कुरा गर्ने हो भने त् अझै पनि नेपाली समाजले उनीहरुलाई सम्मानपूर्वक स्वीकार गरेको छैन।
यसरी घरेलु हिँसा तथा विभिन्न किसिमका विभेदहरु धेरै भएको अवस्थामा मानिसहरुले आफ्नै घरका मान्छेहरुलाई समेत विश्वास गर्न सक्दैन। जातीय विभेदका कुरा गर्ने हो भने पनि नेपालमा अझै पनि जातीय विभेद सकिसकेको अवस्था छैन। मुखले जातीय विभेद सकियो भने पनि अझै पनि कतिपय अन्तर जातीय विवाह गरेका बुहारीहरुलाई पूजाआजामा, मर्दापर्दा, पितृको काममा छुन दिदैंनन्।
बुहारीहरुले मात्र हैन, यस्तो किसिमको दुर्व्यवहार ज्वाइँहरुले पनि भोगेको हुन सक्दछ। जात मात्र हैन, हाम्रो देशमा सुषुप्त रुपमा रंगभेद पनि छ। गोरो छाला भएका मनिसहरुलाई खैरा वा काला छाला भएका मानिसभन्दा राम्रा भन्ने आम सोचाइ छ, जसले गर्दा काला वा गहुँगोरो वर्ण भएकाहरुलाई हिनताबोध हुने र गोरो छालाको ईर्ष्या लाग्ने हुन सक्छ।
यसरी पुरुषले महिलालाई हेप्ने, महिला पुरुष दुबैले ट्रान्स जेन्डर व्यक्तिहरुलाई हेप्ने, धनीले गरिबलाई हेप्ने, पढेलेखेकाहरुले नपढेकालाई हेप्ने, शहरियाले गाउँलेलाई हेप्ने, हिमालले पहाडलाई हेप्ने, पहाडले तराईलाई हेप्ने, बिदेशमा जानेले देशमा बस्नेलाई हेप्ने जस्ता आदि इत्यादि विभेदपूर्ण सोचहरु र हेपाहा प्रवृतिले निरन्तरता पाउँदै गयो भने मानिसहरुको आपसी सम्बन्ध झन् झन् बिग्रँदै जान्छ।
नेपालमा मानिसहरु सधैँ तनाबमा रहनु र तनावलाई राम्ररी व्यवस्था गर्न नसक्नुको एउटा अर्को कारण भनेको मानसिक स्वास्थ्य सेवाको कमि पनि हो। नेपालको हालको अवस्था यस्तो छ कि, हरेक नेपालीलाई कुनै न कुनै तनाब छ तर तनाब व्यवस्थापनको लागि दरिलो मानसिक स्वास्थ्य व्यवस्था छैन।
भएका स्वास्थ्य व्यवस्थालाई पनि प्रयोग गर्दा सामाजिक लाजको बिषय हुन्छ। विकसित मुलुकहरुमा मानिसहरु तनाबमा रहे भने मानसिक परामर्श दातालाइ भेट्न जान्छन्, आफ्ना कुराहरु पोख्छन र समस्या समाधानका लागि मिलेर रचनात्मक विधिहरु बनाउछन् र त्यसको उपयोग गर्छन्। जब मानिसहरु तनाबमा पर्छन् तब उसलाई आफ्नो मनको कुरा कसलाई भनुँ भनुँ जस्तो हुन्छ।
नेपालमा यस्तो परामर्श सेवा नभएको हुँदा मानिसहरु एक अर्कासँग आफ्नो मनको कुरा भन्छन्। तर एउटा भिखारीले अर्को भिखारीसँग भिख मागेजस्तो कहिलेकाहिँ आफ्नो आन्तरिक कुरा अरुसँग खोल्नु पनि उत्तिको सहायक सिद्ध हुँदैन। अझ कहिलेकाहिँ त त्यो डरलाग्दो समेत हुन्छ। कसैलाई आफ्नो दुख भन्यो भने त्यसलाई कमजोरीको रुपमा पहिचान गरेर अर्को मान्छेले त्यहि निहुँमा त्यो दिनदेखि उसलाई हेप्न थाल्छ। अझ कतिले त्यो कुरालाई यताउता अरुसम्म पुर्याइदिन्छन्।
हिजोआज टेक्नोलोजीको जमानामा त अझ मुखले भन्दै हिँड्नु पनि पर्दैन, थ्यास्स थिच्यो, कपिपेस्ट- सेन्ड गर्यो भने कुराकानी देशविदेश भाइरल भइदिन्छ। सायद यस्तै कुराले आजित भएर केही साथीहरुले ‘नाग जस्ता मान्छेहरुलाई नागपञ्चमीको शुभकामना’ भनेका होलान्।
सायद हामी आफैं धेरै तनाबमा भएर होला अरुहरुको तनाब र दुखलाई करुणाले हामी सुन्न नै सक्दैनौँ, कसैले आएर भन्यो भने पनि सुन्छौँ, सुन्छौँ, अनि आफूले भनेको जस्तो भएन भने उसैको टाउकोमा ओकली दिन्छौँ। कतिपय अवस्थामा चाहिँ अरुको दुख सुनेर, देखेर आफूले आफूलाई भित्रभित्र स्वाद लिएर सान्त्वना दिएर बस्छौँ, ‘एह्ह! मैले भन्दा धेरै दुख पाको रहेछ ल ठिक छ’ भनेर।
त्यसैले मेरो बिचारमा जसरी ज्वरो आउँदा हामी तुरन्तै सिटामोल खान्छु, त्यसरी नै हाम्रा तनाबहरु बढेको बेला तुरन्तै तालिम प्राप्त मानसिक परामर्श दाताहरु, लैंगिक हिँसा बुझेका व्यक्ति तथा संघ संस्थाहरु संग भेटेर सही सल्लाह लिनुपर्छ।
हिजोआज नेपालमा पनि परामर्शका सेवाहरु बिस्तार हुँदै आएको छ। नेपालमा पनि अन्य देशमा जस्तै साइकोलोजी बिषयमा अध्ययन गरेका र तालिम लिएका साइकोलोजिस्टहरु छन्। उहाँहरुको सहयोग साथीभाइको सहयोग भन्दा महत्वोपूर्ण र उपयोगी हुन्छ।
मानसिक स्वास्थ्य जस्तै अर्को महत्वपूर्ण पाटो भनेको सम्बन्धलाई व्यवस्थापन गर्ने व्यक्तिगत ज्ञान र शिपको अभाव पनि हो। हामी सकारात्मक भावनाहरुको बारेमा खुलेर कुरा गर्छौ, तर नकारात्मक भाबनाहरुलाई अभिव्यक्त गर्न जान्दैनौँ। यसैले मलाइ लाग्छ अन्तर सम्बन्धलाई कसरी स्वस्थ राख्न सकिन्छ भनेर औपचारिक तथा अनौपचारिक तालिमहरु हुनु जरुरी छ।
यदि हामी हाम्रा सम्बन्धहरुलाई साँच्चै नै महत्व दिन्छन् भने सम्बन्धमा कहिले राम्रो, कहिले नराम्रो हुन सक्छ भनेर स्विकार्नु पर्ने हुन्छ। कहिले काहिँ विमतिहरु हुँदा, विमतिमा सहमत हुन सिक्नुपर्छ।
कसैको प्रसंशा गर्न हामी माहिर छौं, जस्तो कोही फर्स्ट भयो भने, “ओहो ! लौ बधाई छ” भनेर उल्का खुसियाली मनाउछौं। तर कोहि फेल भयो भने के भन्ने के भन्ने हुन्छ। त्यसै गरि साथीभाईको कुरा मन पर्यो भने फुरुंग पर्छौ, तर उसको कमीकमजोरीका बारेमा कसरी कुरा गर्ने भनेर हामीले जानेका छैनौं।
कोही मानिस केही चित्त बुझेन भने बोल्दै बोल्दैन, टाढा टाढा हुन्छ। आफूलाई चित्त नबुझेको कुरा आफ्नै मन भित्र राखिरहन्छ। कोही मानिस चाहिँ रिस उठ्यो भने मुखमा आएजति तथानाम भनिदिन्छ। कोही मानिसहरु चित्त नबुझेको कुरा अगाडि भन्दैनन्। अगाडि हुँदा मीठो नै बोल्छ, तर पछाडि कुरा काट्दै हिड्छन्।
हुँदाहुँदा कोही मानिस त कस्ता पनि हुने रहेछन् भने, रिस उठ्यो भने पार्टी गरेर सबैलाई बोलाइ दिने, अनि जोसँग रिस उठेको छ उसलाई नबोलाएर सामाजिक बहिस्कार गर्ने पनि हुन्छन्। कोही मानिस आफ्नो कुरा चाहिँ जसरी भए पनि प्याचपुच भन्ने, अनि अरुको कुरा चाहिं पटक्कै नसुन्ने पनि हुन्छन्। वास्तबमा माथि उल्लेखित कुनै पनि तरिका स्वस्थ तरिका हैन।
यदि हामी हाम्रा सम्बन्धहरुलाई साँच्चै नै महत्व दिन्छन् भने सम्बन्धमा कहिले राम्रो, कहिले नराम्रो हुन सक्छ भनेर स्विकार्नु पर्ने हुन्छ। कहिले काहिँ विमतिहरु हुँदा, विमतिमा सहमत हुन सिक्नुपर्छ।
जस्तो कसैलाइ अन्तरजातीय बिबाह मन नपर्न सक्छ, तर तपाईँलाई मन पर्छ भने पनि साथीको मतमा सम्मानपूर्वक असहमत हुनुपर्छ। कहिले काहिँ मानिसहरुसँग झगडा भयो भने कुन बिषयमा झगडा भएको हो त्यो बिषयमा मात्र सहमति विमति केन्द्रित गर्नु पर्दछ। बिषयलाई व्यक्तिसँग, उसको चरित्र तथा आचरणसँग लगेर जोड्नु हुदैन ।
मेरो बिचारमा यसरी मानिसहरु एक अर्काप्रति हिंश्रक हुनुको अर्को एक कारण भनेको सायद अध्यात्म बिकासको कमि पनि हो। नेपाल बुद्ध जन्मेको देश भए पनि हामीले उनको जन्मलाई संसारमा धाक लगाउन मात्र प्रयोग गर्यौ। उनले दिएको शिक्षालाई बेवास्ता गर्यौ। बुद्ध वाज बोर्न इन नेपाल भनेर ठूलै राष्ट्रिय अभियान गर्यौ, तर उनले सिकाएको ध्यानको क्रान्ति भने गर्न सकेनौं।
हामीलाई धेरै कुरा गर्न फुर्सद हुन्छ, तर पाँच मिनेट बुद्धले भनेको जस्तो एक ठाउमा थपक्क बसेर आफ्नै स्वास आएको गएको हेर्ने ध्यान गर्ने फुर्सद हुँदैन।
ध्यान र योगाले मानिसको शारीरिक तथा मानसिक बिकासमा ठुलो प्रभाव पर्छ भन्ने कुरा हरु जानेर बिकसित देशका मानिसहरु ध्यान गर्न थाली सके, योगा गर्न थाली सके, तर हामी भने यी अध्यात्मका कुरा बुढेसकालको लागि भनेर साँचेर राख्छ्म्।
मानिसले जीवन र जगतलाई बुझ्नु पर्ने त आफु जवान हुँदा, जीवन प्रति आफ्ना जिम्मेवारी हुँदा हो नि, बरु मर्ने बेलामा धर्म नगरे पनि हुन्छ हरेक जवान मानिस धार्मिक हुनु पर्छ जस्तो मलाई लाग्छ। तर मेरो अर्थ यो धर्म, त्यो धर्म भनेर भन्न खोजेको हैन।
वास्तवमा भन्ने हो भने हरेक धर्मले मानिसलाई जीवन जिउने कला सिकाउँछ, त्यसको अध्ययन गर्नु, बहस गर्नु र जीवनमा लागु गर्नु जरुरी हुन्छ। एक धर्मगुरु तथा रहस्यदर्शी ओशोले भन्नु भएका जीवन दर्शनका केहि कुरा यहाँहरु समक्ष राख्ने अनुमति माग्दछु।
कृपया यसलाई “धर्म प्रचारका” रुपमा नलिदिनु होला। उहाँको किताब पढेर मैले त्यसबाट साभार गरेको मात्र हुँ। उहाँ भन्नु हुन्छ, “मानिसले जीवन जन्मिदैमा पाउँदैन। जन्मेर उसले जीवनको सम्भावना मात्र पाउँदछ। जीवन त खोज्नु पर्दछ।
हरेक मानिस बुद्ध हुने सम्भावना बोकेर जन्मेको हुन्छ। हरेक मानिस बुद्धत्वको बिउ हो। त्यसैले हरेक मानिसले बिउबाट अङ्कुरित हुने कोसिस गर्नु पर्दछ, फुल्नु र फक्रिनु पर्दछ।
जो मान्छे आफ्नो खोजीमा लाग्छ, उसले अरुको जीवन र स्वतन्त्रतामा दखल दिदैंन। यसै गरी उहाँले भन्नु भएको अर्को एउटा भनाइ पनि राख्न चाहे, “यदि कसैले प्रशंसा गर्यो भने फुरुंग नहुनु। कहिले कहिँ मानिसहरुले प्रशंसा गरेर उनीहरुको दास बनाउन खोजेको हुन्छ, त्यसैले होसमा रहनु। कसैले तिमीलाई बुद्धिमान भनेर बुददु बनाउला, होसमा रहनु। सुखको बेला आफ्नो होस् नगुमाउनु। जसले सुखको बेला होस् गुमाउछ , उसले दुख पनि सम्हाल्न सक्दैन।”