
भद्रपुर- झापामा विगत एक महिनायता यौन हिंसाका घटना बढ्दै जाँदा त्यसविरुद्ध जिल्ला प्रहरी कार्यालय झापाले आइतबारदेखि विशेष सुरक्षा अभियान परिचालन गरेको छ।
कार्यालयले ५० वटा मोटरसाइकलमा एकसय जना प्रहरी उक्त अभियानमा परिचालन गरेको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।
उक्त अभियानमा खटिएका प्रहरीले गाउँ गाउँ गएर यौन हिंसाका कारण र त्यस्मा संलग्नहरुको खोजी गर्ने जिल्ला प्रहरी झापाले जनाएको छ। त्यस्ता घटना भएका र हुनसक्ने संभावना भएका स्थानहरुको पहिचान गरिने एसपी ढकालले बताए। उनले भने, ‘हामीले स्थानहरुको पहिचान गरेका छौं। त्यस्ता स्थानहरुमा सादा पोषाकका प्रहरी पनि खटाइएको छ।’
बलात्कारलगायतका यौन हिंसाका दोषीलाई पक्राउ गरि हदैसम्मको सजाय दिलाउनका लागि प्रहरी यो गस्तीले विशेष भूमिका निर्वाह गर्ने पनि ढकालले बताएका छन्।
गस्तीमा गएका प्रहरीहरु देखेपछि त्यस्ता घटना गराउनेहरु निरुत्साहित हुने पनि प्रहरीले विश्वास गरेको छ।
उक्त गस्तीका लागि सादा पोषाकमा ५० जना प्रहरी खटिएका छन्। मोटरसाइकलमा एक सय जना, तलासी लिने टोलीमा ३५ जना, पैदल गस्तीमा ३५ जना र अनुसन्धानमा १५ प्रहरी खटिएको जिप्रका झापाले जनाएको छ। उक्त कामको नेतृत्व जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले लिएका छन्।