नेपाली फुटबल

बंगलादेशमा लागेको उपाधि खडेरीको ‘ब्रेक’, त्यहाँ यस्तो छ नेपाली फुटबलको कथा

बंगलादेशमा लागेको उपाधि खडेरीको ‘ब्रेक’, त्यहाँ यस्तो छ नेपाली फुटबलको कथा
+
-

काठमाडौँ – नेपालमा आयोजित  पहिलो दक्षिण एसियाली खेलकुद (तत्कालीन साफ गेम्स)। दक्षिण एसियामा फुटबल अहिलेभन्दा बढी लोकप्रिय थियो त्यतिबेला।

त्यस साफ गेम्समा फुटबलमा स्वर्ण जित्नु अन्य खेलका स्वर्ण जित्नुभन्दा बढी महत्वपूर्ण थियो। सिनियर टोलीले प्रतिस्पर्धा गर्ने भएकाले त्यसको रोमान्चकता पनि बेग्लै थियो। धेरै खेलप्रेमीलाई खुशी बनाउँदै नेपाली फुटबल टोली घरेलु मैदानमा फाइनल पुग्यो।

उपाधि भिडन्तमा प्रतिद्धन्द्धी थियो-बंगलादेश। अन्तत नेपालले यो खेल ४-२ गोलले जित्यो र फुटबलमा पहिलो अन्तर्राष्ट्रिय सफलता हात पार्‍यो। यसपछि अन्तर्राष्ट्रिय फुटबलमा सफलता हात पार्न नेपाललाई बंगलादेश नै पुग्नु पर्‍यो। त्यसो त सन् १९८७ मा भारतमा आयोजित साफ गेम्सको फुटबलमा नेपाल फाइनल त पुग्यो तर भारतसँग १-० गोलले पराजित भएपछि रजत पदकमा सीमित बन्यो।

तर सन् १९९३ मा बंगलादेशमा आयोजित साफ गेम्सको फुटबलमा नेपालले फेरि स्वर्ण हात पार्‍यो।  फाइनलमा भारतसँग निर्धारित समयको खेल २‍-२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिईएको थियो। नेपालले यो खेल ४-३ गोलले जित्यो। त्यस सागमा नेपालले हात पारेको त्यहि एकमात्र स्वर्ण पदक थियो।  त्यसयता नेपाल २ दशकभन्दा बढी समय अन्तर्राष्ट्रिय फुटबलमा उपाधिबिहीन रह्यो। यसबीचमा सन् १९९९ मा नेपालमै आयोजित साफ गेम्समा फुटबलतर्फ नेपाल फाइनलमा त पुगेको थियो।

तर बंगलादेशले यसपटक १-० गोलले हराएर पुरानो बदला लियो। त्यसपछिको साफ गेम्समा भने फुटबलमा यू-२३ राष्ट्रिय टोलीले मात्र प्रतिस्पर्धा गर्न पाउने नियम बनाइयो। त्यसअघि नेपालले अन्तिमपटक साफ गेम्समा स्वर्ण जितेकै वर्ष सन् १९९३ मा दक्षिण एसियाली फुटबल महासंघ-साफ च्याम्पियनसिप आयोजना सुरु भएको थियो। र, फुटबलका यी दुवै प्रतियोगितामा नेपालको यात्रा लामो समय बिर्सनलायक रह्यो।

तर सन् २०१६ को सुरुवातमा बंगलादेशको चर्चित अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता बंगबन्धु गोल्डकपमार्फत नेपालले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा २३ वर्षपछि पहिलो उपाधि जित्यो। तत्कालीन कप्तान सागर थापासहित चर्चित नेपाली फुटबलरहरु खेल मिलेमतोको आरोपमा प्रतिबन्धित भईसकेको अवस्थामा भित्रिएको युवा पुस्ताले नेपाली फुटबलमा प्राण भर्‍यो।

त्यसको एक महिना पनि बित्न नपाउँदै नेपालले भारतमा आयोजित दक्षिण एसियाली खेलकुदमा फुटबलतर्फ स्वर्ण हात पार्‍यो। नेपालले दक्षिण एसियाली खेलकुदको फुटबलमा पनि २३ वर्षपछि उपाधि जितेको थियो। नेपालको उपाधि यात्रा त्यतिमै रोकिएन। यसपछि सहभागी भएको अर्को प्रतियोगिता सोलिडारिटी कप पनि जितेर नेपाली फुटबलले उल्लेखनीय इतिहास रच्यो।

यसरी बंगलादेशलाई हराएर नेपाली फुटबलले सुरु गरेको अन्तर्राष्ट्रिय उपाधिको यात्रा बीचमा लामो समय रोकिएपनि पुन बंगलादेशबाटै सुरु भएको छ।

मंगलबारदेखि बंगलादेशमा साफ च्याम्पियनसिप सुरु हुन लागेकाले यतिबेला नेपाली फुटबलको नजर बंगलादेशको भूमिमा सोझिएको छ। हालसम्म साफ च्याम्पियनसिप जित्न नसकेको नेपाली टोली यो प्रतियोगितामा फाइनलसम्म पनि पुग्न असफल छ।

बंगलादेश यतिबेला नेपाली टोलीका प्रशिक्षक र खेलाडीका लागि मिठो संयोग पनि बनेको छ। मुख्य प्रशिक्षक बालगोपाल महर्जनले खेलाडीका रुपमा बंगलादेशमै साफ गेम्समा स्वर्ण जितेका थिए। नेपालले गत बंगबन्धु गोल्डकप जित्दा नेपाली टोलीका प्रशिक्षक पनि बालगोपाल नै थिए।

बालगोपालले आफ्नो खेलाडी जिवनको केही समय बंगलादेशकै क्लबमा पनि बिताएका थिए। यता केही अनुभवी खेलाडीको साथमा रहेको नेपाली टोलीका अधिकांश सदस्यका लागि बंगलादेश नेपाली फुटबललाई उपाधि खडेरी टार्ने ‘खेल मैदान’ बनेको थियो।

उल्लेखनीय के छ भने बंगलादेशमा पहिलोपटक साफ च्याम्पियनसिप आयोजना हुन लागेको हैन। बंगलादेशमा यसअघि दुईपटक साफ च्याम्पियनसिप आयोजना भएकामा घरेलु टोली एकपटक विजेता र एकपटक सेमिफाइनलसम्म पुगेको थियो। साफ च्याम्पियनसिपको इतिहासमा पाँचपटक घरेलु टोलीले उपाधि जितेका छन्।

हालसम्म भारत सात पटक तथा ब‌ंगलादेश, माल्दिभ्स, श्रीलंका र अफगानिस्तान एकएक पटक विजेता बनेका छन्। अफगानिस्तान यसपटकदेखि साफ च्याम्पियनसिपमा हुने छैन। नेपालले यसपटक समूह चरणमा पाकिस्तान, भुटान र बंगलादेशसँग खेल्दैछ। पहिलो खेलमा मंगलबार पाकिस्तानसँग खेल्दै यात्रा थाल्ने छ। नेपाल गत साफ च्याम्पियनसिपमा समूहका दुवै खेलमा पराजित हुँदै पहिलो चरणबाट बाहिरिएको थियो।

समूह चरणमा नेपालको सर्वोत्कृष्ट इतिहाँस सन् २०१३ को संस्करणमा थियो। नेपालमै आयोजित त्यस संस्करणमा नेपालले पहिलो चरणमा बंगलादेशलाई २-०, भारतलाई २-१ गोलले हराएको थियो भने पाकिस्तानसँग १-१ गोलको बराबरी खेलेको थियो।  प्रतियोगिताको इतिहाँसमा नेपाल समूह विजेता बनेको यो नै पहिलोपटक थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?