
काँकरभिट्टा – नेपाल भारत सीमामा पर्ने पूर्वी नेपालको मेची नदीमा नयाँ पुल भारतले बनाइदिन सुरु गरिसक्दा पनि नेपालले नेपालपट्टि उक्त नयाँ पुल र सडकको जग्गामा बसोबास रहेको मानव बस्ती नै खाली गराउन सकेको छैन।
भारतले भने उसको भूमिबाट मानव बस्ती हटाएर पुल बनाउन थालिसकेको छ। नेपालका अधिकारीहरुका अनुसार बस्ती स्थानान्तरण र मुआब्जा वितरणको काम प्रक्रियामा रहेको बताएका छन्। उचित मुआब्जा पाए बस्ती खाली गर्न तयार रहेको उक्त मानव बस्तीका बासिन्दा बताउँछन्।
एसियाली राजमार्ग अन्तर्गत नेपाल भारतविचको सीमामा पर्ने मेची नदीमा भारतले उसको भूमिबाट पुल बनाउन सुरु गरिसकेको छ। तर नेपालपट्टि भने अझै पनि मानव बस्ती नै छ। नयाँ पुलबाट आउने बाटोमा पर्ने काँकरभिट्टास्थित मेची डाँडा बस्तीका बासिन्दा भन्छन् उचित मुआब्जा नपाई कतै सर्नसक्ने अवस्था छैन।

मेची पुल हुँदै बाटो आउने स्थानमा रहेको बस्ती । तस्बिर : उमाकान्त खनाल /देश सञ्चार ।
स्थानीयबासी कुमारी राईले भनिन्, ‘के व्यवस्था गरेर उठाउनुहुन्छ, कसरी गर्नुहुन्छ, हामीलाई केही थाहा छैन। हाम्रो जग्गा जति भेट्छ त्यस्को पैसा त हामीलाई दिनुपर्छ।’
आफ्नो लगानी दिए आफूहरु उक्त जग्गा छोड्न राजी भएको अर्की स्थानीयबासी उमा भट्टराईको भनाइ छ। उनले भनिन्, ‘हामी यहाँ जसरी बसेका छौँ त्यसरी हामीलाई बसाइयोस्। हाम्रो लगानी उपलब्ध गराइयोस्।’
मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यका अनुसार उक्त बस्तीमा २६ घर परिवार रहेकाले कसरी उनीहरुलाई स्थानान्तरण गर्ने र मुआब्जा वितरण गर्ने भन्ने कुरा प्रक्रियामा रहेको छ।
आचार्यले भने, ‘२६ घरको मुआब्जाका लागि शहरी विकास मन्त्रालयबाट प्रक्रिया अगाडि बढेको छ। धनीपूर्जा भएका ६ वटा घरका लागि भौतिक पूर्वाधार मन्त्रालयबाट प्रक्रिया अगाडि बढेको छ। २० घरका लागि भौतिक मन्त्रालयले सडक विभागलाई लेखेर पठाएको छ।’
दुई लेनको पुल निर्माणका लागि भारतले पुल र सडकमा पर्ने मानव बस्ती हटाएर काम नै थालिसकेको अवस्थामा निर्माणको काम नेपालपट्टि पुग्दा मानव बस्ती नहटे समस्या हुने पुल निर्माणका इन्जिनियर लुब्धक दासले बताए।
दासले भने, ‘काम यहाँबाट भइरहेको छ। जब हामी नेपालपट्टि पुग्छौँ त्यो बेला जग्गा खाली भएन भने समस्या हुन्छ। यो त सरकारको दायित्वमा पर्छ।’
पुल निर्माणको कामलाई गति दिनका लागि नेपालपट्टि जग्गा खाली गर्न भारतीय अधिकारीहरुले पटक पटक नेपाली अधिकारीलाई आग्रह गरेको नेपाली अधिकारीहरुले नै बताउने गरेका छन्।