
पोखरा- पोखरा-गण्डकी प्रदेश सरकारले ‘हेलो मुख्यमन्त्री’ कार्यक्रम सोमबारदेखि सुरु गरेको छ।जनताको गुनासो सुन्न प्रदेश सरकारले ‘हेलो मुख्यमन्त्री’ सुरु गरेको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘हेलो मुख्यमन्त्री’को उद्घाटन गरे। ‘हेलो मुख्यमन्त्री’मा गण्डकी प्रदेशका जनताले १०९४ मा फोन गरेर गुनासो राख्न सक्नेछन् । पूर्वाहृन १० बजेदेखि अपराहृन ५ बजेसम्म कर्मचारी बसेर गुनासो टिप्नेछन् भने त्यसबाहेकको समयमा अटोमेटिक रुपमा गुनासो रेकर्ड हुनेछ ।
त्यस्तै, एन्ड्रोइड मोवाइल प्रयोगकर्ताले Hello CM Android App डाउनलोड गरी सोहि एपमार्फत गुनासो राख्न सक्नेछन् । यसैगरी हेल्लो मुख्यमन्त्रीको वेभसाइट Hellocm.gandaki.gov.np मा गएर, hellocm@gandaki.gov.np मा मेल गरेर र हेल्लो मुख्यमन्त्रीको कार्यालयमै सिधै गएरपनि गुनासो राख्न सकिने जनाइएको छ ।
टिपिएको वा रेकर्डेड गुनासाहरु सुनेर तत्काल समाधान गरिने प्रदेश सरकारले जनाएको छ । राखिएको गुनासाको कार्य प्रगति पनि समाधान भएका गुनासाहरुको Hellocm.gandaki.gov.np मा हेर्न सकिनेपनि जनाइएको छ ।
सोमबार दिउँसो १ बजे सुरु गरिएको ‘हेलो मुख्यमन्त्री’को पहिलो फोन पोखरा १५ का कृष्ण पौडेलले गर्नु भएको थियो ।
मुख्यमन्त्री स्वयम्ले उठाएको सो फोनमा पौडेलले तीन वटा प्रश्न सोधेका थिए । उनले पहिलो प्रश्नको रुपमा पर्यटकको बसाइ कसरी लम्ब्याउने ? पर्यटकको सुरक्षा कसरी दिने ? र पर्यटन प्रवर्द्धन कसरी गर्ने ? भनेर तीनवटा प्रश्न राखेका थिए ।
त्यसलगत्तै पोखरा ३ नदीपुरका उपेन्द्र पौडेलले पनि फोन गरे । मुख्यमन्त्रीले फोन उठाएलगत्तै सेवा सञ्चालन भए/नभएकोबारे बुझ्न मात्रै फोन गरेको भन्दै ‘हेलो मुख्यमन्त्री’ सुरु गरेकोमा बधाई दिनुका साथै प्रभावकारी बनोस् भन्दै शुभकामना दिएका थिए ।
उद्घाटनको अवसरमा बोल्दै मुख्यमन्त्री गुरुङले गुनासोको प्रकृति हेरेर तत्काल सम्बोधन गर्न प्रयास गर्ने बताए । उनले भने “यस्लाई प्रभावकारि रूपबाट अगाडि बढाएर गण्डकी प्रदेशका नागरिकको गुनासोलाई ध्यान दिएर काम गर्नेछु ।”