
पोखरा- अन्तरजातीय प्रेम सम्बन्धमा रहेका एक जोडीको शब पोखराको लभ्ली डाँडास्थित रुखको एउटै हाँगामा झुण्डिएको अवस्थामा भेटिएको छ।
११ गतेदेखि परिवारको सम्पर्कबाट टाढा रहेका उनीहरुको शब सोमवार लभ्ली डाँडाको रुखमा झुण्डिएको अबस्थामा भेटिएको कास्की प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त जोडी पोखरा बाँझापाटनकी शशी नेपाली र स्याङजा पुतलीबजार–९ का मनबहादुर भण्डारीको हो। शशी १५ वर्षकी र भण्डारी २२ वर्षका थिए। मनबहादुर पहिले नै विवाहित थिए। उनले १५ वर्षकी शशी नेपालीलाई लिएर हिँडेपछि शशिका आफन्तले कास्की प्रहरीमा निवेदन दिएका थिए।
पछिल्लो समय परिवारसँग सम्पर्क हुँदा ‘हामीलाई एक अर्कासँग सँगै बाँच्न दिने र नछुटाउने भए आउँछौ नत्र आउँदैनौ’ भनेर आफन्तलाई भनेका थिए। तर घरमा पहिले नै श्रीमती भएको र युवतीको उमेर १५ वर्ष मात्रै भएकाले परिवारले उनीहरुको सम्बन्धलाई स्वीकार्ने अवस्था नदेखिएकाले उनीहरुले आत्महत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी रविन्द्र गुरुङले बताए।
लभ्ली डाँडाको रुखमा झुण्डिएको जोडी शव सडेको अबस्थामा भेटिएकाले साताअघि नै उनीहरुको मृत्यु भएको हुनसक्ने गुरुङले बताए। भण्डारीको शवसँगै भेटिएको नागरिकताका आधारमा उनीहरुको पहिचान खुलेको हो। दुवै शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ। थप अनुसन्धानपछि घटनाको रहस्य खुल्ने प्रवक्ता गुरुङले बताए।