विकाश श्रेष्ठ –
म दुई दिनअघि एसियाली खेलकुद-एसियाड खेलेर फर्किएको छु। अँ, हामीले राम्रो खेल्यौं। पुरुष टिममा पाकिस्तानलाई हराएर क्वाटरफाइनलसम्म पुग्यौँ। दक्षिण एसियाकै टोली भएपनि यसअघि पाकिस्तानलाई हराउन सकेका थिएनौँ।
हाम्रो लक्ष्य नै थियो, पुरुष टिममा कम्तिमा क्वाटरफाइनलसम्म पुग्ने। पहिलो चरण पार गर्दा हामी यो सफलता हात पार्ने थियौँ। हामी पुग्यौँ। पुरुष युगलमा पनि दोस्रो चरणसम्म पुगेँ। पुरुष एकलमा पहिलो चरणमै पराजित भएँ।
साँच्ची, यो मेरो तेस्रो एसियाड सहभागिता थियो। तीनवटा एसियाडमा देशको प्रतिनिधित्व गर्न पाउनु एउटा खेलाडीका लागि निकै गर्वको कुरा हो। हामी ब्याडमिन्टन खेलाडीका लागि ओलम्पिक भन्नु यहि एसियाड न हो।
अाखिर ओलम्पिक त हरेक खेलाडीको सपना नै हुन्छ ! सन् २०१० मा चिनको ग्वन्जावमा आयोजित १६ औँ एसियाड मैले खेलेको सबैभन्दा ठूलो प्रतियोगिता थियो।
मलाई सँधै याद आउँछ,त्यो सहभागिता। एसियाभरिका खेलाडी, स्पोर्टस भिलेज भित्र र बाहिरको त्यो वातावरण ! सम्झँदा मन रोमान्चित हुन्छ। मलाई लाग्यो- जित हार ठुलो कुरा होइन तर यो प्रतियोगितामा सहभागी नै हुनु ठूलो कुरा हो।
त्यस्तो एक्साइटमेन्ट दोस्रोपटक जुरेको छैन मलाई। म सहभागी हरेक स्पर्धाको पहिलो चरणबाटै बाहिरिँए। चार वर्षपछि दक्षिण कोरियाको इन्चोनमा आयोजित एसियाडमा पनि म सहभागी भएँ। हामीले पुरुष टिम स्पर्धामा मकाउलाई हराएर क्वाटरफाइनलमा स्थान बनायौँ।
ब्याडमिन्टनको पावर हाउस मानिने एसियामा हामीले यो सफलता हात पार्नु चानचुने कुरा थिएन। पुरुष एकलको पहिलो चरणमा मेरो प्रतिस्पर्धा थियो जापानका खेलाडी केनिती तागोसँग जो त्यतिबेला विश्व नम्बर ४ थिए।
मैले त्यो खेल २१-१० र २१-१७ ले हारेँ। तपाई नपत्याउन पनि सक्नुहुन्छ, त्यो खेलपछि मलाई सबैले बधाई दिए क्या राम्रो खेल्यौ भनेर। म खाना खान पनि बिर्सिएर सुतेछु। ५ घन्टापछि बिउँजिएछु। सायद म निकै थाकेको थिएँ।
अनि यसपटक ? पहिलाजस्तै यसपटक पनि हामीलाई पहिला नै थाहा थियो- थाइल्यान्ड, मलेसिया, चिन,इन्डोनेसिया,भारत,जापान लगायत धेरै बलिया देशका खेलाडीहरु त्यहाँ हुनेछन्। हाम्रो प्रयाश एक चरण जित्नु र त्यसपछि कति कम अन्तरले हार्ने भन्नेमा थियो।
आत्मलाई साँच्ची राखेर भन्दा अंक नै नल्याई त खेल हारिन्न नि भन्ने पनि लाग्ने गर्छ यस्ता प्रतियोगितामा। किनभने मैले माथि उल्लेख गरेका देशका खेलाडीको स्तरबारे म के भनौं, तपाईले एकपटक उनीहरुको खेल हेर्नु भयो भने चाल पाउनु हुन्छ।
पुरुष युगलको दोस्रो चरणमा हाम्रो प्रतिस्पर्धा मलेसियन जोडीसँग थियो जसले रियो ओलम्पिकमा रजत पदक जितेका थिएँ। पुरुष एकलमा मैले पहिलो चरणमा बाई पाएको थिएँ।
दोस्रो चरण अर्थात अन्तिम ३२ मा मेरो प्रतिस्पर्धा थियो जापानी खेलाडि मोमोतो केन्तोसँग। केही महिनाअघि मात्र विश्व च्याम्पियन बनेका केन्तोसँग खेल्न पाउनु मेरा लागि अवसर थियो।
मैले यो खेल २१-९ र २१-१० को सोझो सेटमा गुमाएँ। विश्व च्याम्पियनसँग नै हारे पनि हार त हार नै हो नि! केही नरमाइलो त लागिहाल्छ नि ? मेरो पनि त मन छ।
हार्नु ठुलो कुरा होइन। तर कोसँग र कसरी हार्यो भन्ने महत्वपूर्ण हो। मैले तीनपटक एसियाड खेलेँ तर कहिले पनि मेरो मेन्टालिटी परिवर्तन भएन। केवल कम अन्तरले हार्न मात्र खेल्नुपर्यो। यसलाई नै आफ्नो सफलता मान्नुपर्ने अवस्था बन्यो।
किनकी हामी सबैलाई थाहा छ,त्यो स्तरमा स्तरीय प्रतिस्पर्धा गर्न हाम्रो तयारी पुगेको छैन। र, तयारी एक दुई महिनाको बन्द प्रशिक्षण वा वैदेशिक प्रशिक्षणले पुरा हुँदैन। यसका लागि योजनाबद्ध कार्यक्रमहरु आवश्यक हुन्छ।
म आफैलाई पटकपटक प्रश्न गर्ने गरेको छु- हामी सबै कुरा थाहा हुँदाहुँदै बारम्बार किन दोहोर्याईरहेका छौँ? पहिलोचरणमै हार्ने जान्दाजान्दै मैले किन तीनपटक एसियाड खेलेँ? यो अनुभवका लागि मात्र थियो भने हामीले त्यो अनुभवलाई किन अन्यत्र प्रयोग गर्न सकेनौंँ ? अनि मेरो मनले भन्छ- यसको जवाफ मसँग छैन।
हामी हामी त झाडीमा उम्रिएको फलको बोट जस्तै छौँ। कसैको मिहेनत परेको हुँदैन। राम्रो फल्यो भने फलि गयो,फलेन भने पनि कुनै चिन्ता हुँदैन।
हामी हरेकपटक एसियाडमा सहभागी हुन्छौँ। हाम्रा प्रशिक्षक,संघ,राखेप,मन्त्रालय,देश सबैलाई थाहा हुन्छ- खेलाडीले कस्तो खेल्यो र अन्य प्रतियोगितामा सफलता हात पार्न हामीले कुनस्तरको मिहेनत गर्नुपर्छ अब? तर त्यहाँको अनुभवलाई हामी फेरि चार वर्षपछि हुने अर्को एसियाडका लागि मात्र प्रयोग गर्न खोज्छौं। अनि नतिजा उही !
हार्न त हामीलाई पनि कहाँ मन हुन्छ र ? तर हार्दा हाम्रै नाम आउँछ। अहिले खेलाडी घुम्न गए,घुमाउन लगियो जस्ता कुराहरु आईरहेका छन्। त्यो सुन्दा मलाई पनि त चित्त दुख्छ,रिस उठ्छ।
अरे यार,हार्नका लागि त कोही गएको हुँदैन नि। यसको मतलब यो होइन की हार्नका लागि गएको होइन भन्दैमा एसियाडमा गएर म पदक जितिहाल्छु। त्यो सोच्नु त मुर्खता हो। हामी कुन लेभलसम्म खेल्न सक्छौँ र सकिन्छ भन्ने आफुमा ज्ञान हुनुपर्छ।
यसपटक हामी चाँही खुशी छौँ। निराश हुनुपर्ने कुनै कारण छैन। वर्ल्ड च्याम्पियन र वर्ल्ड नम्बर एकसँग खेल्न पाउनु भाग्यको कुरा हो। अरु खेलमा कहाँ यो अवसर प्राप्त हुन्छ र ?
नेपालमा धेरै खेलका खेलाडीले यो अवसर पाउँदैनन्। फुटबलमा विश्व विजेता वा पुर्व विश्व विजेतासँग कहिले खेल्ने ? समय लाग्ला तर अहिले नै हामी विश्व विजेता वा ठुला टोलीसँग त खेल्न पाउँदैनौ नी !
तर कहिलेसम्म अनुभवका लागि खेल्ने? भाग लिने ? कहिलेसम्म चाहीँ सहभागिताका लागि मात्र खेलाडी पठाउने ? त्यो चाँही राष्ट्रिय खेलकुद परिषद्-राखेप,सरकार र सम्बन्धित खेल संघहरुले बुझ्नुपर्ने र सोच्नुपर्ने हो। खेलाडी आफ्नोतर्फबाट कहाँ खेलेको छ, कसरी खेलेको छ ? यहाँ कसैलाई थाहा हुँदैन।
कुनै प्रतियोगिता हुनुअघि छनोट प्रतियोगिता आयोजना गरिन्छ। तीनै खेलाडीमध्ये कोही छनोट हुन्छन् अनि हामी उनिहरुबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा पदकका आशा गर्छौं। लगानी गर्नु पर्यो नि! म चिनसम्म जान्न,भारतकै उदाहरण दिन्छु।
अहिले भारतले ब्याडमिन्टनमा र्यापिड्ली प्रगति गरिरहेको छ। सिन्धु वर्ल्ड च्याम्पियनसिपमा तीनपटक फाइनलमा पुगे,ओलम्पिकमा रजत पदक जिते। अहिले एसियाडमा सइना नेहवाल र सिन्धुले एउटा रजत र एउटा कास्य जितेका छन्।
यी खेलाडिहरु चार वर्षको मिहेनतले तयार भएका होइनन्। १०,१२,१५ वर्षको लगानी र मिहनेत छ। अभिभावकको लगानी छ,जिल्लाको लगानी छ,प्रान्तको लगानी छ। र,देशको लगानी छ। तर यहाँ के छ ? हामी त झाडीमा उम्रिएको फलको बोट जस्तै छौँ। कसैको मिहेनत परेको हुँदैन।
राम्रो फल्यो भने फलि गयो,फलेन भने पनि कुनै चिन्ता हुँदैन। मलाई कसैले खेलाडि बनाउँछु भनेर म खेलाडि भएको होइन। मैले आफ्नो सोखले खेलेँ। यु-१६ राष्ट्रिय च्याम्पियन हुँदासम्म मैले कभर्डहलमा खेल्न पाएको थिइन।
त्यसपछि मात्र प्रशिक्षणको पनि अवसर पाएँ। अनि मबाट आशा गरेर हुन्छ? एसियाडमा पदकको सपना देखेर हुन्छ ? राम्रो ब्याड राख्नुपर्यो, मलजल पनि त्यही अनुसार गर्नुपर्यो अनि मात्र राम्रो फल लाग्छ र राम्रो फलको अपेक्षा गर्न सकिन्छ।
हाम्रा लागि त एसियाड जानु नै ठूलो कुरा हुन्छ। एसियाड खेल्न जाने सबै खेलाडीले जित्ने होइन। ब्याडमिन्टनकै कुरा गर्ने हो भने जापान,चिन,मलेसिया लगायत बलिया देशका खेलाडिहरु हाम्रै चरण वा हामीभन्दा अघिल्लो चरणबाट पनि हारेका छन्।
तर उनीहरु राम्रो टोलिसँग राम्रो खेल्दाखेल्दै बाहिरिए। बलियो चुनौती दिनसक्ने हैसियत त बनाउनु पर्यो नी ! हाम्रो चाँही हार्ने बढी भए त्यसमा पनि धेरै पहिलो चरणमै र आक्कल झुक्कल दोस्रो चरणमा पुगेर। हामीलाई पनि टेन्सन हुन्थ्यो होला अन्य खेलका खेलाडिले पदक जितेको भए। तर सबै हारिरहेका छन्। कसलाई टेन्सन हुनु ?
सपना देख्नु वा एसियाड वा ओलम्पिकमा पुगेर मेडन जित्ने लक्ष्य बनाउनु ठुलो कुरा होइन। त्यो लक्ष्य पुरा गर्न कत्तिको तयारी गर्नुपर्छ त्यो बुझ्नुपर्छ। तर हामी त कहीँ जागिर गरेर खेललाई पार्ट टाइमजस्तो बनाउनुपर्ने अवस्था छ। आत्मालाई साक्षी राखेर भन्ने हो भने अहिले हरेक खेलमा दक्षिण एसियाली खेलकुदलाई लक्ष्य बनाउँछु भन्दा पनि गाह्रो छ।
हामी सागमा पदकका लागि तड्पिरहेका छौं। सागमा कुन खेललाई फोकस गर्ने, कुन खेलले पदक ल्याउँन सक्छ भन्नेमा हामी कन्फ्युज भईरहेका छौं। किनभने विगतमा पदक ल्याईरहेका खेलहरुले पनि अहिले पदक जित्न छाडेका छन्। राखेप,संघ,सरकार सबैले अहिलेकै अवस्थामा, यहि लगानीमा खेलाडिले खेलिदिन्छन् र पदक जित्छन् भनेर आशा गर्नु बेकार हो।
जुनियर लेभलदेखि राम्रो गरेर धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएमा राम्रा र स्तरीय खेलाडी आउन सक्छन्। अनि हामी राम्रो रिजल्टको अपेक्षा गर्न सक्छौँ। कसैले भाग्यबस राम्रो पनि गरेको हुन सक्छ तर यसैलाई आधार बनाएर सम्पुर्ण खेल,खेल पदाधिकारी,राखेप र सरकारले क्रेडिट लिन मिल्दैन। केवल मुर्खता हुन्छ।